कोमल गज़ल:- पैलो भेट्मै माया तिम्रो बोली मनपर्‍यो

इनेप्लिज २०७५ फागुन ८ गते २:४३ मा प्रकाशित
पैलो भेट्मै माया तिम्रो बोली मनपर्‍यो
 फूल बुट्टे सारी तथा चोली मनपर्‍यो
निरन्तरै लट्ठ पारे मन्द मुस्कानले
काँधमाथि लर्काएको झोली मनपर्‍यो
तिलोत्तमा,उर्वशी झैँ थिए तिम्रा साथी
जति हेर्‍यो उति राम्रा टोली मनपर्‍यो
पर्खी बस्थेँ चौतारीमा आइपुग्थ्यौ ताँती
कोसेलीले भरिएका सोली मनपर्‍यो
घायल भो जिन्दगानी छड्के तीर हान्दा
नजरले चलाएका गोली मन मनपर्‍यो
हाँस्यौँ खेल्यौँ रङ्ग भर्‍यौँ हातेमालो गर्दै
पिच्कारीमा रमाएको होली मनपर्‍यो
गह्रौँ छाती बनाएर अलगिन्थ्यौँ साँझ
दिक्दारीले गुनगुनाउने लोली मनपर्‍यो
सपनीमा आयौ सधैँ फूलमाला बोकी
सद्प्रेमले सजाएको डोली मनपर्‍यो
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
Attachments area

प्रतिक्रिया