सामाजिक कार्यमा लाग्नु कसैको लागि शौख हो भने, धेरै सामाजिक कार्यकर्ताको लागि यो दैनिकी भैसकेको छ र त्यसको बारेमा कुरा र काम नगरेको दिनै हुँदैन । त्यसपछि के चाहियो र!! साथिहरुसँग भेटमा, फोनमा र सपनामा पनि त्यही कुरा!! आजभोली त मेसेज, मेसेन्जर सारा सामाजिक सन्जालमा कसैलाई सोध्दै नसोधि नाम थपेर मेसेज पठाउनेहरु पनि जोड्दाखेरि झण्डै सयमा उनान्सय जना खाँटी सामाजिक अभियन्ता जस्ता लाग्छन् ।
आफ्नो अमूल्य समय प्रयोग गरेर, परिवारसंग विताउनु पर्ने समय कतौटी गरेर, दुख जिलो गरि कमाएको खल्तीको पैसा खर्च गरेर, परिवारको गाली खाएर पनि किन मानिसहरु सामाजिक सेवाको नाममा मरिहत्ते गरिरहेका छन् त? अलिक उदेकलाग्दो छैन त? यो कुरालाई थाँति राखेर मूल विषयतिर लागौं । सामाजिक अभियन्ताहरु सामाजिक कार्यमा लाग्दै जाँदा कसरी ताली र गाली खाँदै जेब (खल्ती) खालीको अवस्थामा पुग्छन् त? ताली, गाली र जेब खाली भन्ने थेगो हामी नेपाल जेसीजको अभियानमा लाग्दा प्रयोग गरिएका हुन् र यस ईनेप्लिजका सम्पादक बिजय थापाज्यूसंगको मित्रता पनि यही जेसीज अभियानको चिनो हो ।
ताली
सामाजिक कार्यमा लाग्दाखेरि आत्मसम्मान त बढ्ने भयो नै । शुध्द समाजसेवामा लाग्नेहरुलाई समाजले पनि श्रध्दाको दृष्टिले हेर्ने र सम्मान प्रदान गर्ने भैहाल्यो । त्यही सिलसिलामा कहिले उद्घाटन, कहिले समापन त कहिले स्वागत भाषण, कहिले मन्तव्य व्यक्त गर्ने अवसर त कहिले अन्तरक्रिया कार्यक्रममा निमन्त्रणा । यी सबैमा भाषण, खादा, माला र ताली संगसंगै आउने भयो । भाषण सकिनासाथ गाली गर्ने मान्छेले पनि त्यतिबेला ताली नै बजाउँछन् । बिस़्तारै बिस्तारै जब एकपछि अर्को कार्यक्रममा तालीको गड्गडडाहट्को आवाज बढ्दैजान्छ, सामाजिक कार्यमा लाग्ने नशा चढ्दैजान्छ, परिवार एवम् कामप्रतिको नशा घट्दैजान्छ, तत्पश्चात् सामाजिक कार्य नै मूल पेशा र सामाजिक सँस्था नै मूल घरजस्तो हुँदै गरेको पत्तै पांईंदैन । त्यसपछि परिवारका सदस्यहरुले आवश्यक परेको बेला उसलाई खोज्नुपर्ने हुन्छ भने समाजका सदस्यहरुलाई पनि सामाजिक कार्य उसैको मात्र दायित्व हो उसले कहिंपनि गल्ति गर्न हुँदैन भन्ने भान पर्न थालेको हुन्छ । यसरी गड्गडाहट् ताली खाँदै जाँदा उसको जिम्मेवारी थाहै नपाईकन पनि बढ्दैजान्छ । सामाजिक अभियन्ताकालागि यो “सुविधाजनक अवस्था (Comfortable Phase)” हो ।
गाली
सुविधाजनक अवस्थाबाट ताली खाँदै अघि बढ्दै गर्दा सँस्थाको कार्यक्रमहरु थपिंदै जाने, जिम्मेवीरी क्रमश: बढ्दैजाने, अन्य पदाधिकारीहरुले पदीय दायित्व पूर्णरुपमा निर्वाह नगरिदिंदा आफूमाथि बोझ थपिंदैजाने, काम गर्ने शैली, विचार, तौरतरिका नमिल्दा अन्य पदाधिकारीहरुसंग मनमुटाव हुँदैजाने, यसले गर्दा कार्यसम्पादनको स्तर उतार चढाव हुँदै गर्ने र क्रमश: सहकर्मिहरु एवम् सदस्यहरुबाट पनि आफ्नोबारेमा नकारात्मक सन्देश आउनथाल्छ, त्यसपछि पनि सँस्थाको अवस्था जहाँको त्यहीं रह्यो भने गालीको बर्षा शुरु हुनथाल्छ । काम नगर्ने मान्छेले गल्ती गर्ने कुरै भएन, जसले काम गर्छ उसैले ठीक पनि गर्छ गल्ती पनि गर्छ । बिग्रेको, भत्केको टालटुल र सम्भार गर्न अतिरिक्त समय दिनुपरिहाल्यो ।
त्यसको मतलब परिवार तथा कामबाट टाढा टाढा हुँदै जानु हो । किनभने सामाजिक अभियन्ताले चोर्ने समय भनेको परिवार र कामको समय नै हो । त्यसपछि घरमा खानाको समय तालिका गडबड, घरबाट निस्कने र भित्रिने समयमा उतारचढाव, घरमा गृहमन्त्री खाना पर्खेर बस्ने वा बिसन्चो भएर बस्ने आफूचाहिं मन्चमा भाषण गर्ने क्रममा रहने जस्ता घटनाक्रम दिनानुदिन बढ्दैजान्छन् । त्यसपछि खाना रेफ्रिजरेटरबाट झिकेर तताएर खानुपर्ने अवस्थामा पुगिन्छ । त्यतिबेलासम्म परिवारका सदस्यहरुको अनुहार देख्न मुश्किल मुश्किल भैसकेको हुन्छ । देखेपनि अलि ठुस्स परेको जस्तो, के भो भनेर सोध्न पनि अप्ठ्यारो लाग्ने अवस्था, आफ्नो बोलीको तालसुर मिलेन भने गालीको बौछार हुने डर । परिवारका सदस्यले परिवारलाई समय दिएन, अनुत्पादक कार्यमा लाग्यो, समय बर्वाद गर्यो भनेर दुखेसो, पिडा गालीको माध्यमबाट ब्यक्त गर्ने, सँस्थासंग सम्बन्धितहरुले कार्य सम्पादन मूल्यांकन गर्न थाल्ने र एक एक कार्यको हिसाब किताब राखि सानो ठूलो सबै गल्तीहरुमा वा कार्य सम्पादनमा पूर्णता नआउँदा गाली गर्न शुरु गर्छन् । गालीको वर्षाद् थेग्न नसक्नेहरु पदबाट राजिनामा दिन पुग्छन् । यो समय सामाजिक अभियन्ताहरुको “संघर्षमय अवस्था (Struggling Period) हो ।
जेब (खल्ती) खाली
कुनैपनि पदमा रहनु भनेको “तातो आसन (Hot Seat)”मा बस्नु नै हो र आफ्नो जीवनलाई सार्वजनिक गर्नु हो । कुनै एउटा सँस्थाको पदाधिकारी भएपछि अर्को सँस्थाको कार्यक्रमहरुमा निमन्त्रणा मान्न जानै पर्यो, खाना खानुपर्ने भएपछि शुल्क तिर्नैपर्यो, यस्को लागि चन्दा, उसको लागि सहयोग, त्यसको आजिवन सदस्यता, कहिले सहकर्मीहरुसंग चियापान, कहिले सँस्थागत पाहुनालाई लन्च डिनर, कहिले साना ठूला कार्यक्रममा प्रायोजक (sponsor) गर्दागर्दै थैली (Wallet) रित्तिंदै गएको, थैलीमा पैसा अलि बढी बढी थप्दै गर्नुपर्ने भैराखेको, घरमा पैसाको हिसाब गर्दा गृहमन्त्रीको अनुहार अलि कक्रक्क परेको, आफूलाई अप्ठ्यारो लाग्दै गरेको अवस्था सामाजिक सँघ सँस्थामा क्रेजी (crazy) भएर लाग्नेहरुको भोगाई हो । यो समय सामाजिक अभियन्ताहरुको “पुनर्विचारको अवस्था (Reconsideration Period) हो। यसरी ईमान्दाररुपमा सामाजिक सँघ सँस्थामा क्रियाशील सामाजिक अभियन्ताहरुको जेब (खल्ति) खाली हुँदै जाँदा त्यसको पिडा उसको कानमा गुन्जिरहने तालीको गड्गडाहट्ले शमन होस् भन्ने कामना गरौं ।
ताली, खादा, माला र भाषण गर्न पाउने अवसरको लागि मात्रै सामाजिक सँघ सँस्थामा लाग्ने हो भने सामाजिक सँघ सँस्थामा तपाईंको आयू छोंटो हुनसक्छ । तालीलाई उत्प्रेरणा (motivation) कोरुपमा लिनसक्नुपर्छ, नकि तपाईंको सम्मान । तपाईंले के बोल्दा, के वचन दिंदा ताली बजेको छ थाहा पाउनुभयो भने तपाईंका सदस्यहरु तथा उपस्थित जनसमूदायको चाहना थाहा हुन्छ, र तपाईंको कार्यकालमा त्यसलाई प्राप्त वा उपलब्ध गराउनसक्नु तपाईंको सफलताकोलागि ठूलो अवसर हुनसक्छ।
गालीलाई प्रेमपत्रको रूपमा लिई गालीमा व्यक्त कुराहरुको सुधार गर्ने अभियान शुरु गरी घर, परिवार, काम सबैलाई संयोजन (coordination) गर्नुभयो भने र समयको उचित व्यवस्थापन (Proper Time Management) गर्नुभयो भने थप उर्जा प्राप्त भई तपाईंको कार्य सम्पादन उन्नत हुनेछ । तसर्थ गालीलाई रचनात्मक पृष्ठपोषण (constructive feedback) कोरुपमा लिनुपर्यो।
जेब खाली हुने समस्याको समाधान सजिलो छैन । अवैतनिक सामाजिक सेवा स्वेच्छाले लाग्ने कुरा भएकोले आफ्नो घाँटी हेरि हाड निल्नु भन्ने उखान लागू गर्नु उपयुक्त होला । तैपनि छलफलकै रुपमा कुरा गर्दा सधैं चन्दाकोरूपमा नगद प्रवाह गर्नुभन्दा Fund Raise कार्यक्रमहरु गरि कोष संकलन गर्दा समुदायका सबै सदस्यहरुमा बराबर भार पर्न गई एउटैको मात्र ढाड भाँच्चिने समस्याको समाधान हुनसक्छ ।
सामाजिक अभियन्ताहरुले “ताली, गाली र जेब खाली” हुने अवस्थाहरुलाई उपयुक्तरुपमा समायोजन गर्दै अघि बढ्नुहोस् भन्ने शुभकामना !!
“मानव जीवनको समुन्नतीका लागि आफ्नो जीवन समर्पण गर्नुभएकोमा सबै वैतनिक अवैतनिक सामाजिक अभियन्ताहरुलाई हार्दिक नमन !!”
प्रतिक्रिया