जिन्दगीको सहारा नै खोस्यो निष्ठुरीले
पार लाग्ने किनारा नै खोस्यो निष्ठुरीले
झलमल्ल जुनेलीले मक्ख हुन्थ्यो मन
चाँदनी र सितारा नै खोस्यो निष्ठुरीले
कति गरेँ पूजाआजा कति भाकेँ दैव
चोखो मेरो पुकारा नै खोस्यो निष्ठुरीले
बोलेर वा इशाराले पोखें पीडा धेरै
बोली तथा इशारा नै खोस्यो निष्ठुरीले
बिचल्ली भो माउ विना बचेराको जस्तै
न्यानो माया र चारा नै खोस्यो निष्ठुरीले
सधैँभरि छचल्किन्थ्यो सुख, शान्ति, चैन
मनचिन्ते भण्डारा नै खोस्यो निष्ठुरीले
निसासिन्छ जिन्दगानी सन्त्राशले घेर्दा
सुरक्षाका तगारा नै खोस्यो निष्ठुरीले
(८ अक्षरमा विश्राम)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क
प्रतिक्रिया