एक्काइस वर्ष पुरानो दमकलको भरमा महानगर

इनेप्लिज २०७५ फागुन २७ गते १२:०१ मा प्रकाशित

भरतपुर, २७ फागुन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् ।

महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ ।

एक्काइस वर्ष पुरानो चार हजार लिटर क्षमताको दमकलको भरमा आगलागी नियन्त्रण गर्न दौडाउनुपर्छ । तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको दमकल मात्र काम लाग्ने अवस्थाको छ । विसं २०६९ मा उपहारस्वरुप पाएको जर्मनी कम्पनीको पाँच हजार लिटर क्षमताको दमकल प्रयोगविहीन अवस्थामा छ ।

रोटरी क्लब अफ ललितपुर मिड टाउनले पुरानो दमकल तत्कालीन भरतपुर नगरपालिकालाई उपहार दिएको थियो । यो पनि पुरानो भइसकेपछि मात्र उपहारस्वरुप प्राप्त भएको हो ।

“जर्मनी मोडेलका दमकलको पानी फ्याँक्ने फ्यान बिग्रिएको छ, बारुण यन्त्र शाखाका इञ्चार्ज देवेन्द्रराज रेग्मीले भन्नुभयो, “महिनौं भयो, पार्टपूर्जा नपाएर मर्मत हुनै सकेको छैन, एउटा दमकलको भरमा छौँ ।” जर्मनी दमकल चले पनि पानी फाल्न सक्दैन । पुरानो मोडेलको रहेछ, पार्टपूर्जा पनि पाइँदैन”, उहाँले भन्नुभयो, “आगलागी भएको खबर पाएपछि माडीबाहेकका क्षेत्रमा एउटै दमकल दौडाउनुपर्छ, जसले क्षति रोक्न मुस्किल पर्छ ।” आगो नियन्त्रण गर्न गएको दमकल कतिपटक बाटोमा बिग्रिएर बसेको रेग्मीले बताउनुभयो । प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा दमकलको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाको २८ नं वडासम्म पुगेर एउटा दमकलले आगो नियन्त्रण गर्न गाह्रो हुने भएकाले पश्चिम चितवनमा छुट्टै दमकल राख्नुपर्ने रेग्मीले बताउनुभयो । कहिलेकाहीँ दुई/तीन ठाउँबाट एकैपटक दमकल बोलाउने गर्छ, त्यो वेला ठूलो समस्या हुने गरेको उहाँले बताउनुभयो । चालू अवस्थाको दमकल पनि बेलाबखत बिग्रने गर्छ ।

चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरबाहेक माडी नगरपालिकामा पनि एउटा दमकल छ । भरतपुर महानगरपालिकाको बारुणयन्त्र शाखामा १२ जना कर्मचारी कार्यरत छन् । आठ जना फायर मेन, तीन जना चालक र एक जना इञ्चार्ज । शाखाले चितवनको माडी नगरपालिकाबाहेक सबै क्षेत्र र नवलपुरसम्म सेवा दिनुपर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६० हजार जनसङ्ख्या बराबर एक बारुणयन्त्र हुनुपर्छ । तर यहाँ सात लाख बढी जनसङ्ख्या भएको क्षेत्र एउटै दमकलको भरमा छ । शाखाको तथ्याङ्कअनुसार महानगरपालिकाको बारुणयन्त्रले एक वर्षको अवधिमा ६० देखि ७० वटा आगलागी नियन्त्रण गरेको छ ।

जिल्लामा प्रत्येक वर्ष सानाठूला गरी करीब १०० आगलागीका घटना हुने गरेका छन् । महानगरमा २४सै घण्टा तम्तयारी हालतमा दमकल राख्नुपर्छ तर दमकलको अभावमा अत्यावश्यक समयमा सेवा दिनसमेत समस्यापर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुेवदीले एक साताभित्र नयाँ दमकल आउने बताउनुभयो । “पुरानो दमकलका कारण बेलाबेलामा समस्या सिर्जना हुने गरेको छ”, उहाँले भन्नुभयो, “नयाँ एउटा थप्दा पनि पर्याप्त हुँदैन ।” उहाँले पश्चिम चितवनमा पनि एउटा दमकल राख्ने योजना महानगरपालिकाले बनाएको जानकारी दिनुभयो ।

भारतीय दूतावासले सहयोग दिने प्रतिबद्धता जनाएको दमकल आउन ढिला हुने भएकाले आफँै दमकल किनेको उहाँले बताउनुभयो । आगलागीका घटनामा तत्कालै दमकल पुग्न नसक्दा ठूलो क्षति हुने गरेकाले दमकलको सङ्ख्या बढाउन लागिएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया