यहाँ सुन्छ कस्ले दुखेको कहानी
दुखेरै विलाए कयौँ जिन्दगानी
हजारौँ पीडा छन् गुनासा हजारौँ
बनेको छ आशा भरोषा खरानी
गुम्यो कामयाबी गुमे सीप सज्जा
भयो झल्झली आज मीठो जवानी
भए हर्ष,उल्लास,आनन्द टाढा
कुदेको छु झेल्दै कडा घामपानी
पर्यो दृष्टि कालो महा दुर्दशाको
सुके फूल सारा सुक्यो वागवानी
न पाएँ किनारा न सामीप्य नाउ
भुलेको छु बाटो हुँदा अल्पज्ञानी
भएँ जीर्ण थेगेर चर्को प्रहार
टुट्यो काँच झैँ देहको राजधानी
सुलुक्कै निले रोजका वाध्यताले
सधैँ खोज्छु उन्मूक्तिको राहदानी
छँदै छैन एकै अवस्था धरामा
कतै देख्छु पीडा कतै मेजमानी
(भुजङ्गप्रयात छन्द)
-कोमल भट्ट
च.न.पा -१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
प्रतिक्रिया