कोमल गजल:-

इनेप्लिज २०७५ पुष ५ गते ११:१० मा प्रकाशित
बने देश सर्वत्र उल्लास हुन्थ्यो
सधैँ हर्षको मात्र आभास हुन्थ्यो
खनिन्थ्यो निकै स्नेह नेतृत्वमाथि
सबैको भरोषा र विश्वास हुन्थ्यो
न जान्थ्यो कुनै देशवासी विदेश
न बेरोजगारी हुने त्रास हुन्थ्यो
बहन्थे यहाँ सिर्जना निर्झरा झैँ
सफा स्वच्छ सद्भावको आस हुन्थ्यो
भुलिन्थ्यो व्यथा,दर्द,सन्ताप सारा
खुदै जिन्दगी स्वस्थ बिन्दास हुन्थ्यो
खुसी छर्दथे रोज डाँफे मुनाल
सदासर्वदा हर्षको मास हुन्थ्यो
हराएर जान्थे दुखेसा तमाम
हमेशा मनोहारिता पास हुन्थ्यो
दुराचार पुग्थे सयौँ कोस टाढा
नियाँ पारदर्शी,खरोखास हुन्थ्यो
सदाचारले चुम्दथे उच्च शैल
दुखीमाथि माया अनायास हुन्थ्यो
कतै हुन्नथ्यो जालसाजी,फरेव
सबै ठाउँमा शान्तिको बास हुन्थ्यो
न लड्थे कुनै बन्धु विद्वेष राखी
मिलेको छ जे जे उही तास हुन्थ्यो
युवा जुट्दथे काममा वैर त्यागी
विकाशी कुरामा निकै चास हुन्थ्यो
जरा हाल्दथे धर्म,निष्ठा,इमान
खुराफात चाँडै परीहास हुन्थ्यो
सकिन्थे दुरालाप,दुर्भाव सारा
दुराचार हट्थे खुला सास हुन्थ्यो
(भुजङ्गप्रयात छन्द )
-कोमल भट्ट
पुरानो नैकाप-१३ ,काठमाडौँ
हाल:-न्युयोर्क

प्रतिक्रिया