नेका सिद्धान्तहीन र नेकपा प्रतिगमनतर्फ अग्रसर : आन्तरिक मामिला तथा कानुन मन्त्री यादव

इनेप्लिज २०७५ पुष १९ गते १२:२६ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले नेपाली काँग्रेस सिद्धान्तहीन पार्टी भइसकेको र नेकपा प्रतिगमनतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । रौतहटको गरुडामा बिहीवार अपन सरकार– अपन द्वार (आफ्नो सरकार– आफ्नो द्वार) कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले पहिले धर्म निरपेक्षताको वकालत गर्ने नेपाली काँग्रेसले सिद्धान्त त्यागेर हिन्दू धार्मिक देशको वकालत गर्न लागेकोले सिद्धान्तहीन पार्टी भइसकेको आरोप लगाएका छन् । यसै गरी नेकपाको सरकारले संविधानमा उल्लेख भएको प्रदेश सरकारको अधिकारलाई कटौती गर्ने विधेयक ल्याएर फेरि संघमा अधिकार लैजान प्रतिगमनतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयतर्फबाट पहिलोचोटि संचालन गरिएको अपन सरकार–अपन द्वार कार्यक्रम प्रदेशभरि लगेर सरकार चाहिँ जनताको बीचमा आएको अनुभूति गराउने मन्त्री यादवले बताएका छन् ।
संघीयताको विपक्षमा नेकपा गएकोले राणा शासन र राजतन्त्रजस्तो नेकपाको पत्ता साफ हुने ठोकुवा गर्दै मन्त्री यादवले प्रदेश २ सरकारले विभेदरहित प्रदेश निर्माणको पक्षमा काम गरिरहेको बताएका छन् ।

जनताको समस्या सुनेर प्रदेश सरकारले यस कार्यक्रममार्फत जनतामाथि न्याय भएको अनुभूति दिलाउने प्रयासस्वरुप नयाँ कार्यक्रमको सुरुआत गरेको मन्त्री यादवले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया