मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:०२
वासिङटन डिसी 03:17

आमाको पीडाले आँखै रसायो (हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ मंसिर २८ गते ११:४६ मा प्रकाशित

४० वर्ष अगाडि पाँचथरको मौवाबाट मधेसको भात खान ३ छोरा र १ छोरीसहित कुम्लो कुटुरो बोकेर झरेकी मिक्लाजुङ– ६ कि सनमाया महरा अहिले ७८ वर्ष
पुगिन् ।चाउरिएको अनुहारका कैयन रेखाहरू,आफ्नै जीवन नियालिरहेका आँखा, बाँसका टाटीले घेरिएको सानो छाप्रो, मंसिर तेस्रो साताको चुरे फेदीको सिरेटो र जस्ताबाट चुहिने शीतका थोपा ओडेर रात गुजारेकी छिन् । उनी दुःखका पहाडले पटक–पटक थिचिएकी छन् । कैयन बज्रपात सहेकी छिन् । ४ जना छोरा, १ छोरीकी आमा उनको श्रीमान् ५४ सालतिरै स्वर्गवास भए ।

जेठो छोरा जन्मथलोमा अहिले पनि छँदै छन् । साइँलो छोरा पैसा कमाउन आसामको कोइला खाँद गएको अहिलेसम्म खोजीखबर छैन । माइलो छोराको क्यान्सरका कारण गत कात्तिमा मृत्यु भयो । साथमा रहेको कान्छो छोराले गत साउनमा आत्महत्या ग¥यो । कान्छी बुहारी अर्कैसँग विवाह गरेर गएपछि कान्छो छोरा लोकिन्द्रले आत्महत्या गरेको उनी बताउँछिन् । कान्छो छोराका दुई सन्तानको रूपमा रहेका १४ वर्षे आयुस महरा, आह्वान महरा र मानसिक सन्तुलन गुमाएकी ३८ वर्षे छोरी देवीमाया पालेर बस्नुपर्ने ७८ वर्षे सनमायाको बाध्यता बनेको छ । वषौदेखि चारैतिर जंगलले घेरिएको झोडामा बसोबास गर्दै आएकी वृद्धा सनमायाको जस्ताले छाएको घर कहिलेकाहीँ हात्तीले भत्काइदिन्छ ।आफू बिरामी पर्दा छिमेकी पूर्वमाया लिम्बू, विनोद दर्नाल लगायतले औषधि पानीको बन्दोबस्त गरिदिन्छन् । छिमेकी दिलबहादुर रुचालका अनुसार भूमिहीन सनमाया वृद्ध र अशक्त भएको छिमेकीहरूको दयामायामा आफू र छोरी, नातिहरूसँगै कष्टकर जीवन बाँचिरहेकी छिन् ।

गरिबीले गर्दा कक्षा ८ मा पढ्दै गरेका ठूलो नातिले स्कुल जान छाडेर मुढा (काठ) पल्टाउने काम गर्न थालेका छन् । कक्षा ६ मा पढ्दै गरेका कान्छा नाति आह्वान पनि नियमित स्कुल जान सकिरहेका छैनन् । सम्पत्ति नाममाटाटीले बेरेको छाप्रो र एउटा माउ कुखुरो राजनीतिक दलका नेता तथा मन्त्रीहरू समाजवादी राज्य व्यवस्था ल्याउँछु भनिरहेका छन् । पर्चा र पोष्टरमा नयाँ युगको आह्वान पनि भइरहेकै छ । तर, सनमायाको घरमा नयाँ युग कहिले आउने हो प्रश्न अनुत्तरित नै छ । खाना बनाएर खाने सामाग्री छैन, मकैका झुत्ता घरमा झुण्ड्याइएको भए पनि खानका लागि उनीसँग दाँत छैनन् । पिँध्नका लागि जाँतो छैन । छोडाउन हात लाग्दैन । सानो एउटा खाटमा दुई तीनवटा तन्ना र बर्कोको सहारामा चिसो रात कटाउनुपर्ने उनको बाध्यता छ । सम्पत्तिको नाममा त्यही बाँसको टाटीले बेरेको एउटा छाप्रो र एउटा कुखुराको माउ छ ।

‘के गर्नु दुःखी कर्म रहेछ सबैले छोडेर गए जसोतसो बाँचिरहेकी छु,’ उनले भनिन्, ‘छोरीलाई कहिलेकाहीँ बाँधेर राख्नुपर्छ, नातिहरूलाई जसोतसो स्कुल जाऊ भनिरहेको छु ।’ राज्यले उनीजस्ता ज्येष्ठ नागरिकलाई संरक्षण गर्न र विचल्लीमा परेका बालबालिकाको शिक्षा दिक्षाको ग्यारेण्टी गर्न कानुनहरू थुप्रै बनाएको छ । तर उनका लागि ति कथा जस्तैलाग्छन् । ‘मासिक भत्ता चाहिँ घरैमा ल्याइदिन्छन्, त्यसबाहेक केही सहयोग भएको छैन,’ भक्कानिँदै उनी भन्छिन्, ‘तपाईंहरूले सहयोग गर्नुभयो, भगवानले दया गरून् ।’ दुःखमा भगवान सम्झने उनलाई भगवानले भने सम्झिएको कहिल्यै देखिएन ।

प्रतिक्रिया