अमेरिकामा उम्मेदवार भएमा तथा घर बहालमा दिएमा नेपाली बीच शत्रुता बढ्ने

विजय थापा २०७५ कार्तिक २७ गते ०:५२ मा प्रकाशित

 

भनिन्छ ,बिदेशिएका नेपालीहरु मिल्दैनन् l एक आपसमा राम्रो सम्बन्ध हुदैन l उनीहरु सदैव कुकुर र बिरालो झैँ गर्छन l यस्ता ईत्यादीको आरोप प्रत्यारोप हामीलाई लाग्ने गर्छ l हुन् पनि हो ,नेपालीहरु जहाँ गए पनि कलह ,झगडा र बोलचाल नै बन्द गर्ने अवस्था पनि देखिन्छ l

अनेक कारण बाट नेपाली नेपाली बीच झगडा हुने गर्छ l तर पनि माथि उल्लेख गरिएको २ चीजहरु बाट बच्न सके सुनमा सुगन्ध हुने पक्का छ l यी दुई चिजहरु बाट टाडा रहे परदेशमा हामी मिलेर जान सक्छौ l उदाहरण पनि बन्न सक्छौ l

यो पंक्तिकारले एक दशक अवधिमा अमेरिकन दैनिकी जीवनमा घटेका र अनुभूत गरेका कुराहरु पाठक वर्गलाई पस्कन चाहन्छु l कसै संग मेल खाएमा संयोग मात्र हुने छ l यस्ता घटना घट्दै छन् र कैयौ घटेका छन् l यो अमेरिकामा मात्र सीमित छैन l जहाँ जहाँ नेपालीहरुको वस्ती छ त्यहाँ यो समस्या हुन् सक्दछ l

अमेरिका कोही आउन चाहनु हुन्छ भने एक पटक घोत्लिनु आवश्यक छ l यदि यहाहरुले यस कुरामा ध्यान दिनु भयो भने अमेरिकामा तपाईको कोही पनि दुश्मन हुदैनन् l

सम्भवत यस्ता कुरा बाट बच्न र आनन्दमय जीवन व्यतित गर्न अमेरिका लामो समय देखि बसोबास गर्ने र छिरेका मानिसहरु यी दुई चिज बाट टाडा नै रहेका छन् l कुनै पनि संघ/सँस्थाको उम्मेदवार भए पछि अचानक शत्रु बढ्ने हुन्छ l चुप लागेर बस्नु भयो भने कसैले केही भन्दैन l

झन् तपाई कुनै पनि संघ/संस्थाको कुनै पदमा तर ज्यादा अध्यक्ष पदमा उठ्नु चाहनु हुन्छ भने तपाईको दुश्मनी र शत्रुता त्यसै दिन देखि सुरु हुन्छ l आराम र आनन्द सँग अमेरिकामा दिनचर्या बिति रहेको अवस्थामा आफ्ना साथीभाई र हितैषीहरु पनि गुमाउनु पर्ने हुन्छ l

जुन पेशामा यहाँको छवि र व्यक्तित्व हुन्छ ,अध्यक्ष लगायत अन्य माथिल्लो पदमा उम्मेदवार दिने बित्तिकै दुश्मनी बढ्ने ,धब्बा लगाउने तथा नकारात्मक टिका टिप्पणी हुने आदि कुराहरुले प्राथमिकता पाउछ l विना बित्थामा तपाईको टाउको दुखाई हुन्छ l

फेरी यस्को अर्थ यो हैन कि अन्य पदमा उठ्नै नपाउने भन्ने आशय कदापी हैन l अमेरिकामा कमाउन र आर्थिक सम्पन्न हुन् हामी आएकोले सरल जीवन यापन चलाउन चाहनेले यस्ता कुरामा समय खर्च नगर्दा नै उत्तम हुन्छ l निरुत्साहित गर्ने उद्धेश्य हैन l शत्रुता कमाउन छ भने जुन पदमा उठे पनि लुतो नकन्याई l

अर्को चिज भनेको आफ्नो घर नेपालीलाई नै घर बहाल /घर भाडामा दिँदा सर्बाधिक वादविवाद ,झगडा ,दुश्मन ,शत्रुता ,वैमनस्यता बढ्ने निकै संभाव्यता रहन्छ l किन यस्तो हुने गर्छ आखिरमा ? अमेरिकामा घर बहालमा दिने घरमूली/घरधनी तथा भाडामा बस्ने बीच अत्यधिक झगडा हुने गर्छ l बिभिन्न कारणबाट वादविवाद भएता पनि अन्तिममा अधिकांश बीच बोलचाल बन्द हुने हुन्छ l

भै रहेको सुमधुर सम्बन्ध चिसिन गै एक आपसमा उत्तर र दक्षिण ,पूर्व र पश्चिम फर्कने अवस्थाको सृजना पनि हुन्छ l आफ्नै घर बहालमा बसेको मानिस र बहालमा लगाएको मानिस बीच स्थाई शत्रुता हुन् गै जीवन भर नै बोलचाल बन्द हुने पनि अवस्था देखिन्छ l

आखिरमा किन यस्तो हुन्छ ? किनभने अमेरिकामा घरधनी भन्दा घर बहालमा बस्ने मानिस नेपालमा सम्पन्न र धनाड्य हुन् सक्ने ,घर बहालमा राखेर कमाई खाएका र राम्रो बन्दोबस्त भएका हुने हुँदा कन्सिरी अलिकति केहि भन्दा खप्न सक्दैनन् l अनि कलह र असमझदारी बढ्छ l घरमूलीले पनि अनेक कुरा लाध्ने र आफुले उपयोग गरेको पनि भाडावालालाई नै तिर्नु पर्छ भन्ने दबाव दिने हुँदा एक आपसमा टक्कर हुने र सम्बन्ध चिरा पर्ने हुन्छ l

घरमूली र घरवालाको सम्बन्ध कुकुर बिरालो झैँ हुन्छ l घरभाडा वालले नेपालमा आफ्नो हैशियत सम्झन्छन l घरधनीको व्यवहार सहन सक्दैनन् l यस्तै गरि घरभाडावालको पनि धाक र रवाफ घरमूलीलाई पच्दैन अनि आगोको झिल्को सुरु हुन्छ l अन्तत्वगत्वा घर छोड्ने र छोड भन्ने सम्म वादविवाद हुन्छ l अमेरिकामा हरेक हप्ता या पाक्षिक रुपमा तलब पाक्ने हुनाले मासिक रुपमा राखे पनि नेपालमा जस्तै ढिलो र तोकेको समय भित्र दिन आलटाल गर्दा असमझदारी बढ्छ l एकल घरमा घर बहाल दिंदा र एकैछत मुनि या आफूले उपयोग गरेका कोठाहरु घर बहालमा दिंदा रडाको पनि मचिन्छ l

आफ्नो छुट्टै घर भएका घरमूलीलाई ज्यादा फरक नपर्ने हुन्छ किनभने कानूनी रुपमा सम्झौता गर्नु पर्ने भएकोले घरमूली र घर भाडावाल बीच त्यति सम्बन्ध चिसिने हुदैन l एकै घरमा सम्झौता भन्दा पनि मौखिक समझदारी बिग्रन गै समस्या उत्पन्न हुन्छ l

अमेरिकामा अधिकांश भाडामा बस्ने र घरमूली बीच सम्बन्ध राम्रो भन्दा पनि नराम्रो हुन्छ l यस कुराको ख्याल गर्दै अधिकांश नेपालीले नेपालीलाई घर भाडामा दिदैनन l घर भाडामा बस्ने ले पनि नेपाली कै घर भन्दा अन्य देशका बिदेशी मानिसहरु कै खोज्ने गर्दछन l नेपाली नेपाली बीच निजी ,गोप्य सबै कुरा को पर्दाफास र भण्डाफोर समेत हुने हुनाले नेपालीले नेपालीलाई घर बहाल दिदैनन l नेपालीले बिदेशी भाडावाल खोजि रहेको हुन्छ भने भाडामा बस्न चाहनेले पनि नेपाली बाहेक नै खोजि रहेको हुन्छ l

यसको अर्थ यो हैन कि सबै नेपाली एकै ड्याङ्गका मूला भन्ने चै हैन l उदाहरण बन्ने घरमूली र घरभाडावाल पनि छन l यदि हामी बीच सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्ने हो भने र नेपाली नेपाली भएको नाताले यस्ता कुरा बाट बच्न ,एकता र आपसी मेलमिलाप कायम राख्ने हो भने ठुलो हृदय बनाउनु पर्ने हुन्छ l फराकिलो मस्तिष्क पार्नु पर्ने हुन्छ l

यस्ता तुच्छ विचार ,साँघुरो सोचाई लाई त्याग गरेर उदाहरण बन्न सक्नु पर्ने अपरिहार्यता पनि भएकोले यस्ता कुरामा विचार गरे हामी सबैको भलो हुन्छ l

अब अध्यक्षमा उम्मेदवार दिने हो त ? के घर बहाल खाली छ त ? आऊ म बस्न ? ———————–

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया