गाभाको विश्वयात्रा

गोविन्द गिरी प्रेरणा २०७५ मंसिर २१ गते २०:४६ मा प्रकाशित

कहिलेकाहीं विचित्रका घटनाहरु आइपर्छन् मान्छेको जिन्दगीमा र त्यस्ता घटनाहरु सम्झनामा आइरहन्छन् । कति मिठा घटनाहरु हुन्छन्, कति तीता त कति अनौठा । रमाइला । गाभाको विषयमा पनि त्यस्तै भयो ।

सुनिल पुरी सुनित नेपाली साहित्यमा विशेष गरी कविता विधामा कलम चलाउने सर्जक हुन् । यिनको रचनाशिलता निरन्तर छ । वग्रेल्ती पनि लेख्दैनन् । भीषण चर्चा परिचर्चा पनि हुँदैन । तर निरन्तर लागेका छन् सिर्जनामा । उनको निरन्तरता नै उनको खास परिचय हो भन्ने लाग्छ मलाई ।

छोटो कद । सधैं ओठमा मुस्कान । मिलेको जुँगा । सुनिलको वाहिरी रुप यति नै हो सवले देख्ने, सम्झने । यिनले २०७२ सालमा यौटा नयाँ काम गरे, फरक काम । त्यो थियो गाभा को प्रकाशन । कुनै सर्जकको कुनै कृति निस्कनु सामान्य घटना नै हो साहित्य जगतमा । तर यो फरक थियो भिन्न थियो । चर्चाका लागि विषय थियो । काम थियो ।

त्यो थियो गाभाको रुप र स्वरुप ।

गाभा निस्केदेखि नै सामाजिक सञ्जालमा चर्चा भयो, यसको आकारले गर्दा । ६४ पृष्ठको मुट्ठीभित्र अटाउने साइजमा पुस्तक प्रकाशन भए पछि यसको रुपले चर्चा पायो ।

सम्भवत यो नेपाली साहित्यकै सानो साइजको किताव हो भन्ने चर्चा नै मूल चर्चाको विषय रह्यो । म अमेरिका छँदै यो पुस्ततको चर्चा चुलिएको थियो र म यो पुस्तक हेर्न, पढ्न चाहन्थें । संयोगवस २०७२ सालमै मैले नेपाल जाने कार्यक्रम वनाएँ । अनि सुनिलसँग उनकै निवास पुल्चोकमा भेटघाट गरें । उनले निकै जतनकासाथ त्यो पुस्तक दिंदै भने, यो सानो पुस्तक छ । साह््रै सानो । हराउला राम्रोसँग अमेरिका लैजानोस् है ।

मैले सहर्ष सो पुस्तक ग्रहण गरें र भनें, अवश्य म जतनकासाथ अमेरिका पु्र्याउँछु ।

भनें मात्र होइन, भने अनुसार मैले अमेरिका ल्याएँ र आफ्नो नीजि पुस्तकालयमा जतनकासाथ राखें । यस्तो जतन गरेछु कि नहराओस् भनेर राखेको, तर मैले कहाँ राखें सो ठाउँ नै विर्सिएँ । गाभा हराएको थिएन, गाभा राखेको ठाउँ हराएको थियो । लौ फसाद । फूर्सतमा पढौंला भनेको थिएँ, पढ्न पनि पाएको थिईंन, गाभा होइन गाभा राखेको ठाउँ पो हरायो ।

वेलावेलामा खोज्थें, पाउन्नथें । गर्ने के ? नेपाल जाँदा छ भने अर्काे प्रति मागौंला सुनिलसँग भनेर चित्त वुझाउँथें । तर अचानक पाइयो । ल अव पढ्नु पर्छ एकदिन भनेर झन् मेहनतकासाथ जतन गरेर राखें । अव पढ्छु भनेर हेर्छु त राखेको ठाउँ नै गायव । गाभा हराएको होइन, गाभा राखेको ठाउँ हराएको छ । धत्तेरी भनेर चित्त वुझाउनुको अरु कुनै विकल्प थिएन ।

गएको मे महिनामा नेपाल जानुअघि मनासस शहरवाटवाट फल्स चर्च शहरमा घर सर्ने क्रममा फुत्रुक्क देखा पर्यो गाभा । च्याप्पै समातें र अव गाभा पनि नहराओस्, गाभा राखेको ठाउँ पनि नहराओस् भनेर राख्ने ठाउँ खोज्न थालें । मेरो छैठौं इन्द्रियले गजवको सुझाव दियो । पर्समा राख्ने । पर्स त सधैं साथै हुन्छ । आकार प्रकारमा सानो र हलुँगो भएकाले गह््रुँगो पनि नहुने, अटाउन पनि मज्जाले अटाउने तथा जतन पनि उच्च शतर्कताकासाथ उच्च प्राथमिकतामै हुने । परिचयपत्र कार्ड राख्ने छेउमा राखें । यो सवैभन्दा महत्वको ठाउँ हो । अमेरिकामा परिचयपत्र कति महत्वको छ, कुनै व्याख्या विश्लेषण गरिरहनु पर्ने कुरा भएन ।
सन् २०१८ को मेमा मैले साँढे तीन महिनाको यात्राका लागि प्रस्थान गरें । मसँगै गाभाले पनि पर्समा विराजमान भएर प्रस्थान गर्यो ।

मेरो यात्रा वाशिंटन डिसीवाट अवुधावी हुँदै भारत भएर नेपाल पुग्ने थियो । वाशिंटन डिसीवाट विमान अवुधावी पुग्यो । गाभा पनि अमेरिकावाट अवुधावी पुग्यो । त्यहाँवाट म दिल्ली, मसूरी, देहरादून, वृन्दावन पुगें । गाभा पनि मेरो पर्समा वसेर ती ती ठाउँ पुग्यो । काठमाडौं आएँ । काठमाडौंवाट मुगलिंगको वाटो हुँदै पोखरा, पोखरावाट नारायणघाट भरतपुर हुँदै हेटौंडा पुगें । गाभा मेरो साथमै थियो । त्यसपछि काठमाडौं फर्किएँ ।

काठमाडौंवाट म एक हप्ताका लागि जापान भ्रमणमा निस्किएँ । जापानको टोकियोको सेरोफेरो पनि गाभाले मसँग चक्कर लगायो । म हिरोशिमा पुगें, अणुवमले विश्वयुद्धमा क्षतविक्षत शहर । गाभा पनि पुग्यो । जापानवाट फर्कंदा सिंगापुर पनि घुम्ने चान्स पाइयो । त्यो चान्स गाभाले पनि पायो । गाभा त मेरो पर्समा विराजमान भएर मैसँग यात्रा गर्दै थियो ।

साँढे तीन महिनाको भारत, नेपाल र जापानको यात्रा सकेर अमेरिका फर्किएँ, कर्मभूमि । गाभा पनि फर्कियो । यसरी गाभाले जापानदखि अमेरिका र वीचका कैयन राष्ट्र« पुगेर एक किसिमको विश्व यात्रा नै गर्यो । तर अचम्म यत्रो लामो यात्राको वीचमा पनि मैले गाभा आद्योपान्त पढ्ने साइत जुराउन सकिंन । नेपाल वसाईको क्रममा सुनिल पुरी सुनित, किशोर पहाडी र म एक विहान हिप ट्र«ान्सप्लाण्ट गरेर घरमा स्वास्थ्यलाभ गरेर वसेका कवि दिनेश अधिकारी भेट्न गयौं साथै । गाभाको पनि चर्चा त चल्यो तर विस्तृत अरु कुरा भएन ।

अमेरिका फर्केपछि यो साह्रै भएन, अव त पढ्नु पर्यो र लागेको लेख्नु पर्यो् भनेर लेख्ने टेवुलमा राखेर चियाको चुस्की लगाउँदै थिएँ, पुण्टे पुच्छर हल्लाउँदै आयो र टेवुलमा सुँसुँ गर्दै थियो, केही चपाउन थाल्यो सोफामा वसेर । यसो हेर्दछु, टेवुलवाट गाभा गायव छ । हत्त न पत्त पुण्टेको मुख च्यातेर हेर्दछु त गाभा दाँतले च्यापेर वसेको । मैले जवरजस्ती पुण्टेको मुखवाट खोसेर निकालें गाभा । एकाध पल्ट दाँतले रगड्ने प्रयास गरिसकेको रहेछ । अलिकति त्यसको र्यालले भिजि पनि सकेछ । मैले त्यसलाई जतन गरी पल्टाएँ, पानाहरु सावुत नै रहेछन् ।

मलाई लाग्यो, गाभा कालको मुखमा पुगेर फर्कियो । वाँच्यो । अव पनि मैले पढिंन भने त मैले मलाई नै माफी गर्ने अवसर प्राप्त हुने छैन ।

हाइकु संग्रह हो गाभा, हाइकुमै समर्पण गरिएको छः
हाइकु जग
शंकर लामिछाने
यो समर्पण

नेपाली साहित्यमा हाइकुको प्रथम प्रयोक्ता शंकर लामिछाने हुन् र जापानी हाइकुलाई नेपाली साहित्यमा भित्र्याउने श्रेय उनैलाई जान्छ । त्यसैले हाइकुका आदि कविमा यो पुस्तक समर्पण गरेको वुझिन्छ ।

भूमिका लेखेका छन् राम कुमार पाण्डेले दृष्टि सृष्टि वृष्टि शिर्षकमा यि तीन शव्द सामेल गरी लेखेका ३ हाइकु ।

१,
हाइकु दृष्टि
भुई कुहिरो भित्र
सुनिल पुरी ।

२,
सुन्दर सृष्टि
छचल्कियो जून त्यो
जलका परी ।

३,
शव्दको वृष्टि
इन्द्रेणी तरँग
हाइकु पुरी ।

नेपाली साहित्यमा हाइकु औसत स्तरमा लेखिएका छन् । औसत भन्दा माथि उठ्न सकेको छैन । यी हाइकुहरु पनि त्यो औसत भित्रै पर्छ ।
वास्तवमा हाइकुको शैली तीन हरफमा पाँच सात पाँच अक्षर हुन् । नेपाली साहित्यका हाइकु कविहरुले यसलाई पालना त गरेका छन् तर पाँच सात पाँचको नियम पुर्याउन पाँच सात पाँचले दिने चोटिलो भाव, प्रतीक वा विम्ववाट पूरै वेखवर छन् अधिकाँश हाइकुहरु । पाँच सात पाँच वाहेक हाइकुको अर्काे आवश्यकता भनेको प्रकृति विम्व हो जसलाई जापानीहरु किगो भन्दछन् । उनीहरु हाइकु पढ्दा किगो खोज्छन् । कुन विम्वमा किगो छ, कुन प्रतीकमा किगो छ त्यसलाई नियाल्दछन् । प्रकृति ल्याउन त ल्याइएको छ नेपाली हाइकुमा तर अधिकाँशतः सोझै प्रकृति ल्याइने गरेको छ, प्रतीकका रुपमा होइन । विम्वका रुपमा होइन । यसले गर्दा नै नेपाली हाइकु औसतवाट माथि उठ्न नसकेको हो । सोझो पाँच सात पाँच शव्दले हाइकु वने पनि प्रभावकारी हाइकु भने वन्न सक्दैन ।

यसमा नेपाली हाइकु कविलाई मात्र दोष दिन सकिंदैन । जापानी भाषाका शव्दमा पाइने प्रकृति विम्वको भण्डार जुन छ, त्यो नेपाली भाषामा पर्याप्त नभएर पनि हुनसक्छ । शव्दको आकारको कारणले पनि हुन सक्छ ।
सुनिल पुरी सुनितका हाइकुका केही नमूना यस्ता छन्ः

फुल्दाफुल्दैमा
पारिजात झर्दै गो
मग्मग वास्ना ।

जँगलभित्र
वतास सुसाउँछ
हल्लियो पात ।

रानीपोखरी
घण्टाघरको छायाँ
वुढो समय ।

मैले गाभालाई वूँदागत रुपमा यसरी भन्न चाहेंः

१, यो हाइकु कविताको नेपालको लघुत्तम पुस्तक हो ।
२, समर्पण मूल विधा हाइकुवाटै गरिएको छ ।
३, भूमिका पनि मूल विधा हाइकु कवितावाटै लेखिएको छ ।
४, यो पुस्तकको मूल्य राखिएको छैन ।

गाभा नेपाली साहित्यमा आयो । यसको अस्तित्व साहित्यमा सुरक्षित छ । हाइकु कविताका कवि तथा हाइकुका पारखीहरुलाई यो सुन्दर उपहार हो ।

१५ नोभेम्वर २०१८
फल्स चर्च, भर्जिनिया
अमेरिका ।

प्रतिक्रिया