चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

इनेप्लिज २०७५ पुष २० गते ८:१० मा प्रकाशित

लमही, पुस २० गते । छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् ।

त्यस क्षेत्रका २५÷३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताउनुभयो । “यस क्षेत्रमा करीब २५÷३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो, “भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेको छ ।” उहाँका अनुसार समूहमा आउने पशु चौपायाले दिनमा भन्दा रातमा बढी क्षति गर्ने गरेका छन् ।

स्थानीयवासी १० जना किसानले लगाएको तोरी खेतीमा क्षति पुगेको छ । जीतेन्द्रको १५ कट्ठा तोरी, भागिरथ भण्डारीको एक बिघामा लगाएको तोरी र मुसुरो, सुधीर केसीको दुई बिघामा लगाएको तोरी, कृष्ण केसीको १० कट्ठामा लगाएको तोरी, गिरु जिसीको छ कट्ठामा लगाएको तोरी, निमबहादुर भण्डारीको १० कट्ठामा लगाएको तोरी, कृष्ण पोख्रेलको दुई कट्ठामा लगाएको अडहर क्षति भएको छ ।

छाडा चौपायाले आफूहरुलाई वर्षेनी सास्ती दिने गरेको स्थानीयवासी कृष्ण केसीले बताउनुभयो । “दिनभरि गाईगोरु धपाएर बस्नुपर्छ, रातको समयमा त झन जाग्राम बसेर नै हेर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसरी छाडा छोडिएका पशु चौपाया नियन्त्रण लिन पटकपटक सम्बन्धित निकायलाई अनुरोध गर्दा पनि कुनै चासो दिने गरेका छैनन् ।”

तुलसीपुर उपमहानगरपालिकाका वडा नं ७ वडाध्यक्ष टोपबहादुर केसीले छाडा चौपाया नियन्त्रणका लागि जग्गाको खोजी गरिरहेको बताउनुभयो । “हामी यस विषयमा गम्भीर छौँ”, उहाँले भन्नुभयो, “हामीले छाडा चौपाया नियन्त्रण गर्न जग्गा खोजी गरिरहेका छौँ ।” तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले छाडा चौपाया नियन्त्रण गर्ने जिम्मा सम्बन्धित वडालाई दिएको बताउनुभयो ।

प्रतिक्रिया