पुस्तक चर्चा ,मानवीय सहानुभूतिका कविता सञ्चयन : ‘चिबोकका केटीहरू’

पेशल आचार्य २०७५ कार्तिक २६ गते २३:२७ मा प्रकाशित

 

चालीसको दसकमा नेपाली कविता साहित्यमा दह्रो उपस्थिति जनाउँदै सशक्त कलम चलाएका र हालका दिनमा लेखनयात्राको केन्द्रबाट केही पाश्र्वमा रहेका बताइने कवि हिक्मत थापाद्वारा लिखित ३६ वटा कविताहरूको सञ्चयन ‘चिबोकका केटीहरू’ हालै बजारमा आएको छ ।

विना हल्लाखल्ला सो कृतिको गत असोज २७ गते एक कार्यक्रमका बीच काठमाडौँमा लोकार्पण गरियो । लोकार्पण कार्यक्रममा एन्आर्एन् पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने, कवि शैलेन्द्र साकार र कविका पिता तथा आख्यानकार गगनसिँह थापाले कृतिको संयुक्त रूपमा लोकार्पण गरे ।

सन २०१४ मा बोको हरामद्वारा अपहरण गरिएका नाइजेरिया, चिबोकका स्कुले केटीहरूको सम्झनामा लेखिएको भावलाई नै कविले पुस्तकको शीर्षरूप दिएर कृतिको न्वारान गरी कविता सञ्चयन गरेका छन् ।

आफ्नो पहिलो प्रकाशित कवितासङ्ग्रहमा चालीसको दसकमा थापाले केन्द्रीय खाद्य प्रविधि क्याम्पस, हात्तीसार, धरानमा विद्यार्थी भएर अध्ययन गर्दा ताकाका केही पुराना कविताहरू, बहुराष्ट्रिय कम्पनी डाङ्गोटे ग्रुपको विशेषज्ञका रूपमा नाइजेरिया प्रवासमा रहँदा बस्दाका पृथक् अनुभूतिका केही नयाँ ढप र बाँकीका कविताहरू, परदेशबाट घरदेशलाई सम्झना गर्दाका प्रेमिल तरङ्गका कविताहरू र विभिन्न समयमा देश विदेशमा भ्रमण गर्दाका समयमा लेखिएका कविताहरू मध्येबाटै ३ दर्जन प्रतिनिधि कविताहरू चुनेर प्रकाशनमा ल्याएका छन् । त्यसो भएकाले यी सबैजसो कविताले नयाँपुराना सबै हाँचका कवि हृदयी औ कवितामर्मज्ञी पाठकहरूलाई कविताको संवेदनामय मिठो स्वाद् दिलाउँन सक्षम बन्नेछन् भन्ने भाव मैले मनोयोगपूर्वक अध्ययन गर्दा पाएको छु ।

कवि हिक्मत थापा एन आर एन नाइजेरियाका जेष्ठ अभियन्ता तथा सो संस्थाका अन्तर्राष्ट्रिय कोषाध्यक्ष समेत रहेका उँचो व्यक्तित्वका शालिन मानिस हुन् । सुदूरको अछाममा जन्मी, कैलाली कटासेमा हुर्की, टीकापुर कैलालीबाटै २०३९ मा एस्एस्सी गरेर उच्च शिक्षा ग्रहणार्थ उनी पूर्वको धरानमा ५ वर्ष बसेका थिए । धरानको काव्यिक परिवेशलाई भलिभाँती उपयोग गर्दै उनले धेरै साथीहरूको सामिप्य पाएर त्यहाँ रहँदा ४६ को जनक्रान्तिलाई कवितामा मोहक ढंगले उतार्ने काम गरेका छन् ।

खाद्य विशेषज्ञको अध्ययन समाप्तिपछि उनी केही समय चितवनको रत्ननगरमा जागिरका सिलसिलामा रहँदा साहित्यिक पत्रकारिता र मानव अधिकारका क्षेत्रमा समेत क्रियाशील भएका थिए । सो समयमा चितवनबाट ‘संप्रेषण’ नामक चर्चित साहित्यिक पत्रिका प्रकाशित हुन्थ्यो जसको उनी कार्यकारी सम्पादक रहेका थिए ।

सम्पादक प्रसिद्ध निबन्धकार रामबाबु घिमिरे थिए । पश्चिमको कैलाली ,टीकापुरका स्थायीवासिन्दा थापा यतिखेर भने नाइजेरियाको प्रसिद्ध कम्पनी डाङ्गोटे ग्रुपमा करिब डेढ दसकदेखि कार्यरत छन् । आफ्नो व्यस्त व्यावसायिक जीवनका बाबजुद पनि उनी हरेक वर्ष दसैँ र बेलाबेलामामा प्यारो देश नेपाल सम्झेर घर आउँछन् र केही जीवन्त कार्यहरू गरेर कर्मस्थल नाइजेरिया फर्कन्छन् । यस वर्षको कोसेली उनले हामीमाझ कविता सञ्चयन दिएर गए । यो त भयो सामाजिक अभियन्ता हिक्मत थापाको सामान्य परिचय । तर, यतिले मात्र उनको परिचय पुग्दैन ।

उनको जीवनको अर्को पाटो लेखकको रहेको छ । शान्त, शालिन र मधुर वाणिका थापा जति थोर बोल्छन् त्यति नै थोरै शब्दमा कवितामा प्रभावकारी सन्देश व्यक्तिने गरी लेख्न मन पराउँछन् । जसको प्रमाण उनको सद्य प्रकाशित कविता कृति ‘चिबोकका केटीहरू’ हो । लघु आकारको सो कृतिमा उनले आफ्नो विद्यार्थी क्षणपल, जागिरे मानसिकता, विदेश यात्रा र प्रवासी जीवनमा देखे भोगेका विषयवस्तुलाई नै कविताका ओजपूर्ण प्लट बनाएका छन् ।

आख्यानकार गगनसिँह थापाका सुपुत्र हिक्मत थापाको घरायसी वातावरण नै साहित्यमय रहेको उनका बुवा तथा लेखक गगनसिँह थापा लिखित आख्यानात्मक कृतिहरूको प्रकाशनावस्था र गहन पठनबाट पत्तो पाइन्छ । गत साल आख्यानकार पिता गगनसिँह थापाको उपन्यास ‘पुर्खाको चिठी’ उपन्यास लोकार्पण भयो जसको गम्भीर अध्येताहरूले राम्रो टिप्पणी समेत गरे ।

 

‘आफ्नो कविता लेखनको करिब साढे तीन दसक समयमा कवि हिक्मत थापाले कथा, निबन्ध, गजल, गीत र धेरै जीवनवादी कविताहरू पनि लेखेका छन् । प्रसङ्गमा अहिले उनको कवितासङ्ग्रह पहिलो कृतिका रूपमा प्रकाशित भए पनि उनीसँग अन्य विधाका पुस्तकहरू समेत प्रकाशन आभा पर्खेर बसेका छन् र समयक्रममा ती आउने नै छन् ।’ –उनलाई नजिकबाट लामो समयदेखि अध्ययन गर्ने गजलकार मित्र सुविद गुरागाईं सरल हिसाबले भन्छन् ।

यो सञ्चयन प्रकाशनका लागि पनि सुविदले जतनसाथ राखेका चिठीहरू (जसलाई कुशलताका साथ सम्पादन गरी भूमिका खण्डमा प्रस्तुत गरिएको छ) ले कविलाई कृति प्रकाशन गर्न धेरै घच्घच्याएको भनेर बुझ्न सकिन्छ । एउटा साहित्यिक मित्रका चिठीहरू साहित्यिक लेखनयात्रा, जीवन्त इतिहास र कृति प्रकाशनका लागि कसरी सहयोगी एवम् कामयाव हुन सक्छन् भन्ने कुरा सुविदको ‘चिठी अभिलेख कला’ र सोका उपयोगबाट पत्तो पाइन्छ । गुरागाईंको कलात्मक र प्रोढौन्मुख बान्कीको भूमिकामा कवि थापाका धेरै समकालीन कवि मित्रहरूले आफूलाई समेत शब्द चित्रमा त्यहाँ भेट्टाउने छन् ।

‘थोरै शब्दमा धेरै कुरा भन्न सक्नु’ कवि थापाका कवितागत विशेषता हुन् । ‘शब्दलाई फारोसँग खेलाएर वैपरीत्य भाव जन्माई पाठकका मनमा सुटुक्क पसेर सौष्ठव प्रभाव छाड्ने कविता लेखनमा उनलाई पारङ्गत हाँसिल छ भन्न अब हिच्किचाउनु पर्दैन ।’ यी कुराका प्रमाण नै ‘चिबोकका केटीहरू’ भित्र रहेका कवितागुच्छी र संकथनात्मक अनु गुञ्जनहरू हुन् ।

यस सञ्चयनमा परेका केही कविताहरूमा नयाँ प्रयोग गर्न उनी सर्वथा सफल भएका पनि छन् । पुस्तकमा संकलित तथा २०४६ साल चैतको मधुपर्क मासिकमा प्रकाशित ‘धरान’ शीर्षकको कवितामार्फत् उनी धरानलाई आफ्नो ढपको फरक शब्द विम्बमा यसरी उतार्छन् –

धरान
~~~~
‘युगौंदेखि निश्चल सुब्बा बाजेको
अस्थिपञ्जर बोकेर
मलाया र हङकङको यात्रापछि
थकाइ मार्नमा नै व्यस्त छ,
फेसन र बोतलको परिवेशभित्र
जिउँदै लोग्नेकी विधवा ऊ
चुम्बन र आलिङ्गनमा नै मस्त छ ।’

साङ्ग्रिला बुक्सबाट प्रकाशित प्रस्तुत कविता सञ्चयनमा उनका पुराना मित्र तथा गजलकार सुविद गुरागाईंले उनीसँग भएका साढे तीन दसक समयावधिका हस्तलिखित र इतिहास जताउने प्रतिनिधि पत्रहरूलाई आधार बनाएर अत्यन्त मीठो र सुललित पारामा केही लामो भूमिका पस्केका छन् भने अर्का दांैतरी कवि साम्व ढकालले उनको यो पुस्तक लेखनको अन्तर्यमाथि लघु आकारमा खँदिलो र तेजिलो अभिव्यक्तिमा प्रकाश भरेका छन् । यी दुवै भूमिकाहरूले कविता र कविलाई बराबरी न्याय त गरेका छन् नै साथै हिक्मत थापाको कवि व्यक्तित्वको समेत सन्तुलित विश्लेषण गरिदिएका छन् ।

आकर्षक हार्ड कभर, चुटुक्क परेको आकार र सेटिङ् मिलाएर प्रकाशन भएको प्रस्तुत ‘चिबोकका केटीहरू’ कविता सञ्चयनले नेपाली कविता साहित्यको भण्डारमा अर्को एउटा गतिलो कविता कृति थपिदिएको भान हुन्छ । एकातिर कविको तस्वीरसमेत नराखिकन प्रकाशित भएको यो कृतिमा भाषा र शृद्धाशुद्धिमा मिहीनरूपले हेक्का गरिएको छ भने अर्कातिर कविताको पुस्तकमा समसामयिक कविहरूले गर्ने खालका पाण्डित्यमय आफ्ना परिचय, पुरस्कार र तामझामका विज्ञापनमय संस्थागत संलग्नता, पद, योग्यता आदि ‘नेकीवदी’ केही पनि खुलाइएको छैन । बास्तवमा ‘सामाजिक व्यक्तिहरूले पहिले त कामलाई महत्व दिनुपर्छ अनि नाम स्वतः आउँछ’ भन्ने मान्यताको यो एउटा नवीन प्रयोगजस्तै लाग्छ ।

 

कवि हिक्मत थापा व्यावहारिक जीवनमा जसरी मीतभाषी भई आफूलाई र साथमा समाजलाई मन पर्ने ससाना सार्थक कामहरू खुरूखुरू गर्छन् तर प्रसारप्रसारमा उति ध्यान दिँदैनन् सायद् यही प्रभावका कारणले उनले आफ्ना कवितामय भावहरू तस्वीर र ‘सिभिविहीन’ रूपमै मात्र भए पनि कविता पथमा छाडेका हुनुपर्छ । पुस्तकमा उनले आफ्ना तर्फबाट भनाइ समेत राखेका छैनन् । या राख्ने आवश्यकता नै देखेनन् । संस्कृतमा भनिएकोे छ –‘कविता लेख्ने काम मात्र कविको हो तर त्यसको रस खुट्याउने काम मर्मज्ञ पण्डितहरूको हो ।’ कवि काव्यानी लिखन्ती, रस जान्याति पण्डित भनेझैँ बाँकी मीमांशा गर्ने काम विज्ञ पाठकमै छाडेका छन् ।

एकै बसाइको इच्छामा पढि तुरिने यो लघु आकारको कविता कृति समसामयिक कविताका कृतिहरूको बथानमा बेग्ले जँच्ने पाएको छु । कृति पठनपछि मलाई यस्तो लागेको छ ।

कवि हिक्मत थापाका आगामी सबै प्रकारको लेखन यात्राको म यतिखेर सफलताको कामना व्यक्त गर्दछु ।

( साभार : शब्दपथ )

प्रतिक्रिया