कोमल गज़ल:-

इनेप्लिज २०७५ फागुन ३० गते ११:१५ मा प्रकाशित

स्वाभिमानी नेपाली म झुक्न जानिन
इमान्दारी बिकाएर चुक्न जानिन

मायाँ गर्छु ठूलासाना भेद नराखी
निमुखालाई दपेटेर भुक्न जानिन

चाकरी र चाप्लुसीको भएँ विरोधी
सामन्तीको आँगनीमा ढुक्न जानिन

प्रवासका कथाव्यथा लेख्छु जानेको
भएँ सधैँ पारदर्शी लुक्न जानिन

श्रम बेची बाँचेको छु दूर देशमा
जिन्दगानी घिच्चिँदैछ सुक्न जानिन

मिल्यो कति जालसाजी कति ताडना
बसेँ बरु पिल्सिएर फुक्न जानिन

शिरमाथि राखेको छु मातृभूमिलाई
जहाँ खाएँ त्यहीं मैले थुक्न जानिन

(विश्राम ८ अक्षरमा)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया