भौतिक पूर्वाधार मन्त्री महासेठ र पूर्वमन्त्री साहले एकै दिनमा गरे दुई पुलको शिलान्यास

सञ्जय साह मित्र २०७५ मंसिर ७ गते २२:४० मा प्रकाशित


संघीय सरकारको लगानीमा रौतहटमा एकै दिन दुई पुलको शिलान्यास गरिएको छ । रौतहटको गरुडा नगरपालिका र कटहरिया नगरपालिकामा एकै दिनमा दुई पुलको शिलान्यास गरिएको हो । गरुडाको चिनीमिलको उत्तरी छेउबाट पछिमतिर महम्मदपुरतिर जाडो बाटोको बीचमा पर्ने लमाहा नदी र कटहरिया नगरपालिकाको छेदी चौक तथा खतवहियाको बीचमा रहेको तरहरीमा गरी दुईवटा पुलको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र पूर्वमन्त्री माननीय साँसद प्रभु साहले संयुक्त रुपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा संघीय साँसद कल्याणी खड्का, समीना हुसैन, प्रदेश साँसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, नेकपाका नेता समीर भटराई, विभिन्न नगरपालिकाका उपमेयर तथा विभिन्न पार्टीका उच्च तहका नेताहरु, विभिन्न विभागका उच्च तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । गरुडाबाट महम्मदपुरको लागि बनेको सडकले सिधै दुधियाभारलाई जोडेको छ । नदीमा ह्युम पाइप राखेर सडकलाई तत्कालै संचालनमा ल्याइएको छ । लमाहा नदीमा बन्न लागेको पुलको कूल लागत १० करोड १४ लाख ८७ हजार ४०५ रुपैया २८ पैसा रहेको छ । यसैगरी तरहारी खोलाको पुलको लागत ८ करोड १६ लाख ३१ हजार ६२२ रुपैया ७८ पैसा रहेको छ । दुवै पुल २०७७ असोज ४ गतेसम्म निर्माण भइसक्नुपर्ने छ । करिब समान लम्बाई र चौडाइ रहेको दुवै पुलको निर्माणको ठेक्का एपेक्स÷रवि जेभी काठमाडौँले लिएको छ । लमाहा पुलको लागि चालू आर्थिक वर्षमा २० लाख र तरहारी पुलको लागि चालू आर्थिक वर्षमा १८ लाख रुपैया निकासा भएको जानकारी गराइएको छ ।

 

 

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया