चितवनका मृगौला पिडितलाई अष्ट्रेलिया बस्ने नेपालीद्वारा सहयोग

शिशिर सिंखडा २०७५ पुष १४ गते ५:०६ मा प्रकाशित

चितवनको रत्ननगर बस्ने मृगौला रोगी सुमन परियारको उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । दुवै मृगौलाले काम नगर्ने भएपछि उनको उपचारको लागि आर्थिक संकलन गर्ने क्रममा चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नी बस्ने राजु थापाको पहलमा रु. १ लाख ८ हजार ३ सय ५० संकलन भएको थियो ।

संकलित रकम राजुका बुबा कृष्ण बहादुर थापा मार्फत् मृगौला रोगी सुमनको आमा चन्दा परियारलाई एक कार्यक्रमका बिच बैंकमा जम्मा गरिदिएको रकमको भौचर हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, मनकामना अस्पताल भरतपुरका सिइओ अमृत मास्के, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, लायन्स क्लव अफ चितवन कालिकाका सचिव सिपी अधिकारी, डाइरेक्टर देवेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । दुवै मृगौलाले काम नगर्ने भएपछि गत पौष ३ गतेबाट भक्तपुर मानव अङ्ग प्रत्यारोपण केन्द्र सल्लाघारीमा भर्ना गरिएको छ । छोराको मृगौला काम नगर्ने भएपछि आफैले एउटा मृगौला छोराको लागि प्रत्यारोपण गर्न लागेको आमा चन्दा परियारले बताइन् । उनको मृगौला प्रत्यारोपण गर्न करिव ४० लाख खर्च हुने भएपनि हालसम्म करिव १० लाख रकम संकलन भएकोले छोराको उपचारको लागि आर्थिक सहयोगको उनले अपिल समेत गरेकी छन् ।

प्रतिक्रिया