अनेसास बिओटीको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न, गीता खत्री अध्यक्ष निर्वाचित

इनेप्लिज २०७५ पुष ४ गते २३:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन हिजो सम्पन्न भएको छ । आज इनेपलिजलाई प्राप्त परिणाम अनुसार अध्यक्षमा गीता खत्री, उपाध्यक्षमा पदम विश्वकर्मा (४० मत) र पुरु सुवेदी (३२ मत), सचिवमा शिव लामिछाने, कोषाध्यक्षमा राम लामा ‘अविनासी’, पुरस्कार समिति अध्यक्षमा डा गोपी उप्रेती तथा सदस्यमा तीर्थराज अधिकारी निर्वाचित हुनुभएको छ ।

हरेक चार वर्षका लागि हुने कार्यसमितिको निर्वाचनमा दुई जना उपाध्यक्ष पदका लागि मात्र निर्वाचन भएको थियो भने अध्यक्ष लगायतका बाँकी पदका लागि उम्मेदवारहरुको चयन निर्विरोध भएको थियो । उपाध्यक्ष पदका तेस्रा प्रत्यासी वलराम थापाले २३ मत प्राप्त गर्नुभएको थियो ।

अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो । निर्वाचनका लागि मतदानको समय यही डिसेम्बर १५ देखि १८ सम्म राखिएको थियो ।

नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुका बीच नेपाली भाषासाहित्यको विकासविस्तार गरी नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सी मा भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।

अनेसासको इतिहास करीब तीन दशक पुरानो हुनुका साथै अनेकन देशमा धेरै शाखामा विस्तार भइसक्दा पनि केन्द्रीय कार्यालय भवन नभएको अवस्थामा यस कार्यसमितिले अनेसासको केन्द्रीय कार्यालय भवन आगामी दुई वर्षभित्रमा अमेरिकामा खरिद गरिसक्ने योजना रहेको कुरा नवनिर्वाचित अध्यक्ष गीता खत्रीले इनेपलिजलाई बताउनुभयो ।

साथै वहाँले अनेसासले हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य रहेको बताउनुभयो । कुराकानीका क्रममा अध्यक्ष खत्रीले निर्वाचनलाई सहज र सौहार्द्रपूर्ण बनाउन भूमिका निर्वाह गरेकामा वर्तमान अध्यक्ष डा श्याम कार्की, उपाध्यक्ष रोहिणी शर्मा, सचिव शिव लामिछाने, पुरस्कार समिति अध्यक्ष सीता पाण्डे, पूर्व केन्द्रीय अध्यक्ष पुरु सुवेदी र पदम विश्वकर्मा, पूर्व केन्द्रीय महासचिव गोवर्धन पूजालगायतलाई आभार व्यक्त गर्नुभयो । साथै वहाँले अनेसासलाई सधैँ माया गर्ने भीम कार्कीले प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्दै सफल रुपमा निर्वाचन सम्पन्न गराउनुभएकामा कार्की र समितिका सदस्यहरु तीर्थराज पाण्डे तथा वेदराज बस्नेतलाई पनि धन्यवाद व्यक्त गर्नुभयो ।

अनेसासले विभिन्न च्याप्टरहरुमा नेपाली बालबालिकाका लागि नेपाली भाषा पाठशाला सञ्चालनमा ल्याएको छ भने यसको विस्तार गर्ने उद्देश्यसहित नेपाली पाठ्यक्रम समेत तयार गरिसकेको जानकारी बिओटीमा दोस्रो कार्यकालका लागिसमेत निर्विरोध निर्वाचित सचिव शिव लामिछानेले इनेपलिजलाई बताउनुभयो । सचिव लामिछानेका अनुसार अनेसासको वेभसाइटलाई अरु सूचनामूलक र पठनीय बनाउने योजना पनि यस कार्यसमितिले तयार गरेको बताउनुभयो ।

अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ । बिओटीले अनेसास केन्द्रीय कार्यसमितिसित अनुगमनकारी भूमिकाका साथ सहकार्य गर्ने कुरा नवनिर्वाचित अध्यक्ष गीता खत्रीले जानकारी दिनुभयो । साथै वहाँले केन्द्रमार्फत च्याप्टरहरुसमक्ष पुगी च्याप्टरलाई थप सक्रिय बनाउन निरन्तर लागिरहने साथै बिओटीले अन्य नेपाली संस्थाहरुसित सुमधुर सम्बन्ध विस्तार गर्ने जानकारी गराउनुभयो ।

अनेसासको विधानअनुसार एक हजार अमेरिकी डलर चुक्ता गरेपछि नेपाली भाषासाहित्यलाई माया गर्ने व्यक्तिले बिओटीको सदस्य बन्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया