टोपी दिवश सन्दर्भमा

सुरेन उप्रेती अटवा २०७५ पुष १२ गते २२:१५ मा प्रकाशित

टोपीको बारेमा धेरै जनाले कलम चलाएको पाइन्छ । तर टोपीको जन्म कहिले भयो। यसको नामाकरण टोपी भनेर कसले गर्यो । कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाणहरु प्राप्त हुन सकेका छैनन् । संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमालगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ ।(वशन्त शर्मा नेपाल ,नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ ) । टोपी प्राकृत नाम शब्द शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाइ सिलाईएको पहिरनलाई टोपी भनिन्छ (नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ ) । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी भएको पनि हुन सक्छ ।

नेपाली भाषामा शरिरका अंगहरु संग जोडिएर प्रयोग हुने थुप्रै बस्तुहरुलाई पनि त्यही अंगसँग जोडेर नामाकरण गरिएका उदाहरणहरु पाइन्छन । जस्तो औंलामा लगाउँनेलाई औंठी, कानमा लगाउनेलाई कुन्डल, घाँटी अथवा कण्ठमा लगाउनेलाई कण्ठी, नाकमा लगाउनेलाई,नत्थु ,नथिया आदि । यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा लगाउने भएकोले हुनाले टोपी भनिएको हुन सक्छ । त्यस्तै हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरु शिरमा लगाउने, शिरफुल, शिरबन्दी शिरपोस गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टी गर्दछन ।

टोपी बिभिन्न आकार र प्रकारमा पाईन्छन । टोपीहरुलाई फरक फरक बनोट र बन्ने बस्तुको आधारमा फरक प्रकारका नामाकरण गरिएको पाइन्छ । १. कानेटोपी ,२. माक्कले टोपी, ३. बिर्के टोपी, ४. भादगाउँले टोपी, ५ .पाल्पाली ढाका टोपी , ६.तेह्रथुमे ढाकाटोपी, ७. छत्रे टोपी आदि ।

१. कानेटोपीः

कानेटोपी प्रायश साना बालवालिकाहरुलाई लगाई दिने टोपी हो । कानलाई छोप्ने या ढाक्ने गरी बनाइएको हुनाले यसलाई काने टोपी भनिएको हो । वालवालिकाहरुलाई चिशोबाट बचाउनका लागि बाक्लो र न्यानो कपडाबाट तयार गरिन्छ । भित्रीहालेर दुई पत्रमा बनाइने हुनाले यो न्यानो हुन्छ । शिशूहरुलाई ढाकाको कानेटोपी लगाइ दिएको शहरमा देखिन्छ भने गाउँमा अरुनै न्याना कपडाहरुबाट बनेका कानेटोपीहरु लगाएको पाइन्छ । केही बर्षदेखि ऊन (Wool) बाट बनेको काने टोपीको प्रयोग प्रौढहरुले पनि जाडो याममा गरेको पाइन्छ । टाउको देखि घाँटी र कान सम्म ढाक्ने र चिउँडोको तल दुई तर्फबाट झरेका तुना बाँधिन्छ । जसले गर्दा टोपी झर्न पाउँदैन भने हावा पनि टोपी भित्र छिर्न सक्दैन ।

२. माक्कले टोपीः

यस टोपीलाई ढेडु टोपी पनि भनिन्छ । कति मानिसहरुले मङकीक्याप समेत भनेको सुनिन्छ ।यसले टाउकाको पुरैभाग निधार ,कान देखि घाँटी सम्मको भाग ढाक्दछ । सबै तिर ढाकेर अगाडि मुख मात्रै देखिने भएको हुनाले यसलाइ माक्कले टोपी या ढेडुटोपी भनिएको हो । ढेडुको टाउकोको सबै भाग शरिर जस्तै कमेरे रंगको भए पनि मुख चाँही कालो हुन्छ । यो टोपी लगाए पछी ढेडुको टाउको जस्तै देखिने हुनाले ढेडुटोपी भनिएको हो । यसलाई ऊनबाट बनाइने भएको हुनाले धेरै तातो हुन्छ । जाडो महिनामा प्रायश प्रौढ पुरुस र महिलाहरुले समेत लगाउने गरेको पाइन्छ । यसलाई खराब नियत भएका मानिसहरुले समेत पहिचान लुकाएर अपराध गर्न प्रयोग गरेको भेटिन्छ ।

३. बिर्केटोपी,

यो बिर्केटोपी वरिपरि एउटा घेरा भएको र घेरा माथि अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ । यसको विचभागमा एउटा डल्लो समेत हुन्छ । कुनै भाँडाहरुको विर्कोको आकारमा भएको हुनाले यसलाई बिर्केटोपी भनिएको हुन सक्दछ । यसलाई आदिकवि
भानुभक्त आचार्य र यूवाकवि मोतिराम भट्टले लगाएको देखिन्छ । भारतको हिमान्चल र गडवाल तर्फ पनि यस्तै आकारको टोपी लगाएको पाइन्छ । यो बाक्लो ऊनीकपडाबाट तयार भएको पाइन्छ । तर हिमान्चल र गडवालमा प्रयोग हुने टोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो हाम्रो बिर्के टोपी भन्दा अग्लो पनि हुन्छ । बिर्केटोपीलाई साहित्यकर्मीहरुले भानुजयन्ती र मोतिजयन्ती जस्ता समारोहहरुमा लगाएको देखिन्छ ।

४. भादगाउँले टोपी,

भादगाउँ भक्तपुरको पुरानो नाउँ हो । यही भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले यो गाँउको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको हो । दुईइन्च देखि चारइन्च सम्म टोपीको उचाइ हुन्छ । कालो गोलाकार माथि तीनकुने ढकनी लागाइ टोपी तयार गरिन्छ । यसलाई तयार गर्दा दह्रो बनोस भनेर सिलाई सके पछी माडमा पकार तयार गरिन्छ । गाढाकालो बनाउनका लागि बिशेस रंगको पनि प्रयोग गर्ने चलनछ । खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरुले राष्ट्रपोशाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ । राष्ट्रवादी राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रपोशाकको प्रचलन शुरुगरे पछी यसको प्रयोगले व्यापकता पाएको देखिन्छ ।

५. पाल्पाली ढाका टोपीः

पाल्पामा बुनिएको ढाकाबाट तयार गरिएको टोपीभएको हुनाले पाल्पाली ढाका टोपी नामाकरण भएको हो । तीन चार इन्च जति गोलो बनाइ सिलाइएको ढाकामाथि तीनकुने आकारको अर्को टुक्रा राखी यो टोपी तयार गरीन्छ । यो टोपीलाई सम्म भाग भएको टेवलमाथि राखेर हेर्नु होस । यसले हिमालका चुचुराहरु र पहाडका टाकुराहरुको आकार ग्रहण गर्दछ । भित्रि सादा कपडा र बाहिर बिभिन्न बुट्टा भएको पाल्पामा बुन्न शुरुवात भएको कपडाबाट तयार भएको हुनाले पाल्पाली ढकाटोपी भनिएको हो ।

६. तेह्रथुमे ढाका टोपीः

भारतमा अंग्रेजलहरुले शासन गरेको समयमा नेपाल प्रति पनि अंग्रेजको गिद्धे दृष्ट्री पर्यो । फलस्वरुप नालापानी, किल्ला र काङगडाका युद्धहरु भए । बहादुर गोरखालीहरुको नाङ्गो खुँडा ,खुकुरी ,तरवार र भाला, धनुकाँड ,घुँयत्रो बोक्नेहरु सँग , अंग्रेजका बन्दुक र तोपले हारखानु पर्यो । यसरी नेपालीहरुको विरता र शाहस सँग अंग्रेज परिचित भयो । त्यस बेलादेखिनै नेपालीहरुलाई भारतिय सेनामा भर्ना गर्ने र नेपालीहरुको शाहस र बहादुरीलाई उपयोग गर्ने अंग्रेजले नीतिलियो । पूर्वि नेपालका बिभिन्न ठाउँहरुबाट अंग्रेजका सेनामा नेपाली यूवाहरु भर्ना भए । कालान्तरमा भारतमा अंग्रेज बिरोधी युद्ध बढ्दै गयो । माहात्मा गान्धिले चर्खा आन्दोलन चलाए । घर घरमा चर्खा चलाएर धागो बाट्ने अनि खादी कपडा बुन्ने अभियान चलाए । यसैको प्रभाबबाट तीनै लाहुरेहरु मार्फत नेपालमा पनि चर्खा ऐंटो र कपास खेतीले प्रवेश पायो । ती लाहुरेहरुबाट भित्र्याइएको कपास खेती निकै लोक पृय हुँदै तेह्रथुम ताप्लेजुङ पाँचथर इलाम संखुवासभा भोजभुर जस्ता पहाडि जिल्लामा फैलियो । तेह्रथुम जील्लामा बहुसंख्यक रुपमा लिम्बुजातीको बसोवास रहेको छ । ती जातिबाट कपास खेती गर्ने । कपासलाइ टिप्ने ऐंटिने । चर्खाको प्रयोगबाट प्यूरी र धागो बनाउने र खाँडी कपडा बुन्नेकामको शुरुवात भयो । राजा महेन्द्रको शासनकालमा दौरासुरुवाल र टोपीलाई कर्मचारीहरुमा तथा सांसदहरुला अनिवार्य राष्ट्रपोशाकको रुपमा लागू गरियो । यस समय सम्म कमरुपमा मात्रै उत्पादन हुने गरेको तेह्रथुमे ढाका टोपीले व्यापकता पायो । आसपासका भेगमा पनि यसको प्रभाव पर्यो । खाँडी कपडाका दौरासुरुवाल र ढाका टोपीको अत्यधिक माग हुन थाल्यो । सरकारी प्रयोजनमा प्रयोग हुने फोटोमा अनिवार्य टोपीको व्यबस्ता भयो । चाड पर्व जस्तो दसैं तिहारमा टोपीको उपहार दिने चलन शुरुभयो । तेह्रथुमे ढाका टोपी चार देखि छ इन्च उचाइ सम्मको पाइन्छ । बिभिन्न रंग र आकारका बुट्टा राखेर हातले टोपी बुनिन्छ । यसको आकार पनि पाल्पाली ढाका टोपीको जस्तै हिमालका चुचुरा र पहाडका टाकुराहरुलाई बिम्वित गर्दछ ।

७. छत्रे टोपीः

यो टोपी छाताका रुपमा टाउकाको वरिपरि रहेर पानी र घामबाट जोगाउन प्रयोग गरिन्छ । खेतबारीमा काम गर्दा हातले समाती रहनु नपरोस भनेर दुई तर्फ डोरी निकाली चिंउडोमुनी बाँध्ने गरिन्छ । यो छत्रेटोपी पाट पात र चोयाहरुबाट बनाइने गरिन्छ । हाल यसलाई कपडाबाट बनाउने गरिन्छ । यो छाता जस्तै वरीपरि हुने टोपी हुनाले छत्रे टोपी भनिएको हो ।

हुन त गाउँ घरहरुमा सबैले ढाका टोपी र भादगाउँले टोपी लगाउन सक्ने स्थिति अझै भएको छैन । तर अरु नै कपडाबाट टोपीहरु सिलाएर लगाएकै हुन्छन । ती टोपीहरु राता पँहेला काला धर्के बुट्टे आदि बिभिन्न रंगका हुन्छन् । आफन्तको वियोगमा बर्ष दिन सम्म सेतो टोपीलगाएर दुख प्रकट गर्ने प्रचलन अझै कायम छ ।

टोपीको महत्वः

नेपालीहरुका लागि टोपीले विशिष्ट स्थान लिएको छ । परंपरालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझ्ने चलन थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्रदिन सम्म काजक्रिया गर्ने र बर्ष दिन सम्म शोक बार्ने चलन यधपी छ । काचक्रिया गरेको समयमा सेतो कपडालेमात्र टाउको ढाक्ने चलन छ । यसरी आफ्ना श्रद्धेय र पृयहरुको सम्मान र दुख व्यक्त गर्ने प्रतिक टोपी हो । राजा महाराजाहरुको शोकमा पनि कपाल खौरने र टोपी झिक्ने प्रचलन थियो । कोही मानिसका आफन्त रहेनछन् र मृत्यु भयो भने बिचराको टोपी झिक्ने कोही रहेनछन् भन्ने चलन छ । पंचायतकालमा सिंहदरवार भित्र प्रवेश गर्न टोपी अनिवार्य थियो । नेपाली नागरिकता पासपोर्ट परिचय पत्रहरुमा टोपी अनिवार्य छ ।

टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्वित गर्दछ । टोपीले हिमालका चुचुराहरु त्यस्तै गरी पहाडका टाकुराहरुको आकार दर्शाउँछ । निधारमाथि बस्ने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ । यो भूगोलको उच्च हिमालको प्रतिक हो हाम्रो टोपी । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझैं चार जात र छतिस बर्णको फूलवारी नेपाल हो भने टोपी सबै फूलहरुलाई एउटै मालामा गुथ्न सफल धागो हो । के जात ,धर्म, सम्प्रदाय टोपी सबैको पृयहो । टोपी नेपालीको गौरब हो शान हो । एकताको प्रतिक हो टोपी । साँस्कृतिक सम्पदाहो टोपी । सन्सारको जुन सुकै ठाउँमा रहेका नेपालीहरु बिचको आत्मियभाव हो टोपी । दशैंको टिकाथाप्न र आशिर्वाद लिन टोपी अपरिहार्य छ । टिका लगाइ सके पछी कानमाथि जमरा सिउरने हो टोपी ।  मन्दिरलाई गजुरले शोभायमान बनाए झै मानिसको व्यक्तित्व टोपीले बढाउँछ ।

नेपालमा गणतन्त्र र लोकतन्त्रको आगमन सँगै नेपालीहरुमा राष्ट्र राष्ट्रियता प्रतिको अगाध स्नेह र सम्मान बढेर गएको छ । अब त के नारी के पुरुष सबैले नेपाली टोपीलाई पहिचानको प्रतिक बनाएका छन । सगरमाथाको प्रतिकका रुपमा नेपाली टोपीलगाउन शुरु गरिसकेका छन् । २०१४ मा भएको विनाशकारी भूकम्प र २०१५ मा भएको भारतिय नाकाबन्दीले नेपालीहरुलाई फेरि एकहुन प्रेरित गरेको छ । आफ्नो अस्तित्व र पहिचानका लागि अरुले हैन आफैलाग्नु पर्दछ । आफैं जाग्नु पर्छ भन्ने भावना विकाश गराएकोछ । चार्लस डार्विनले भनेझै अस्तित्व र पहिचान जोगाइ राख्नका लागि संघर्ष गर्नु पर्दछ । जसले सक्दैन त्यो लोप भएर जान्छ । यो कुरा सबै नेपालीहरुले मनन गरी सकेका छन । मुलुकमा विपति पर्दा संसार भरीका नेपालीहरुलाई पिडा हुन्छ । सहयोगाका हात र भावनाहरु लिएर गाउँ गाउँमा पुग्छन् । परदेशमा पनि कुनै विपति पर्यो भने सबै सहयोगी मनहरु त्यहाँ पुग्न थालिसकेका छन ।

टोपी दिवशको थालनी भएको करिब एक दशक पुग्न तर्खर हुँदै गर्दा सन्सार भरी टोपी दिवस मनाउन थालिएको छ । एकै दिन विश्वनै नेपाली टोपीमय बन्न थालेको छ । यसले नेपाली नेपाली विचमा आत्मियता मातृभूमि प्रतिको दायित्वबोध मात्रै गराएको छैन। नेपाल र नेपालीको पहिचान सँगै सभ्यता र संस्कृतिलाई विश्वव्यापी बनाउँदै लगेको छ । अब नेपाल सरकारले राष्ट्रपोशाक दिवसको दिन घोषणा गरोस । र सन्सार भरी रहेका नेपालीहरुलाई एकतामा जोड्ने काम गरोस । सन्सार भर रहनु हुने नेपालीहरुले जनवरी एकलाई भव्यरुपमा नेपाली टोपी दिवसका रुपमा मनाउन हुनेछ । हामीले प्लेकार्डहरुमा नाराहरुलाई लेखेर हाम्रो भावनालाई प्रस्तुत गर्न सक्दछौ ।
टोपी हाम्रो शान हो ।

टोपी नेपालीको पहिचान हो । सगरमाथा नेपालीको शान हो । सगरमाथा हाम्रो पहिचान हो । टोपी लगाऔ राष्ट्र प्रति सम्मान जनाऔ । हाम्रो शान हाम्रो मान नेपाली टोपी हाम्रो पहिचान । राष्ट्रिय पोशाक लगाऔ नेपाली राष्ट्रियता जोगाऔ ।
जनवरी १ ,२०१९ को टोपी दिबशले सन्सार भरका नेपालीहरुलाई मन बचन र कर्मले एकता गराओस । सुख शान्ति र संबृध्दीले सबै नेपालीहरुलाई पूर्ण गराओस भन्ने हार्दिक शुभकामना चढाउँछु ।

प्रतिक्रिया