दुई विधेयक विधायन समितिमा पठाइने

इनेप्लिज २०७५ फागुन २१ गते ११:३६ मा प्रकाशित

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र ‘लेखापरीक्षण विधेयक, २०७५’ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले दुवै विधेयक सभामा प्रस्ताव गर्नुभएको थियो ।

यसैबीच बैठकले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।

पूर्वउपप्रधानमन्त्री अधिकारी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो । अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया