कोमल गज़ल :

इनेप्लिज २०७५ फागुन २४ गते १:५९ मा प्रकाशित
छोटो छ जिन्दगानी,हाँसेर बाँच्नु होला
आत्मीयता सबैमा,राखेर बाँच्नु होला  ll
 
भेटिन्छ रोज भोका,नाङ्गा र बेसहारा
माया दया सकेको बाँडेर बाँच्नु होला ll
 
निल्नेछ लालसाले सम्पूर्ण देह हाम्रो
स्वार्थी विचारधारा त्यागेर बाँच्नु होला ll
 
सद्प्रेम,भाइचारा नासिन्छ वैरताले
पौधा सुभावनाका रोपेर बाँच्नु होला ll
 
सद्धर्म बिर्सनेको मेटिन्छ नाम चाँडै
साँचो र स्वच्छ बाटो रोजेर बाँच्नु होला ll
 
छैनन् यहाँ धरामा आफन्त वा पराई
सम्पूर्ण प्राण एकै ठानेर बाँच्नु होला ll
 
सङ्कीर्णता बढाए चर्का लुछाचुँडीले
सद्भावको दियालो बालेर बाँच्नु होला ll
 
सत्कर्मले तुरुन्तै मिल्नेछ कीर्ति ठूलो 
दुष्कर्म चित्तबाटै फ्याँकेर बाँच्नु होला ll
 
प्रारब्धमा छ जे जे पाइन्छ त्यत्ति मात्रै
फेरिन्न भाग्य रेखा,सम्झेर बाँच्नु होला ll
 
नाङ्गो भएर आयौँ,जान्छौँ नितान्त नाङ्गै
जाँदैन साथ केही,सोचेर बाँच्नु होला  ll
 
विश्राम:- ७ अक्षर
(बहरे मुजारे मुसम्मन अखरब)
   छन्द-दिक्पाल
© [email protected]
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया