बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:२७
वासिङटन डिसी 17:42

बडेमानको ट्रक

प्रकाश नेपाल २०७५ माघ ९ गते २२:४७ मा प्रकाशित

 

बडेमानको ट्रक
बेतोडले कुदेको कुदै छ
कहिले उकाला पहाडहरुमा
कहिले ओराला घुम्तीहरुमा
त कहिले अनकन्टार मरुभूमिमा
कुदी रहेछ निरंतर।

म भने मलाई जन्माउने पहाडहरुको उकालो चढ्न न सकेर
चुक घोप्टाए जस्तो अँध्यारो त्यही ट्रक भित्र
घरि घोप्टिएर , घरि त्यही ट्रकको भित्तामा टाउको ठोक्दै
मेरो भविष्य खोजि रहेछु।

ट्रक बेतोडले कुदी रहेछ, कुदेको कुदै छ
त्यो ट्रकको गती संगै
भयानक सन्नाटा भित्र
घिट्ट घिट्ट मेरो प्राण निस्केला जस्तो
मानौ कुनै पनि बेला
मलाई गिज्याउदै सट्ट निस्केर जान सक्छ।

म अत्तालिई रहेछु
त्यो बढेमानको ट्रक भित्र
तड्पी रहेछु थोरै उज्यलॊकोलागि

ए घाम !
तँ यति चांडो, यति निर्दयी कसरी हुन सक्छस?
तैले बेइमान गरिस कि मैले धर्म छोडें
भिख मागी रहेछु तेरो सानो उपस्थितिको।

हो – मेरा सपनाहरुको पाखाहरुमा
ढकमक्क फूल फ़ुलाउन
मेरा बा’को पाखाहरु साहूलाई धितो राखेर हिडेको म
यो ट्रक भित्र एक मुठी स्वास भिख मागी रहेछु।

अहो – कतै चलमल छैन यो अँध्यारो भित्र
कतै प्राण पनि छैन कि क्याहो यो ट्रक भित्र
“हैन-सबै सुत्यौ कि क्याहो साथीहरु?”
म चिच्याउछु
सुनसान सन्नाटामा
मेरा आवाजहरु ट्रकको भित्ताहरुमा ठोक्किएर
मतिर ह्वास्स गनाउने स्वास बोकेर फर्किन्छ
तर कोहि बोल्दैन।

लाग्यो तो निस्पट्ट अँध्यारो र भकभकी पाकेको गर्मि मात्र हो मेरो अब
म अब उघ्रेको आकाश देख्ने छैन
मलाई बिदाई गर्दा गह भरि आशुं थाम्न नसकेर
खोकेको अभिनय गर्दै फरक्क फर्केको बूढाबा को अनुहार देख्ने छैन

न जा बाबु – दूर देश न जा
कहिले फर्कलास र
म कत्ति नै बाचुला र भन्दै
मेरो कपाल सुम्सुमाएर
भक्कानिएको मेरो आमाको अनुहार देख्ने छैन
मेरो कमिजको फेरो समाएर
म तिर एकनासले हेरेको मेरो छोराको अनुहार देख्ने छैन

ट्रक बेतोडले कुदेको कुदै छ
मेरो आँखाको डिलमा टल्पलाएका आशुहरु
तप्प खसे र अँध्यारो मै बिलाए।

February 22, 2018

प्रतिक्रिया