पत्नीलाई बलात्कार गर्ने पति पक्राउ

सञ्जय साह मित्र २०७५ पुष ३ गते ११:२५ मा प्रकाशित

रौतहट पत्नीलाई बलात्कार गरेको आरोपमा पति पक्राउ परेका छन् । घटना रौतहटको चन्द्रपुर नगरपालिका हो ।आफ्नो इच्छाविपरीत गत मंसिर २८ गते राती आफ्नो पतिले जबरजस्ती करणी गरेको आरोप लगाउँदै चन्द्रपुर नपा ५ की ३३ वर्षीया एक महिलाले आफ्नै पतिविरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रपुरमा उजुरी दर्ता गराएपछि पति पक्राउ परेका हुन् । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गरी आफूलाई जबरजस्ती करणी गर्ने गरेकाले आफूले बाध्य भएर कानुनी बाटो खोज्नु परेको उजुरी दर्ता गराउने महिलाको दाबी रहेको छ ।

पत्नीलाई बलात्कार गर्ने पतिलाई इप्रका चन्द्रपुरले पक्राउ गरेको छ । पक्राउ गरेका पतिलाई रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपि युवराज खड्काले जानकारी गराएका छन् ।

गत भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ मा वैवाहिक सम्बन्धमा इच्छाविपरीत करणी गरेमा जबरजस्ती करणीको आरोप लाग्ने र वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई बजरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद सजय हुने व्यवस्था छ । वैवाहिक बलात्कारको घटनामा पत्नीले पतिविरुद्ध औपचारिक रुपमै मुदा दिएको रौतहटमा सम्भवतः पहिलो घटनाको रुपमा लिइएको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया