देशकै ठूलो ग्रामीण फर्निचर मेला

इनेप्लिज २०७५ माघ २८ गते १२:१९ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला रौतहटको जयनगरमा शुरु भएको छ । वसन्त पञ्चमीको दिनदेखि करिब चार हप्तासम्म चल्ने मेलामा दुई करोडभन्दा बढीको कारोबार हुने विश्वास गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्रप्रसाद यादवले बताएका छन् । मेला महाशिवरात्री सकिएको पाँच दिनपछिसम्म चलिरहने आयोजकको दाबी छ ।

मेलामा रौतहट, बारा र सर्लाहीका फर्निचर व्यावसायीको घुइँचो लागेको छ । भारतबाट पनि केही फर्निचर व्यावसायी र फलामको औजार व्यावसायी मेलामा आएका छन् । मुख्य गरी काठको सस्तो फर्निचरको लागि मेला प्रसिद्ध छ । अधिकांश फर्निचर व्यावसायीले आफैँले फर्निचर बनाउने, आफैले उब्जाएको रुखको काठ हुने तथा कुकाठको फर्निचर पनि बनाइने हुनाले चलनचल्तीको बजार मूल्यभन्दा करिब आधा मूल्यमा फर्निचर मेलामा पाइन्छ ।
सस्तो फर्निचरको लागि हरेक वर्ष ख्याति कमाउँदै गएको मेलाको विस्तार पनि हुँदै गएको छ । २०६४ सालदेखि सुरु भएको गरुडा नगरपालिका २ जयनगरको फर्निचर मेला ११औँ वर्षमा आइपुग्दा निकै विशाल हुन पुगेको छ । मेलामा करिब साढे दुई सय फर्निचर व्यावयासी आइतवारसम्म आएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलाबाट पोखरा, भरतपुर, काठमाडौँ, जनकपुर, विराटनगर र भारतको विभिन्न सहरसम्म फर्निचर पुग्ने गरेको छ । बारा, रौतहट र सर्लाहीको पनि कुना कुनासम्म काठको फर्निचर पुग्ने गरेको छ । मेलाको मुख्य आकर्षणको रुपमा अनेक डिजाइनमा बनाइका पलङ हुने गरेको छ ।
मेलामा एक दर्जनभन्दा बढी फलामे कृषि औजारको पनि पसल रहेको छ । सर्वसाधारण किसानको लागि आवश्यक पर्ने घरेलु फलामे सामग्रीहरु पनि सस्तोमा पाइने हुनाले लाखौँको कारोबार हुने गरेको छ ।

मेलाले एकातिर व्यापार र अर्कोतिर फर्निचरको प्रदर्शन हुने भएकोले क्रेता र बिक्रेता दुवै उत्साहित हुने गरेको एकजना फर्निचर व्यावसायी सूर्यदेव फर्निचर उद्योगका सञ्चालक राम अयोध्या ठाकुरको भनाइ रहेको छ ।

यातायातको सुविधा भएकोले चारैतिरका मानिस सजिलै मेलामा आउने र फर्निचर लोड गरेर लान सजिलो भएकोले दुई देशका मानिसको लागि फर्निचरको आकर्षणको केन्द्र बन्दै गएको समितिका अध्यक्ष यादवले बताएका छन् ।

प्रतिक्रिया