साझा विवेकशीलका उज्वल थापा लाई २०१९ को शुभकामना !!

इनेप्लिज २०७५ पुष १७ गते १६:१८ मा प्रकाशित

 

प्रिय उज्वल थापाज्यु,

सबभन्दा पहिला अंग्रेजी नयां वर्षको शुभकामना। मैले अंग्रेजी नयां वर्ष भनेर तोक्नु कारण, हामी नेपाली मनका धनी, पुगोस या नपुगोस, समय होस या नहोस् हरेक चाडपर्व(क्रिसमस, इद, दशै) चाहे जेसुकै होस तर अन्तरराष्ट्रीय हुनुपर्छ धुमधामले मनाइदिन्छौ। आज टोपी दिवसको फोटो हेर्नुभयो होला सारीचोलोमा ढाका टोपी ढल्काएर सेल्फी खिचेर फेसबुकमा फोटो हाल्नेको जमात। यति मात्र नभइ नाम चलेको पत्रिकाले समेत सारी चोलो लगाएर सेल्फी खिच्नेहरुको फोटो कभर गरिदिएको छ।

हालसालै तपाईले आफ्नो पार्टी एकताको एक वर्षको समीक्षा गर्नुभएछ, यो आत्मआलोचनाको पारदर्शीता देखेर गर्व लाग्यो। जब तपाईहरुले विवेकशीलको शुरुवात गर्नुभएको थियो, धेरै युवाहरुमा आशाको दियो पलाएको थियो। सबैमा जोश बढेकोथियो, नेपालबाट झण्डै लोप हुन लागेको औधोगिक क्रान्तिको शुरुवात गर्ने उत्साह पलाएकोथियो। उद्योगधन्दा शुरु गर्ने, उत्पादनशीलता बढाउने, निर्यातशीलता बढाएर देशलाई सम्बृद्धशाली बनाउने, सानो र आफ्नोस्तरबाट तपाईहरुले शुरुवात गर्नुभयो र साथसाथै राजनीतिक विकृतीसंग लड्दै जाने तपाईहरुको नीति सार्है सराहनीय थियो। जबसम्म उत्पादनशीलता बढ्दैन, न त आत्मनिर्भता हुन्छ, न त रोजगारी सिर्जना हुन्छ, अनि आयश्रोत बढ्ने कुरा पनि आउदैन।

जब अचानक साझा पार्टी तपाईहरुको बाटो पछ्याउदै आइपुग्यो, नेपाली राजनीतिक बजारमा हलचल मच्चियो किनकी विवेकशील मधुर संगीत बजाउदै नेपाली माटोमा भिज्ने कोशिस गर्दैगर्दा साझा ब्याण्ड बाजा बजाएर आइदियो, त्यसपछिको ठुलो गल्ती काठमाण्डौ मेयरको चुनावको प्रकरण, विवेकशीलले आफ्नो उमेरद्वारको लागी जसलाई जुनरुपले प्रस्तुत गर्यो त्यो विवेकशीलको सौम्यता भन्दा बाहिरको कुरा थियो, एकाइस वर्षको युवा उमेरद्वारको कारण होइन, कारण थियो आक्रामक तानाशाह शैलीको र अपरिपक्क बोलीको भाषण र गतिविधी, तैपनि धेरैको मन जित्नुभयो। पार्टी एकीकरण पछि उही पुरानै शासकहरुको शैली शुरु भयो नाम चलेका, पैसा कमाएकाहरुलाई पार्टीमा समावेस गर्ने प्रकिया अनि चन्दा संकलन गर्ने प्रकिया। यहा तपाईलाई एउटा प्रश्न गर्न मनलाग्यो,” आज तपाईलाई लाखौ चन्दा दिने दानवीर परोपकारीले भोली तपाईहरु सत्तामा गएपछि के हातमा दही जमाएर र मुखमा टेप टांसेरै बस्ला र?”

पुराना राजनीतिक पार्टीहरुले गरेको गल्ती पनि यही हो। फलानोले यति दियो उति दियो भनेर पारदशीता देखाउनुहुन्छ तर तपाईकै पार्टीको नेताज्युले बोले जस्तो,”गएर सोध्नुस! तपाईको पार्टीको नेतालाई!”

तपाईहरुले पनि, तपाईलाई चन्दा दिने व्यक्तिलाई सोध्नु भएको छ? उसले आयकर तिरेको छ कि छैन? विदेशबाट चन्दा दिनेलाई सोध्नुभएको छ? उसले त्यो चन्दा बैक मार्फत पठाएको हो कि हुण्डीबाट पठाएको हो?” चन्दा दिने व्यक्तिलाई सोध्नुभएको छ? उसले आफैले कमाएर चन्दा दिएको हो कि कालो धनलाई सदुपयोग गरेको हो?” भष्टाचार रोक्न ठुलो कुरा गरिरहनु पर्दैन, शुरुवात राजनीतिक पार्टीहरुले चन्दाको नाममा गरेको मनोमानीको लेखाजोखाबाट शुरु गरेपुग्छ अनि बल्ल कर्मचारीले भ्रष्टाचार गरेको देख्ने तर राजनीतिक पार्टी, तिनका नेता र कार्यकताको मनपरीतन्त्र नदेख्नेहरुको रातको निन्द्रा खल्बलिन्थ्यो।

तपाई विदेशमा नेपाली विध्यार्थीले पाउने दुख स्वयं भोगेको व्यक्ति, जसलाई राम्रोसंग थाहा छ पैसाको महत्व के हो, त्यसै विदेशबाट खाईनखाई फेसबुकमा नाम कमाउन चन्दा दिने ती युवाहरुको पैसामा गर्व नगर्नुस। नेपालमा दश हजार रुपैयाले कुनै अर्थ राख्दैन तर विदेशमा दश डलर वा दश युरोको ठुलो अर्थ राख्छ, यो कुरा मैले भन्दा राम्रोसंग तपाईले बुझ्नुभएको होला।

परोपकारी राजनीति विकासको दिगो विकल्प होइन। तर सानो मसिनो समस्याको समाधान गरेर नै ठुलो समस्यासंग लड्न सकिन्छ।तपाई अरनिको कालीगरीको प्रसंशा गर्ने व्यक्ति, एकपटक सोच्नुस त! राजा अंशुवर्मा कति दुरदर्शी थिए, भारतसंग वैदेशिक सन्तुलन ल्याउन आफ्नी बहिनीको वैवाहिक सम्बन्ध जोडीदिए भने तिब्बतसंग सम्बन्ध सन्तुलन गर्न छोरी भृकुटिको विवाह गरिदिए र तीनै भृकुटिले नेपालबाट कालीगर लगेर नेपाली कलाको बिस्तार गरिन, जसको उत्कृष्ट स्वरुप हो पाँचौ दलाई लामाले पुन निर्माण गरेको पोताला दरबार!

तपाईले भने जस्तै, “हामीले नगरे कसले?”

अन्त्यमा उज्वलजी! तपाई त्यही बाटोमा हिड्ने प्रयास गर्नुस जुन बाटोबाट तपाईले बामे सर्न शुरु गर्नुभएको थियो। भाषण गर्ने र मीठो कुरा गर्ने नेता धेरै देखियो र अरुको भरमा सफलता हासिल गरिदैन भन्ने कुरा नेपालको विश्व सुन्दरी प्रतियोगिताले समेत प्रमाणित गरिदियो। अन्तर्राष्ट्रीयस्तरमा हाम्रो अस्तित्व कस्तो छ भन्ने कुरा महेश्वर महर्जनले स्वर्ण पदक जित्दा बजेको राष्ट्रिय गानको धुनले बोलीदिन्छ।

तपाईको शुभचिन्तक,
बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया