कोमल गज़ल:-
इनेप्लिज
२०७५ फागुन २१ गते ४:२३ मा प्रकाशित
रहेछ कष्ट जिन्दगी,बन्यो कठैबरी सरी
अनन्त भेल आँसुको,बह्यो सधैँ नदी सरी ll
प्रवासले लुट्यो खुसी,लुट्यो निमग्नका क्षण
कसो गरी रमाउने बनेर बन्धकी सरी ll
अकारणै धकेलिएँ,विपत्तिको समुन्द्रमा
सके म पार लाग्दथेँ,उडेर गौँथली सरी ll
अतालिएँ वियोगले,विषादले र त्रासले
मिलेन शान्त्वना कतै,अचूक औषधी सरी ll
खुलेन मार्ग सुक्खको,भए विनाश कामना
बस्यो अशान्ति पासमा,अभिन्न प्रेयसी सरी ll
सुलुक्क निल्छु झैँ गरी मडारिँदै छ वेदना
पलापला विरक्तिले लखेट्छ दुश्मनी सरी ll
मरे समस्त चाहना,उमङ्ग,जोसजाँगर
भएन जिन्दगी यहाँ,सजीव जिन्दगी सरी ll
छियाछिया छ देह यो खपीखपी प्रताडना
निचोर्छ क्रूर भाग्यले सदैव कागती सरी ll
(पन्चचमार छन्द )
(विश्राम:-८ अक्षर)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रतिक्रिया