आइतबार, चैत १० २०७५
काठमाडौं ०९:१४
वासिङटन डिसी 23:29

सम्झनामा नेपाल भाषा साहित्यका मूर्धन्य व्यक्तित्वः नातिवज्र

गोविन्द गिरी प्रेरणा २०७५ पुष १९ गते ३:४६ मा प्रकाशित


नेपाल भाषा साहित्यका मूर्धन्य व्यक्तित्व नातीवज्रको देहावसान(२०७५ पुस १८)को खवर सुन्ने वित्तिकै यौटा घनघोर शून्यताले अँठ्याएजस्तो मलाई लाग्यो । गत अगस्त महिनाको २२ तारिख अर्थात् ६ भदौ २०७५ विहान म उहाँको निवासमा थिएँ । मेरो उपन्यास “मात्र एक रात’’को विमोचन त्यसदिन विहान उहाँको निवासमा उहाँको हातवाट भएको थियो–श्शिकला मान्धरको अनुवादमा “छचा जक’’ शिर्षकमा । उहाँले छोटो मन्तव्य पनि वोल्नु भएको थियो अस्वस्थताका वावजूद ।

वास्तवमा अघिल्लोपल्ट अर्थात् २०७२ सालमा म नेपाल जाँदा पनि उहाँलाई भेट्न गएको थिएँ । उहाँ अस्वस्थ हुनुहुन्थ्यो नै, उहाँको छोरी पनि अस्वस्थ भएर सुतिराख्नु भएको थियो । म मेरी श्रीमतीको साथमा गएको थिएँ । केही वेर वसेर फोटो खिचेर म फर्केको थिएँ । यसपाली पनि म उहाँलाई भेट्न गएँ । केहीवेरको कुराकानीको क्रममा उहाँले भन्नुभएको कुराले मेरो भित्री मन हल्लायो र अत्यन्त भावुक समेत वनायो । पढे लेखेका र योग्य व्यक्तिहरु सवै विदेशिएकोमा उहाँ अत्यन्त चिन्तित र आक्रोशित पाएँ । म आफैं पनि १४ वर्षदेखि अमेरिकामा वस्दै आएको, कताकता ननिको लाग्यो । तर उहाँ हैन उहाँ भित्रको सच्चा कवि वोलिरहेको थियो ।

यौटा नेपालप्रेमी वोलिरहेको थियो । अस्वस्थताले त्यसरी गाँजेर कोठामा कैद हुनुपर्दाको पीडाभन्दा देश प्रतिको उहाँको चिन्ताले म एकपल्ट नराम्ररी हल्लिएँ । कुराकानीकै क्रममा उहाँले भन्नु भएको थियो, “गोविन्दजी आकाश कस्तो छ हेर्न नपाएको पनि तीन वर्ष भयो’’ । यो उहाँको अभिव्यक्तिले मलाई भावुकताको पराकाष्ठामै पु¥याईदियो, मुस्किलले हिक्का छोड्नवाट वचाएँ मैले आफूलाई । उहाँ अस्वस्थताको कारणले हिंडडुल गर्न नसकेर कोठामै कैद हुनुको पीडा वोलेको थियो त्यो । यसैवीच मेरो मात्र एक रात उपन्यास पुस्तकको अनुवाद सकिएर प्रकाशनका लागि चाँजोपाँजो हुँदै थियो । ठूलै कार्यक्रम गर्ने विमोचनको । नेपाल भाषा साहित्यको सस्थाको व्यानरमा प्रकाशन गरेर विशेष व्यक्तिको हातवाट विमोचन गर्ने सोच वनाएको थिएँ । अचानक मेरो मन परिवर्तन भयो । म नातीवज्रको हातवाट विमोचन गराउँछु । यो सोचेपछि म उहाँलाई कुरा गर्न पुनः उहाँको निवास गएँ । उहाँ अति नै खुशी हुनुभयो र उहाँकै कोठामा थोरै साहित्यिक मित्रहरु, पत्रकार साथीहरु, अनुवादक र प्रकाशन संस्थाका साथीहरुको वीचमा विमोचन गर्ने टुँगोमा पुगें । उहाँले विहान ९ वजे गरौं, छोरा छोरीहरु काममा जानुअघि गर्न पाए उनीहरु पनि हुन्छन् भन्ने धारणा राखेपछि विहान त्यो विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

वास्तवमा नातीवज्रजीसँग मेरो सम्पर्क विसं २०३६ सालको जनमत संग्रहका लागि वहुदलको पक्षमा दिवंगत भवानी घिमिरेको नेतृत्वमा भएको सडक कविता क्रान्ति पछि भएको थियो । उहाँ भोटाहिटीवाट असन चौक नपुग्दैको चोक प्रवेश गर्ने ठाउँको मुखैमा रहेको उहाँको आफ्नै पत्रिका पसलमा भेटिनु हुन्थ्यो । म आफूले सम्पादन गरेका पत्रिका विक्रीका लागि लिएर जान्थें । कुनै पत्रिका वा पुस्तक किनेर पनि ल्याउँथें । कहिलेकाहीं केहीवेर वसेर साहित्य र देशको स्थितिवारे कुराकानी पनि हुन्थ्यो । उहाँ आफ्नो पुस्तक, गीतको सिडी उपहार पनि दिनुहुन्थ्यो । नेपाल भाषा पनि सिक्नोस् न पनि भन्नुहुन्थ्यो ।

नातीवज्रले लेखनको माध्यमले मात्र होइन नेपाल भाषाको भाषिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोले सम्मानित पुरस्कृत पनि हुनुहुन्थ्यो । यौटा नेपालीले ८० वर्षको उमेर पाउनु राम्रो हो । उहाँले ८० वर्षको उमेरको अधिकाँश समय भाषा साहित्यलाई लगाउनु भयो । भाषा साहित्यको पुस्तकले घेरिएको कोठामा उहाँको वास थियो । सरस्वतीपुत्र नातीवज्र केही समयअघि अचेत भै अस्पताल भर्ना हुनु भएको खवर सुन्ने वित्तिकै मेरो मनमा चिसो पसेको थियो । उहाँको स्वास्थ्य स्थिति पक्कै पनि राम्रो थिएन । तर उहाँमा भएको भाषा साहित्यको चेतले त्यसलाई जितेको थियो । तर त्यो जित पनि अव पराजित भयो । भाषा साहित्यका सेवक सरस्वतीका वरदपुत्र, नेपाल आमाको सच्चा सपुत साहित्यकार नातीवज्रमा हार्दिक हार्दिक श्रद्धासुमन । उहाँले छाडेर गएको साहित्यिक नासो चीरकालसम्म रहनेछ ।

२ जनवरी २०१९
अमेरिका ।

प्रतिक्रिया