कोमल गज़ल:- हृदय प्रेमले हुन्छ ‘कोमल’

इनेप्लिज २०७५ फागुन १ गते ११:३२ मा प्रकाशित

सरस भावना छर्छ प्रेमले
मधुर चाहना भर्छ प्रेमले

मृदुल प्रेममा बाँच्छ जीवन
दुरुह दुर्मना मर्छ प्रेमले

अधिक प्रेममै झुल्छ पल्लव
अमित सम्झना सर्छ प्रेमले

अटल प्रेमले फुल्छ कोपिला
अप्रिय वासना झर्छ प्रेमले

प्रणय नाउ हो तार्छ सागर
विरह वेदना हर्छ प्रेमले

गगन प्रेम हो प्रेम आँगनी
सगर सिर्जना गर्छ प्रेमले

नबन मित्र हो ! प्रेम बाधक
नभन यातना पर्छ प्रेमले

हृदय प्रेमले हुन्छ ‘कोमल’
विरत कल्पना टर्छ प्रेमले

(इन्दिरा छन्द)
३ र ६ मा विश्राम

-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया