लघु कथा:अलि पुगेन

सुशील नेपाल २०७५ फागुन २१ गते २२:५१ मा प्रकाशित

राधाको विहा सानै उमेरमा भयो र एउटा छोरी पनि जन्मी। लोग्ने गाउँको मान्छे एकदम सोझो थियो,यो संसारमा धेरै सोझो हुने नै दुख पाई राखेको हुन्छ, घर काठमाण्डू वाहिर नजिकैको गाउँमा थियो ।

एकदिन अचानक छोरी विरामी परी,गाउँको अ.हे.ब लाई देखाएको ज्वरो कमै भएन । लोग्नेले लाचार भएर आफ्नो आर्थिक असर्मथता यसै कुम उचाले झैँ गऱ्यो । तर राधा त आमा थिई । वच्चा थलीन थाले पछि वल्लो घर पल्लो घर सर सापट गरेर वच्चा वोकेर काठमाण्डू तिर लागी।

काठमाण्डूको नयां सडकको गुंदपाक पसल माथि एकजना नामचलेकी महिला डाक्टरको क्लिनिक थियो । कसै गरि सोध्दै खोज्दै राधा त्यो क्लिनिकमा पुगी, त्यहां वाहिर तमाम कुर्सि भरि सम्भ्रान्त आईमाईहरू आ-आफ्नो वच्चा लिएर पालो पर्खेर बसेका थिए । त्यहां त नाम लेखाऊदै २५०/- रूपैया बुझाएर आफ्नो पालो पर्खेर वस्नु पर्ने रै छ।

डेढ दुई घन्टा कुरे पछि उस्को पालो त आयो, तर पैसा ऊसंग १५०/- मात्र रैछ। नाम लेखाउनेले नामै लेख्न मानेन । यता छोरीको निधार छामेको त निस्लोट ज्वरोले हल नचल भएकी थिई,राधाको आंखावाट एकतमासले आँशु झर्न थाले।

केही सिप नलागे पछि ऊ त्यहां पालो पर्खेका आईमाईहरूसंग हारगुहार गर्दै भक्कानो छाडेर रून थाली ।सवै मुखामुख त गरे, तर कसैले एक पैसा उसको पोल्टामा हाली दिएन। ऊ रूदै कराऊंदै सिंडीवाट तल वर्लि, त्यहां मानवताको घोर अपमान भई रहेको थियो। सिंडींबाट तल ओर्लेर नयां सडकको वाटोमा उ रूंदै र करांऊदै पोल्टा थापेर पैसा माग्न थाली, कसो कसो अलिकति पैसा जम्मा भएछ ।

गाउँवाट राधाको लोग्ने कसै गरि उसलाई खोज्दै आई पुग्यो वाटोमा रूदै कराऊदै स्वास्नीले पैसा मागेको देखेर लोग्ने पनि रोयो । यसो गर्दा गर्दै एक डेढ घन्टा वित्यो । राधाले छोरी पट्टी हेरी, ऊ ईन्तु न चिन्तु भएकी थिई।

राधा पोल्टामा जम्मा भएको पैसा लिएर त्यो नाम लेख्नेको टेवुलमा पोल्टा रित्याएर पैसा गन्न थाली। जम्मा दुई सय भएछ, त्यो नामलेख्ने पनि लाचार थियो, उस्ले पनि लाएको अऱ्याएको त गर्ने हो नि।

मलिलो अनुहार लिएर ऊ भित्र लेडी डाक्टरलाई केही सोध्न गयो र एक्कै छिनमा फर्क्यो,र लाचार अनुहार लिएर भन्यो पैसा अलि पुगेन,राधाले यसो छोरी तिर हेरी । छोरी जीवनको युद्ध हारी सकेकी थिई । छोरी उसको आफ्नै काखमा मरी, यसपाली उ रोईन । उस्को मुखवाट एक शब्द निस्केन, लोग्ने साथै थियो।

मरेकी छोरीलाई वोकेर त्यो दम्पती तल ओर्लियो । नयां सडकको मानव समुद्रमा कता हरायो कता ।

३/७/१८
माल्डेन,वोस्टन अमेरीका
निज निवास

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया