चितवनको पिठुवामा लक्ष्मी पुजा तथा सांस्कृतिक साझ हुने

इनेप्लिज २०७५ कार्तिक १९ गते १२:२७ मा प्रकाशित

रत्ननगर, चितवन, १९ कार्तिक ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ स्थित दोबाटो बजार व्यवस्थापन समिति र जनजागरण युवा क्लवको आयोजनामा लक्ष्मी पुजा तथा सांस्कृतिक साझ हुने भएको छ । यहि कार्तिक २१ गते बुधबार दोबाटो बजारमा सो कार्यक्रम आयोजना हुन लागिएको बजार व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर लामाले बताए । विगत २२ वर्षदेखि निरन्तर रुपमा सोही स्थानमा कार्यक्रम हुँदै आएको समेत उनले बताए ।

नेपाली कला संस्कृति, संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा घैटो फुटाई, बेलुन फुटाई प्रतियोगिता, स्थानीय तथा विभिन्न रीतिरिवाज अनुसार दिप प्रज्वलन तथा देउसी भैलो समेत खेलिने योजना रहेको छ । म्युजिकल चेयर, चम्चा रेस र टायरमा बल छिराई प्रतियोगिताका साथै स्थानीय नृत्यहरु समेत रहेको छ । आधुनिक गायक शिव परियार, लोक गायक राजु परियार, चिजा तामाङ र प्रकाश गुरुङ्गको लोक दोहोरी कार्यक्रमको मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक चिन बहादुर लामाले बताए । कार्यक्रम आयोजनाको लागि करिव ३ लाख ५५ हजार रुपैया खर्च लाग्ने र कार्यक्रममा करिव ६ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य रहेको समेत उनले बताए । बचत रकमबाट विभिन्न सामाजिक कार्य गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया