नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने हिन्दु परिषद्को घोषणा

इनेप्लिज २०७५ फागुन ५ गते ११:५३ मा प्रकाशित

काठमाडौं, ५ फागुन । हिन्दु परिषद नेपालले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्ने घोषणा गरेको छ । आइतबार रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर परिषदले यस्तो घोषणा गरेको हो ।

कार्यक्रममा परिषद्का अध्यक्ष सन्तोष पटेलले कुनैैपनि बहाना र जबरजस्ती धर्म परिवर्तन गराउन नपाइनेमा जोड दिएका छन् । उनले आफ्नो संगठन कुनै मुस्लिम तथा क्रिष्टियन धर्मको विरोधी नभएको तर ९० प्रतिशत हिन्दु भएको देश नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्नुपर्ने माग राखे ।

उनले भने, ‘हामी कोही पनि हिन्दुको भावनामाथि भएको अन्याय र अत्याचारलाई सहन सक्दैनौं । हामीलाई कुनै राजनीतिक दल र राजाबादीसँग जोडेर नहेर्न पनि अनुरोध गर्दछौं ।’

पछिल्लो समय मुलुकमा क्रिश्चियन धर्म सम्बन्धी गतिविधि बढ्दै गएको आरोप लगाउँदै उनले पहिला हिन्दुभित्रै रहेका तल्लो जात र माथिल्लो जातको बिचको विभेद हटाउनुपर्ने धारणा राखे ।

उनले हिन्दुभित्रै जातको विभेदमा बाँचेकाहरु नै आज आफ्नो धर्म त्यागेर अरु बाह्य धर्म अंगाल्न पुगेको आरोप लगाए । ‘कुनैपनि राष्ट्रमा पहिले मुल धर्मलाई आत्मसात गर्न सक्नुपर्छ’, पटेलले थपे ।

नेपालको संबिधानमा नै जबरजस्ती धर्म परिवर्तन गर्न नपाइने भनेर स्पष्ट रुपमा लेखेको उल्लेख गर्दै उनले आज देशलाई नै हिन्दुबिहिन बनाउन लाग्दा पनि सरकारको त्यतातर्फ ध्यान तथा आँखा नपरेकोमा आपत्ति जनाए ।

उनले देशमा विद्यमान सबै हिन्दु धर्म सम्बन्धी संघ तथा संगठनहरु अब हिन्दु धर्मको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया