मान्छेको जात !

रामप्रसाद खनाल २०७५ माघ २० गते ०:३३ मा प्रकाशित

केही नगरी बस्यो भने, खत्तम भयो भन्छन यहाँ
केही मात्र गरी बस्नुस, यो त गयो भन्छन यहाँ !
अलिकती मात्र गर्नुस्, नानाथरी भन्छन यहाँ
अली बढी राम्रो गर्नुस्, इर्श्या डाहा कन्छन यहाँ !!

सुख छँदै छैन आमा, मान्छे भएर जिउन यहाँ
झुटको जहर पिलाउँछन, पर्दैन नि पिउन यहाँ !
मान्छे मान्छे सँग जल्छन, आगो पनि चाहिन्न यहाँ
जिब्रो नटोके सम्म त, गुणगान पनि गाइन्न यहाँ ! !

पशुपँक्षी बरु मिल्छन, मिल्दैनन नि मान्छे यहाँ
पकाउनै नज्जानेले, बन्न खोज्छ भान्छे यहाँ !
यस्तै रहेछ यहाँको चलन, बुझाउँछु चित्त यहाँ
ढुङ्गै ढुङ्गा भरिएका, छन है पित्तैपित्त यहाँ !!

जिउँदै मर्छन मार्छन् मान्छे, छन है यस्तै यस्तै यहाँ
मान्छे भएरै जन्मेपछी, छोडि जाउँर भन्नुस् कहाँ ??
ज्युँदो हुँदा खुट्टा तान्छन, मरे फुल चढाउंछन !
लाश जले पछी बल्ल, गुणगान पढाउंछन ! !

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया