नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो |

इनेप्लिज २०७५ मंसिर १४ गते ११:४० मा प्रकाशित

एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–टू यू–ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वा्धिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार र शुक्रवार साँझ साढे ८ बजे प्रशारण हुँदै आएको नेपाल आइडल सिजन– टूमा विभिन्न जिल्लामा गरिएको अडिसनमा सहभागी हजारौँबाट छानिएका उत्कृष्ट ६ जना प्रतिस्पर्धी बाँकी छन् । शुक्रबारको एलिमिनेसनपछि टप फाइभ रहने छन् ।

प्रतियोगीको प्रस्तुति, कार्यक्रमको उत्पादन, व्यवस्थापन तथा दर्शकको भावना अनुसारका गीत संगीतको छनौटले नेपाल आइडलको लोकप्रियता बढेको कार्यक्रमका निर्देशक सुरेश पौडेलको ठम्याइ छ । ‘गत वर्षको अनुभवले हामीलाई आइडल थप राम्रो बनाउन हौसला मिलेको छ, आगामी दिनमा आइडललाई अझै दर्शकको मन जित्ने अविस्मरणीय श्रृङखला बनाउन हामी लागि रहने छौँ“, पौडेलले भने ।

नेपाल आइडलले अन्तर्रा्ष्ट्रियस्तरसम्म प्रभाव जमाउन व्यवस्थापन, कार्यक्रम उत्पादनमा सहभागी दक्ष सहकर्मी, बाध्यवाधन, स्टेज तथा लाइट व्यवस्थापन, क्यमरा व्यवस्थापनको सहयोगले नै सम्भव भएको निर्देशक पौडेलको भनाइ छ । नेपालमा एकै पटकमा टेलिभिजन हेर्ने दर्शकको संख्या जान्न कुनै संयन्त्र नभएकाले यूट्यूबका दर्शकको आधारमात्र मापन गर्न सकिने अवस्था छ । यूट्युब भ्यूको आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने नेपाली रियालीटी शोमा परिरहेको छ ।

प्रतिक्रिया