कोमल गज़ल:-

इनेप्लिज २०७५ माघ १८ गते २२:३६ मा प्रकाशित

यो जिन्दगानी अखानो रैछ
आघात खप्ने अचानो रैछ

देख्दैन कोही दुखेको छाती
तड्पिन्छ रोजै भकानो रैछ

पाइन्न चोखो दिलासा काहीँ
संसार अत्यन्त सानो रैछ

आफन्त टाढा सँगी छन् टाढा
हेरेर ल्यायो विरानो रैछ

मक्की सक्यो घामपानी झेल्दै
सम्पीडले जीर्ण छानो रैछ

थुप्रिन्छ आरोप राम्रो गर्दा
बेकार ठानिन्छ ‘गानो रैछ’

हुन्थ्यो सबैको पियारो बज्दा
बज्दैन थोत्रो पियानो रैछ

सम्पन्न देख्दा ‘हजूरै’ भन्थे
कङ्गाल देख्दा ‘फलानो’ रैछ

(बहरे सगीर अहज)
५ मा विश्राम

-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

प्रतिक्रिया