शनिबार, वैशाख ७ २०७६
काठमाडौं २३:०४
वासिङटन डिसी 13:19

कोमल गजल:-

इनेप्लिज २०७५ माघ २२ गते २३:१८ मा प्रकाशित

बगरेको समूहमा विन्ती सुन्ने को हुन्छ र ?
पीडा भोग्छ अचानोले सँगै बसी को रुन्छ र ?

ठिक्क पार्ने धेरै हुन्छन् जिन्दगीको यात्रा गर्दा
वेदनाका चर्का भाका निमग्न भै को सुन्छ र ?

बल्दो आगो ताप्छन् सबै निभेपछि ताप्छ कस्ले
ठूला साना हुन्नन् कोही भन्ने कुरा को गुन्छ र ?

राम्रो छु म भन्छ मान्छे छाती भित्र क्लेश राखी
दुर्गन्धले घेरे पनि दुर्भावना को धुन्छ र ?

असत्यको बाटोतिरै आकर्षण छ आजभोलि
इमान्दारी मरी सक्यो सत्य बाटो को चुन्छ र ?

अकीर्ती र अनीतिमा चुर्लुम्म छन् कतिकति
भित्रिॅदैछ धनको बाढी बिनसित्ति को थुन्छ र

ऐश्वर्यको थुप्रो लाग्यो झूटमुट सप्रिनाले
बेकारमा सच्चाइको तानाबाना को बुन्छ र ?

माया दया छैन कतै अशक्त र अनाथमा
पिल्सिँदैछन् आर्तहरू उन्को घाउ को छुन्छ र ?

प्रशंसा वा पूजा हुन्छ स्वार्थ सिद्धि गर्न मात्रै
स्वार्थ सिद्धि हुन्न भने यहाँ माला को उन्छ र ?

(८ अक्षरमा विश्राम)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

प्रतिक्रिया