खुट्टा गुमेर के भयो? आत्मबल गुमेको छैन, एउटा खुट्टाले साईकल चलाएर विश्व घुम्ने चाहना [भिडियोसहित]

इनेप्लिज २०७५ फागुन १८ गते १२:२३ मा प्रकाशित

पिएनपीखबर, भक्तपुर। धादिङ, बैरेनीमा जन्मेका युवक लामा सामान्य परिवारमा जन्मे, हुर्केका हुन्। अरू बच्चा जस्तै उनको जीवन पनि सामान्य थियो, रमाइलै थियो। तर, एउटा घटनाले उनको जीवन नै बदलिदियो। छ वर्षअघि दिदीकोमा घुम्न काठमाडौँ आएको थिए उनी। दशैँको माहोल थियो। घर फर्कदै गर्दा गाउँको उकालो बाटोमा ओभर लोडका कारण गाडीको ब्रेक फेल भएछ। उनले ज्यान जोगाउन आत्तिएर बसको छतबाट हाम्फाले।

गाडी उल्टै उनी भएतिर पल्टियो। गाडीले उनको देव्रे खुट्टा किचिदियो। उनलाई काठमाडौँ, महाराजगञ्जको टिचिङ अस्पतालमा ल्याइयो। उनको देव्रे खुट्टा काट्नु पर्ने स्थिति आयो। होशमा आएपछि बेडमा खुट्टा छाम्दा उनले आफ्नो देव्रे खुट्टा महसुस गर्न पाएनन्। उनी धेरै रोए, कराए। उनको सामान्य जीवन क्षणभरमै असामान्य भयो।

उनले गाउँमा श्री अमन्दा देवी माविमा कक्षा छ सम्म पढेका थिए। दुर्घटनापछि छ कक्षा दोहोर्‍याएर पढ्नुपर्‍यो। पछि दिदीले उनलाई काठमाडौँमै ल्याउनुभयो। त्यसपछि उनले काठमाडौँ, नारायणटारस्थित खगेन्द्र नवजीवन केन्द्रमा सात कक्षाबाट पढे। त्यहीँबाट उनले एसईई दिए। उनी अहिले १७ वर्षको भए। उनी ललितपुर, सानेपामा बस्छन्।

दुई खुट्टा हुँदादेखि नै उनी साइकलप्रेमी थिए। मोबाइलसँग साटेर साइकल लिन्थे रे उनले। उनलाई एक खुट्टा भएपछि पनि साइकल चलाउन सकसक लाग्थ्यो। तर, चलाउन पाउदैनथे।उनी दिदीकोमा बस्दा भान्जाहरूको साइकल थियो। उनले चलाउन खोज्दा ‘भएको एउटा खुट्टा पनि भाँचिएला !’ भनेर गाली खान्थे। उनी भने लुकी–लुकी आफ्नो रहर पूरा गर्थे। साइकलमा बसेर एउटा खुट्टाले साइकल बिस्तारै ठेल्दै, घिसार्दै अरूलाई धकेल्न लगाउँथे र चलाउन कोसिस गर्थे।

खगेन्द्र नवजीवनमा पढ्दा त्यहाँ उनीसँग उनी जस्तै अरु थुप्रै अपांग साथी थिए। त्यहाँ उनको एउटा दाहिने खुट्टा नभएको साथी थियो। उनले पनि साइकल चलाउने कोसिस गर्थे। उनले त्यहाँ उनी जस्तै एउटा खुट्टा नभएको यमलाल दाइसँग भेटे। उनले मजाले एउटा खुट्टाले साइकल चलाउथे। उनलाई देखेर युवकलाई पनि साइकल चलाउने आँट आयो। खुट्टा नभएको प्याडलतिर ढुंगा च्यापेर राख्ने उपाय उनले यमलाल दाईबाट नै सिके।

एउटा खुट्टाले साइकल चलाउँदा धेरै पटक लडे पनि। खुट्टा नहुनेपट्टि बढी ढल्किन्थ्यो। तर उनले हिम्मत हारेनन्, दिनदिनै कोसिस गरिरहे। पाँच/छ महिनामा लडी–लडी भए पनि उनले एउटा खुट्टाले साइकलको प्याडल घुमाउन सिके। सुरु–सुरुमा उनलाई एकछिन साइकल चलाउन पनि निकै मुस्किल हुन्थ्यो। अहिले बिहानदेखि बेलुकीसम्म एउटा खुुट्टाले मजाले साइकल चलाउन सक्छन् उनी। अरूले हेर्दा लड्छ कि भन्ने लाग्छ। तर, उनी आत्मविश्वासका साथ नलड्ने गरी साइकल चलाउँछन्।

बैसाखी टेकेर हिँड्दाको दिन सम्झिँदा उनलाई धेरै दुःख लाग्छ। कति मान्छेले हेयको दृष्टिले हेर्थे। सहानुभूति देखाउँथे। यताउति जाँदा वा स्कुल जाँदा पनि गाडीले रोक्दैनथ्यो। त्यसैले पनि साइकल उनको जीवनको रंगिन पक्ष हो। साइकल भएदेखि उनलाई अरूको भरोसामा बस्नुपरेको छैन। कक्षा आठमा पुगेपछि उनी बिस्तारै साइकलमै स्कुल जाने, आउने गर्न थाले। सुरु–सुरुमा साइकल चलाउँदा काठमाडौँको भीडभाडमा निकै डर लाग्थ्यो उनलाई। चारैतिरबाट गाडीको चाप देख्दा हान्देला भन्ने डर लाग्थ्यो। अहिले त उनलाई बानी परिसक्यो।

अहिले उनलाई साइकल चलाउन थालेपछि सबै कुरा पाए जस्तै महसुस भएको छ । उनी भन्छन् ,’बैसाखीको भरमा मात्र बाँचेको भए एउटा कोठामा थन्केर बस्थे होला जस्तो लाग्छ।’ अहिले त उनी साइकल लिएर गोदावरी, वज्रबाराही, नगरकोटसम्म पुग्छन्। उकालो–ओरालो, कच्ची जस्तो बाटोमा पनि चलाउनसक्छन्। साथी जस्तै लाग्छ उनलाई साइकल।

पहिला उनलेले सानो खाले साइकल चलाउँथे। साइकल र्‍यालीमा जाँदा उनलाई एक जना दाइले ‘मोटाची’को साइकल दिए। अहिले उनी त्यही साइकल चलाउँन्। अब हुने ‘पारा ओलम्पिक’का लागि उनी तयारी गर्दैछन्।

उनी भन्छन् ,’साइकल नहुँदा धेरै गाह्रो लाग्छ। कतै जान खुट्टा नै सर्दैन। जहाँ जाँदा पनि साइकलमै जाने गर्छु। जबदेखि एक खुट्टाले साइकल चलाउन सिकेँ, मेरो जीवनमा धेरै परिवर्तन आएको छ। साइकलबाट धेरै कुरा सिक्ने, जान्ने मौका पाएको छु। बैसाखीको सहारामा हुँदा मेरो दैनिकी अप्ठ्यारो थियो। त्यतिबेला ‘मेरो एउटा खुट्टा छैन’ भन्ने कुराले निकै सताउँथ्यो। तर, साइकल चलाउन थालेदेखि आफ्नो एउटा खुट्टा छैन भन्ने यादै हुँदैन। साइकल मेरा लागि देब्रे खुट्टासरह भएको छ। साइकलकै कारण जीवनमा केही गर्ने हौसला मिलेको छ।’

बाँकि हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया