भिसा

–अर्जुन थापा २०७५ फागुन १३ गते १२:४० मा प्रकाशित

पानी परेको र चट्याङको आवाजले विशाल सुत्न नै सकिराखेको हुँदैन । घडी हेर्छ भर्खर रातको साँढे बाह्र बजेको छ । ऊ फेरि कल्पना गर्न थाल्छ एउटा सुन्दर भविष्यको । जसमा एउटा सुन्दर सानो परिवार । सबै हाँसीखुसी भएर मिलेर बसेको । हुन त यस्तो सपना उसले आफू बुझ्ने भएदेखि नै देख्दै र आफ्नै आँखा अगाडि भत्किँदै गरेको धेरै पटक देखेको छ । तर यस पटक ऊ आशावादी भएको छ कि उसको सपना साकार हुन्छ हुन्छ भन्नेमा । किनकि भोलि अमेरिकाको भिसा लिनको लागि अमेरिकन एम्बेसी जाँदै छ । उसको सपनाको देश अमेरिका । यदि भिसा भएमा उसका सबै दुःखहरू एकएक गरेर हट्ने छन् भन्नेमा विश्वस्त छ । विगत तीनचार वर्षमा धेरै देशमा जाने कोसिस ग¥यो तर कहीँ कतैबाट सफल हुन सकेन र यही विदेश जाने चक्करमा भएका सबै पैसाले अरू दलालले नै मोज गरे ।

विभिन्न मठमन्दिर धाएर, विभिन्न भगवान्लाई भिसा लागेमा यो गर्छु, त्यो गर्छु भनेर भाकल गरेको छ । अझ ज्योतिषले उसको चिना हेरेर अवश्य भिसा लाग्छ पनि भनेको छ । जस अनुरूप भिसाको फाराम गर्ने दिन समेत ज्योतिषले भने अनुरूप छानेको थियो ।

अर्को, अचम्म त के भएको थियो भने जुन दिन ऊ अमेरिकाको भिसाको अनलाइन फाराम भर्न गएको थियो त्यस दिन एउटी केटीसँग भेट भएको थियो । उनी पनि अमेरिकाको भिसाकै लागि अनलाई फाराम भर्न आएकी थिइन् । त्यस्तै एक दुई घन्टा फर्म भर्ने बेलासम्ममा उनीहरू एकअर्काको फेसबुक आइडी र फोन नं. साटासाट गर्न सफल भइसकेका थिए । फर्म भर्नलाई चाहिने फोटो खिच्नदेखि बैँकमा गएर भिसा फिको लागि पैसा तिर्न समेत सँगै गएका थिए । अब ठिक अठार दिनपछि दुवैको भिसाको लागि इन्टरभ्यू डेट फिक्स भएको थियो बिहानको दश बजेर चालिस मिनेटमा । फाराम भरी सकेर बाहिर निस्केर सँगैको पसलमा बसेर कफी खाँदै एकअर्काको बारेमा सर्सर्ती बुझेका थिए ।

फाराम भर्ने ठाउँ र पसल हुँदै अब उनीहरू खाली समय पाइने बित्तिकै फेसबुक र फोनमा नै व्यस्त हुन्थे ।
‘विशाल के लाग्छ तिमीलाई हाम्रो भिसा हुन्छ कि हुँदैन ?’ मेसेन्जरमा अञ्जुको मेसेज देखा पर्छ ।

‘ह्वाइ नट ? भिसा नलाग्नुको केही कारण नै मैले देखेको छैन । जसरी भगवान्ले हामीलाई भेट गराइदिए । त्यसरी नै भिसा पनि उनै भगवान्ले लगाइदिने छन् । यु डु नट निड टु वरी डियर ।’ रिप्लाई गर्छ विशाल ।

‘अचम्म लाग्छ मलाई कि हाम्रो कस्तो सिचुयसनमा भेट भयो भनेर । त्यस दिन अगाडिसम्म हाम्रो कहीँ कतै चिनजान थिएन । हाम्रो भेट त्यसै दिन हुनु रहेछ विशाल । यही अमेरिकाको कारण हाम्रो भेट भयो । हाम्रो बानी व्यवहार पनि मिल्छ । कस्तो अचम्म लागिराखेको छ ।  … ।’ अञ्जुले फेरि मेसेज गर्छे ।
‘त्यही त भनेको अञ्जु । यस्तो लाग्छ हामी धेरै वर्षदेखि नजिक छौ । अब त हाम्रो भिसा लाग्यो भने पनि यसरी नै किप इन टचमा बस्नुपर्छ है ?  …’ रिप्लाई गर्छ विशाल ।

‘तिमी मात्र किप इन टच कुरा गर्छौ । तर म त्योभन्दा पनि माथिको कुरा सोचिराखेको छु । मात्र तिमीलाई भन्न अप्ठ्यारो लागेर मात्र हो ।  …’ अञ्जु हतार हतार मेसेज गर्छे ।

‘प्लिज, टेल मि । अब पनि केको अप्ठ्यारो नि ।’

‘तिमीले मलाई के सोच्छौ यो मेसेज पढेपछि तर हाम्रो जसको भिसा लागे पनि हामी सधैँको लागि एक हौँ । जो पहिला अमेरिका गए पनि त्यसको डिपेन्डेन्टमा अमेरिका जाने । हाम्रो हरेक कुरा मिल्छ भने किन अब हाम्रो दुई मुटुलाई एक नबनाउने त । मेसेज आउँछ अञ्जुको ।

‘मेरो भिसा लागेर अमेरिका गएपछि तिमीलाई बिर्सें भने के गछ्र्यौ नि ?’
‘नो विशाल, अब मलाई आफूभन्दा तिम्रो बढी विश्वास लाग्छ ।’
‘यति चाँडो कसैलाई पनि ट्रस्ट गर्नु हुँदैन अञ्जु ।’
‘म गर्छु गर्छु गर्छु । यु आर माई एभ्रिथिङ विशाल ।’

नभन्दै इन्टरभ्यूको दिन पनि आइपुग्यो । दुवै जना ठिक समयमा पुग्छन् एम्बेसी अगाडि । आज विशालको सपना पूरा हुने दिन । अञ्जुको दुवै एक भएर जीवनभर सँगै भएर बाँच्ने सपना पुरा हुने दिन । दुवै जना सँगै गेटभित्र पस्छन् । आफूले सँगै लगेको सामान चेकजाँच पछि डकुमेन्ट मात्र सँगै बोकेर अर्को गेटबाट भित्र पस्छन् । लामालामा मेचमा उनीहरू जस्ता थुप्रै बसिराखेका थिए इन्टरभ्यू दिनलाई । सबैको अनुहारमा एउटै कौतूहलता थियो कि भिसा पाउने हो कि होइन भन्ने । दुई जना त्यही मेचमा गएर बस्छन् ।

दुई जना गार्डले लाइन मिलाइराखेका थिए । हाम्रो सरकारी अफिसहरूमा जस्तो अव्यवस्थित भन्ने केही थिएन । शान्त वातावरण, ठुलो गार्डेन जसमा विभिन्नथरिका फूलहरू फुलिराखेका थिए । गार्डेनलाई स्याहार गर्ने चारपाँच जना आआफ्नै तालमा बोटबिरुवालाई स्याहार गर्दै थिए । विशाललाई यही लागिराखेको थियो कि ऊ एम्बेसीमा नभएर अमेरिकामा नै बसिराखेको छ अञ्जुसँग ।

त्यत्तिकैमा अञ्जुले विशालको हातमा हात राखेपछि मात्र ऊ यथार्थतामा फर्किन्छ । गार्डले भित्र जानलाई इसारा गर्छ । उनीहरू दुई जनासँगै अरू आठ जना जति मेन बिल्डिङभित्र प्रवेश गर्छन् । विशाल एक पटक चारैतिर आँखा फिजाउँछ । अगाडि एउटा काउन्टरमा नेपाली कम्प्युटर अगाडि बसेर सबैको पासपोर्ट चेक गर्दै हुन्छ । ऊ र अञ्जु आआफ्नो पासपोर्ट दिएपछि अर्को काउन्टरमा जान्छन् । जहाँ फिङ्गर प्रिन्ट लिइराखेकी हुन्छिन् एउटी अधबैँसे अमेरिकन आइमाई । जसले प्रस्टसँग नेपालीमा नै संवाद गरिराखेकी हुन्छिन् । त्यस हलमा उनीहरू जानु अगाडि नै बीस पच्चीस जना नेपालीहरू आआफ्नो इन्टरभ्यूको पालो कुरी बसिराखेका थिए ।

अञ्जु अझै विशालको हात समाती राखेकी हुन्छे । त्यहाँ रहेकी महिला गार्डले उनीहरूलाई हेर्छे ।

‘तपाईंहरू सँगै हो भिसा दिने ?’ प्रश्न गर्छिन् ।
‘होइन अलग अलग हो ।’ विशाल उत्तर दिन्छ ।

त्यसपछि काउन्टर दशमा विशाल र काउन्टर नौ मा अञ्जुलाई जान आग्रह गर्छिन् महिला गार्डले । उनीहरू भनेबमोजिम आफ्नो ठाउँमा गएर उभिन्छन् । त्यहाँ भिसा पाएकाहरू सगरमाथामा सफल आरोह गरेसरह अनुहारमा चमक ल्याउँदै भिक्टोरीको साइन देखाउँदै बाहिर निक्लेका र नपाएकाहरू अँध्यारा अनुहार लगाएर बाहिर निस्केका विशाल हेरिरहन्छ । त्यत्तिकैमा उसको पालो आउँछ ।

किन अमेरिका जान लाग्नुभएको ? नेपालमा के गर्नुहुन्छ ? कोको छन् ?’ आदि प्रश्नको ओइरो लाग्छ ।

विशाल ती सब प्रश्नहरूका उत्तर दिँदै जान्छ । र, मनमनै यो सोचिराखेको हुन्छ कि सबै उत्तर राम्रै दिएको छु अब मैले भिसा पाउने भए । आज त भगवान् नै दाहिने भएका छन् । बरु अञ्जुको पो के भयो होला । कति एक्साइटेड भएकी थिई । उसले पनि भिसा पाए अब हाम्रो फ्युचर राम्रो हुने थियो । ठिकै छ उसले भिसा नपाए पनि म मेरो डिपेन्डेन्टमा त जसरी पनि लगिहाल्छु नि अमेरिका उनलाई ।

‘सरी, यु आर डिस्क्वालिफाइड टु गेट अ भिसा । सो प्लिज ट्राई अगेन ।’ पासपोर्ट फिर्ता गर्दै इन्टरभ्यू लिने स्टाफले भन्छिन् ।
विशालको दिमागले केही काम गरिराखेको हुँदैन । ऊ सरासर पासपोर्ट बोकेर बाहिर निस्कन्छ । अब ऊ अञ्जुको प्रतीक्षामा हुन्छ ।
‘के भयो तिम्रो विशाल ? मेरो त भिसा भयो । वन विकमा इन्भेस्टमेन्ट बैँकमा लिन जानु भनेको छ ।’ भन्दै अञ्जु विशाललाई हग गर्छे ।
‘मेरो त भएन अञ्जु । तर ठिकै छ नि तिम्रो भयो । त्यो नै हाम्रो लागि ठुलो कुरा हो नि ।’ विशालले अञ्जुको हात समात्दै भन्छ ।
‘आई एम सरी टु हियर, कस्ता बदमास रहेछन् त । सबै स्ट्रङ डकुमेन्ट हुँदाहुँदै पनि तिम्रो ।’

‘त्यही त नि । इट्स ओके मलाई केही छैन । हामी दुईमध्ये एकको हुनु पनि दुवैको भएसरह हो नि ।’
‘एस, हो नि ! ओके विशाल अब म घर जान्छु । सबै कुरिराखेका होलान् । फोनमा कुरा गरौँला । बाई ।’
‘ओके बाई, टेक केयर एन्ड कङ्ग्य्राचुलेसन वन्स अगेन ।’

‘थ्यांक यु, टेक केयर टू विशाल ।’

अञ्जुको कुरा सुनेर ऊ खुसी हुन्छ । बेलुका सदाझँै अञ्जुलाई फोन गर्न खोज्छ तर पूरै बिजी टोन आउँछ । फेरि मेसेन्जर खोल्छ । मेसेन्जरमा ‘यु क्यान्ट रिप्लाई टु दिस कन्भर्सेसन’ भनेर आउँछ । फेसबुक चेक गर्छ ब्लक गरेको देख्छ । हतारहतार फोन ट्राई गर्छ । फोन पनि ब्लक्ड गरिसकेकी हुन्छे ।

प्रतिक्रिया