रौतहट–बारा जोड्ने सेतुको साँसद साहद्वारा शिलान्यास

सञ्जय साह मित्र २०७५ पुष २३ गते २२:४६ मा प्रकाशित

मानव विकास सूचकांकमा प्रदेशको सबैभन्दा पछाडि परेको जिल्लाको रुपमा रौतहट चिनिए पनि भौतिक पूर्वाधारको क्षेत्रमा भने रौतहटले प्रदेशका अन्य जिल्लालाई उछिन्दै लगेको छ । लगातार तीनपटक जननिर्वाचित साँसद प्रभु साहको अथक प्रयासले रौतहटमा सडक र पुलको काम धमाधम भइरहेको छ । यसै क्रममा माननीय साहले सोमवार बारा र रौतहटलाई जोड्ने अर्को पुलको शिलान्यास गरेका छन् ।

बारा र रौतहटको सिमा खोलाको रुपमा रहेको अरुवामा साँसद साहले एक समारोहबीच पक्की पुलको शिलान्यास गरेका छन् । रौतहटपट्टि सन्तपुर पेटभर्वा र बारातिर मलाही गाउँको बीचमा रहेको अरुवा खोलामा नेकपाको प्रदेश २ का अध्यक्ष साहले पक्की पुलको शिलान्यास गर्दै जनताको साथ र सहयोग भएमा जस्तोसकै असम्भव काम पनि सजिलो हुने बताएका छन् । जनताको चाहना विकास भएको र विकास कोही एक्लैले गर्न नसक्ने भएकोले सबैले मिलेर सबैको विकास गर्न सकिने धारणा राख्दै साँसद साहले हरेक गाउँलाई राजमार्गसित जोड्न, हरेक घरलाई नाला र सडकसित जोड्न तथा हरेक व्यक्तिमा सीप तथा क्षमताको लागि आफू प्रयासरत रहेको बताएका छन् ।

कार्यक्रममा प्रदेश साँसद कुन्दन कुशवाहा, नेकपा एमालेके तत्कालीन जिल्ला अध्यक्ष कमल यादव, जिल्ला विकास समिति रौतहटका तत्कालीन उपसभापति रजिउदीन आलम, मौलापुर नगरपालिकाका मेयर रिनादेवी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा फिरोज, फतुवा विजयपुर नगरपालिकाका उपमेयर कान्तिदेवी महतो लगायतको सहभागिता रहेको थियो ।

पुलको निर्माण सम्पन्न भएपछि रौतहटको गरुडाबाट बाराको कलैया करिब सरल रेखाजस्तो सीधा बन्ने छ । गरुडाबाट कटहरिया हुँदै सन्तपुर बजारबाट मलाही भएर गंजभवानीपुर हुँदै कलैया करिब ४६ किलोमिटरमे समेटिने भएकोले बारा र रौतहटको लाइफलाइन सडक बन्ने विश्वास स्थानीयबासीले लिएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया