लम्जुङ्गमा ऐतिहासिक जागरणसभा

इनेप्लिज २०७५ माघ १५ गते २३:४९ मा प्रकाशित

मीनराज गुरुङ्ग,

यदि मुक्तिनाथ (शेषशाही विष्णु) विराजमान भएको मुस्ताङ मुनि रहेको लम्जुङ्गलाई गरुड मान्ने हो भने यो विष्णुकै बाहन गरुड नारायण हो र यो विशेष दैवी क्षेत्र हो भन्दा फरक पर्दैन । यसै पुर्खाहरूले लम्जुङ्ग गरुड, गोर्खा सर्प र काठमाडौं उपत्यकालाई भ्यागुतो भनी उखान हालेको होइन होला ?

लम्जुङ्ग जस्तो बैदिककालदेखिको प्राचीन इतिहास अनुमान कै भरमा विद्वानहरूले ब्याख्या गर्न खोजेको देखिन्छ तर वर्तमानमा भने यसले गोर्खा जस्तो भूमिका नपाए पनि गोर्खा मार्फत भएको हिमवत्खण्डको पुनएकीकरण अनि नेपाल राष्ट्रको उदयको प्रारम्भ यही जिल्लाबाट भयो भन्ने कुरामा इतिहासकार तथा बुद्धिजीवीहरू एकमत नै देखिन्छन् ।

साउदी अरबमा गाडी चालक भएर काम गर्दा गर्दै एकदिन म अचानक विरक्त बन्ने स्थिति आयो । पहिले त म नेपाली थिए जब नेपालमा राजनीति हठात् बदलियो कोही गुरुङ्, कोही मगर, कोही मदिसे, कोही मंगोल जनजाति, कोही आर्य खस बाहुन बन्न र आपसमा हानथाप गर्न थाले । हिजो सबै आआफ्नो कुल धर्म मान्थे, अचानक धर्म संस्कार अर्कै अर्कै देखा पर्न थाल्यो । यो अराजक स्थितिले मलाई औधी दुःखी बनायो । यो सब राजा फालेर भयो, त्यसैले नागार्जुन गएर ज्ञानेन्द्र शाहलाई नारायणहिटी लगेर फेरि राजा बनाएर सबैलाई नेपाली बनाउछु, एकै धर्म एकै समुदाय एकै राष्ट्रिय चरित्र बनाउँछु भनी नेपाल फर्कें । धेरैतिर हिंडे, धेरै मित्र बनाएँ, राजनैतिक पार्टी र संगठनमा हिँडे, कोही काम नलाग्ने देखेर म जस्तै पाँचथर निवासी अर्काे लाहुरे लोकनाथ भारतीसँग कुरा मिल्यो र अन्य केही मित्रहरू राखेर राष्ट्रवादी राजनैतिक जनजागरण अभियान भन्ने संस्था बनाएँ । आफ्ना मागहरू सहित नेपाल राष्ट्रको एकीकरण र अराजक स्थितिबाट देशको मुक्तिकालागि सर्वप्रथम पूर्वका ९ जिल्ला भ्रमण गरे । भ्रमण अति सफल भयो, त्यसपछि राजधानी छिरेर चोक चोकमा वृहद सभा गर्दै हिँडे । यसबाट नेपाल राष्ट्रको आवश्यकता के छ ? आम नेपाली जनता के चाहन्छन् भन्ने थाहा पाएँ । त्यसबीच भूकम्प पीडितका समस्यादेखि नेपाल इण्डिया सीमामा कंचनपुरमा शहीद भएका गोविन्द गौतम र मोरङका विश्वनाथ शाहका बारेमा राजधानी तताएर उनीहरूका परिवारजनले न्याय नपाए पनि राहत दिलाउन सफल भएँ । मैले विद्वानहरू प्रेम कैदी, आनन्दराम पौडेल, दीपा गौतम आदिका साथ नेपालमा बितण्डा मच्चाउने क्रिस्तान भरिया श्यामशरण बिरुद्ध द्वारिका होटल घेर्न पुगे ।

यस क्रममा आमसभा गर्दै लम्जुङ्ग पाचोकमा भूकम्प पीडितहरू वारे एक वृहद जनसभा गर्न सफल भइयो जसले लम्जुङ्गका जागरुक समाजसेवीहरूसँग हिमचिम बढ्यो । यसैले उदिपुर कालिका मन्दिरका लागि समर्पित समाजसेवी विष्णु अधिकारी, सीताराम जोशी, प्रकाश जोशी, पूर्ण कुँँवर, गोपी दमाई, कृष्णबहादुर बुढाथोकी, चीनबहादुर खवास, राजु पन्त, राजकुमार श्रेष्ठ, मनदेवी पन्त, कृष्णबहादुर अधिकारी आदि सम्पर्कमा आउनु भयो र आफ्नो जिल्ला अनि राष्ट्रकै कुल देवी उदिपुर कालिकाका लागि केही गरौं भन्ने सल्लाह भयो जसमा मैले सर्वप्रथम आम चासो उत्पन्न गर्न उदिपुर कालिका तथा लम्जुङ्ग जिल्लाको इतिहास तथा यसको महत्व जान्नु जरुरी छ भन्ने सुझाव दिए । संस्थाका प्रमुख विष्णु अधिकारी अति जागरुक र सक्रिय व्यक्तित्व भएकोले तत्काल राष्ट्रिय स्तरका समर्पित जनमुखि, देशभक्त बुद्धिजीवी तथा इतिहासकारहरू उदिपुरमा उतार्ने र एक सर्वपक्षीय सार्वजनिक विचार गोष्ठी सम्पन्न गर्ने निर्णयका साथै त्यस कार्यमा मन्दिर व्यवस्थापन समितिका सबै पदाधिकारीहरू सक्रिय हुन पुगे । जिल्ला तथा काठमाडौंसम्म कै कतिपय दाताहरूले सानोतिनो सहयोग गरेर हाम्रो हौसला बढाए जसमा पिपुल हाइड्रो, हिमालय पावर पार्टनर, लिवर्टी हाइड्रो, उज्वल श्रेष्ठ, प्रकाश जोशी, समीर अधिकारी, कुलदेव जोशी, पूर्ण कुँवर, कर्मा गुरुङ, बबिता गुरुङ लगायत धेरैले सघाए । उदिपुरका स्थानिय व्यवसायी संखमान श्रेष्ठ, नीलकुमार श्रेष्ठ, जनकलाल श्रेष्ठ, पिपललाल चौधरी लगायत धेरैले हात बढाए ।

पूर्व निर्धारित योजना अनुसार लम्जुङ्गमा गरिने कार्यक्रमको त्यसै जिल्लासँग सम्बन्धित इतिहासकारलाई नै प्रमुख अतिथि बनाउने सोच अनुसार २०३४ साल अघिसम्म लम्जुङ्ग निवासी रहेका तर हाल याङ्गजाकोट कास्कीमा पारिएकोले मात्र उताका निवासी बन्न पुगेका प्रा.डा. जगमान गुरुङ्गलाई प्रमुख अतिथिमा आमन्त्रण गर्दा त्यसको लगत्तै कालिका माताको कृपाले उहाँ प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा समेत नियुक्त हुनु भयो । २०७५ साल माघ ५ गते विहान ११ बजेबाट प्रारम्भ भएको सभामा प्रमुख अतिथिका रुपमा प्रा.डा. गुरुङले नेपालको राष्ट्रिय एकीकरणमा लम्जुङ्ग जिल्लाको विशेष भूमिका भएको मात्र नभनी खशान्त र शेषान्त जाति बीचको सुमधुर सम्बन्धका विविध पक्षहरूको मिहिन ब्याख्या प्रस्तुत गर्नु भयो । उहाँ जस्तो विद्वान लम्जुङ्ग जिल्ला मै मात्र केन्द्रित भएर नेपालको राष्ट्रिय स्वरुपको ब्याख्या र भावी दिशाको लागि गर्नु भएको मार्ग निर्देशनले स्थानिय विद्वानवर्ग उहाँप्रति अत्यन्तै नतमस्तक भएका छन् ।

यस्तै हाल देशव्यापी रुपमा बहुचर्चित इतिहासकार, वरिष्ठ पत्रकार तथा क्रान्तिकारी देशभक्त बुद्धिजीवी, कर्णाली कैलाशखण्डका विशेष जानकार प्रेम कैदीले आँधिखोला स्याङ्गजाका राजा जैन खानका पाँचौं पुस्ताका राजा कुलमण्डन कास्की आएका, तिनैका छोरा कालु साही लम्जुङ्ग ल्याइदा उदिपुर कालिका पनि तिनैसँग ल्याइएकी र पछि कालु साही मारिए अनि उनका कान्छा भाइ यशोब्रह्म साहीले खशान्त र शेषान्त दुबै समुदायबीच मेल गराए र द्वन्द मिटाएको भन्दै खशान्त इरानबाट आएका आर्य र शेषान्त मंगोलियाबाट आएका मंगोल भन्ने कुरा इतिहास सम्मत छैन, यो नेपालमा द्वन्द सिर्जना गराएर आफू पस्ने औपनिवेशिक षड्यन्त्र हो भन्दै त्यसको विस्तृत व्याख्या गर्नु भयो । उहाँले खशान्त खसबहादुर वा शकबहादुर भन्ने देवराज इन्द्रका सन्तति र शेषान्तहरू शेषनारायण अर्थात पुराणका पात्र बलराम वा लक्ष्मण आदिका सन्तति हुन सक्छन्, खोजीगर्नु पर्छ भन्नु भयो । उहाँले विश्वमा हिन्दू एकअर्व भन्ने कुराको खण्डन गर्दै चिनीया जापानी सबै मष्टो देवका सन्तान हुन्, कोरियादेखि पोल्याण्डसम्म सबै टेंग्री (मष्टो) मान्ने हिन्दू हुन् र नेपाल हिन्दूराष्ट्र भएमा पुनः विश्व कै अधिपति कै स्थान प्राप्त गर्नेछ भनी ठोकुवा गर्नु भयो ।

विषेशवक्ता प्रेम कैदी र मञ्चमा आसिन अतिथि तथा आयोजकहरू प्रेम कैदी र मञ्चमा आसिन अतिथि तथा आयोजकहरू

 

सभामा उपस्थित जनसमूह २

सभामा उपस्थित जनसमूह ३

स्थानिय निवासी वरिष्ठ पत्रकार वेदराज पन्तले लम्जुङ्गबाट नेपाल राष्ट्रको एकीकरणको सुरुवात की भयो भन्दै लम्जुङ्गका धार्मिक र राजनैतिक महत्व दर्शाउदै झन्डै १० पृष्ठको विचारपत्र प्रस्तुत गर्नु भयो ।

लम्जुङ्गको उज्यालो इतिहास तर अँध्यारो वर्तमानले हामी सबै जागरुक हुनु पर्ने विशेष खाँचो औँल्याउदै स्तम्भकारले स्वागत भाषण गरेको सभामा विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारीका साथै वडा अध्यक्ष बलराम श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भएको थियो । सभामा लम्जुङ्गका अति विशिष्ट कवि कृष्णराज ओलियाले जीवन रक्षाका लागि प्रकृतिमा फर्काै भनी आह्वान गर्दै देशभक्तिले ओतप्रोत कविता सुनाउनु भयो । स्थानीय शैलीमा मेघनाथ पण्डितका मित्रहरूको समूहले राष्ट्रिय भजन प्रस्तुत गर्दै हिन्दूराष्ट्र नेपाल बनाउन आह्वान गर्नु भएको थियो । कार्यक्रममा लम्जुङ्गको ऐतिहासिक, पर्यटकीय तथा जलस्रोत आदिको महत्वमाथि व्यापक विचार विमर्श गरियो ।

सभामा उपस्थित जनसमूह १

सभामा उपस्थित जनसमूह ४

वक्ताहरू मध्ये वरिष्ठ पत्रकार प्रेम कैदीसँग नेपालको इतिहास, राजनीति, भ्रष्टाचार र हाल देशमा भैरहेको अनेक थरीका धर्म परिवर्तनका गतिविधि कसरी रोक्ने भन्ने विषयमा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा गम्भीर विचार विमर्श भयो । समग्रमा कार्यक्रम लम्जुङ्गमा मात्र होइन पुरै राष्ट्रलाई जगाउन सफल भएको भन्ने उपस्थित जिल्ला भरका शिक्षक, शिक्षिकाहरूबाट प्रतिक्रिया आएको थियो । यस्तो जागरणसभा उदिपुर कालिका ट्रष्टले जस्तै देशभरका सामाजिक संघ संस्थाहरूले गरेमा देशमा अहिले देखिएको विचारको खडेरी र इतिहासप्रतिको उपेक्षा कुनै न कुनै रुपमा घटाउन सकिने धारणा सभामा उपस्थित पत्रकारहरूबाट आएको थियो । सभामा गण्डक प्रदेशका विद्वान, राजनैतिक नेता, सन्तमहन्त तथा सामाजिक अगुवाहरूको ठूलो उपस्थिति रह्यो ।

प्रतिक्रिया