एउटा वेग्लै प्रकारको देवकोटा जयन्ति विन्डरका भुटानी नेपालीबाट

इनेप्लिज २०७५ कार्तिक १३ गते १०:१० मा प्रकाशित

सभाकक्षमा रणजित गजमेरको संगीतमा रबिन शर्माको सुमधुर स्वरले सजिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरुलाई गुञ्जीरहेका थिए ‘कुन मन्दिरमा जान्छौ यात्री …………………..’ । सभाकक्षको भित्तामा महाकवि देवकोटाका वाणीहरुका एकपछि अर्को गर्दै प्रतिबिम्बित भई रहेका थिए । साथमा संस्थाका अन्य क्रियाकलापका तस्वीरहरुबाट संस्थाका क्रियाकलापमाथि प्रकाश पार्दै गएको थियो । मञ्चमा राखिएको मेचमाथि महाकवि देवकोटाको तस्वीरसँगै देवकोटाका कृतिहरुका अतिरक्ति अन्य प्रकाशनहरु प्रदर्शनीका लागि राखिएको थियो । त्यसपछि खगेन्द्र गौतम आएर कार्यक्रमका बारेमा प्रकाश पार्दै भुटानी क्यानेडियन संघ, क्यानडाका प्रमुख तथा साहित्यकर्मी भानु ढुङ्गानालाई ११०औं देवकोटा जयन्ति समारोहको सभापतित्वका लागि अनुरोध भएपछि कार्यक्रम उद्घोष खगेन्द्रले आफ्ना अतीत कोट्याउँदै त्यस दिन भुटानको सबै विद्यालयका विद्यार्थीहरुलाई कक्षा कोठाबाट बाहिर चौरमा निकालेर सबै नेपाली पुस्तकहरु एकै ठाँउमा राख्न लगाएर त्यसमा आगो बालेर भुटानमा नेपाली भाषा साहित्य संस्कृतिको हत्या गरिएको स्मरण गर्दै धुँवासँगै हामीहरुको अस्तित्व उडेको हेरी रह्यौ भनेपछि सभाकक्ष केही क्षण स्तब्ध भएको थियो ।

कार्यक्रमको सभापति गर्दै भानु ढुङ्गनाले भुटानी नेपालीहरुलाई मातापिता गुमाएका सन्तान र पानीबाट झिकिएको माछोसँग दाज्दै आफुहरु जन्मभूमिबाट नेपाली भाषा साहित्य संस्कृतिकै पक्षधर भएकोले लखेटिएको र आज सात समुद्रपारी आएर यहीँ नेपाली भाषा साहित्य संस्कृतिकै जगेर्ना गर्नु हाम्रो मूल कर्तब्य हो भन्दै हामीले घरपरिवारमा नेपाली भाषामा बोल्ने लेख्ने र पढ्ने कार्यलाई अनिवार्य बनाएका छौं भन्नु भयो । हाम्रो उदृेश्य भनेको नै नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण गर्नु रहेको हो । अब यही भाषा यस कर्मभूमिमा बोलेर नेपाली भाषा साहित्य संस्कृतिको लागि एकबद्ध भएर लाग्ने जानकारी गराउँदै नेपाली संस्था, विद्यालय र पुस्तकालय खोल्ने उदृेश्य रहेको जानकारी गराउनु भयो ।

तिलचन ढुङ्गनाको स्वागत मन्तब्यबाट भुटानी क्यानेडियन संघ, विण्डसरका बारेमा जानकारी गराइयो । त्यसपछि कन्याहरुका साथ मुख्य अतिथिसहित अन्य अतिथिहरुबाट महाकवि देवकोटाको तस्विरमा माल्यार्पणपछि शुरु भएको कार्यक्रममा रघु वस्तीले देवकोटाको जीवनीलाई विभिन्न चरण र अवस्थासहीत जानकारी गराउनु भयो । इन्द्र तिम्सिनाले संस्थाको बारेमा जानकारी गराउँदै १० जनाको प्रयासबाट स्थापना भएको संस्थामा कुनै पद बाँडफाँड नगरेर दशैंजना संयुक्त रुपमा संस्थाको स्थायित्व र प्रगतिका लागि काम गर्दै आएको र संस्थाले भुटान साहित्य परिषदसहित पुस्तकालय खोल्ने लक्ष्य राखेको जानकारी गराउनु भयो ।

क्यानडामा जन्मेकी ८ वर्षीय लक्ष्मी वस्तीले नेपालीमा लेखिएको देवकोटाको शुन्यमा शुन्य कविता वाचनबाट भुटानी नेपालीहरुमा रहेको भाषाप्रतिको आत्मीयता देखिएको थियो । प्राध्यापक गोकुल भण्डारीले आफ्नो बाल्यकाल सम्झदै त्यसबेलादेखि देवकोटाका कविता वाचन गर्दैे आएको र उनका कवितामा रहेको जीवन दर्शन बुझ्न आवश्यक रहेको भन्दै देवकोटाका भिखारी र वृक्षकविता वाचन गर्नु भएको थियो । त्यसपछि उनले आफ्ना विम्बहरु र त्यसैले म मन्दिर जान्छु कविता वाचन गर्नु भयो । कार्यक्रमको थालनी लीला हुमागाईबाट मुना मदनको श्लोक पढेर गरिएको थियो । त्यसपछि बलराम काफ्लेको रुवाई, सुरेन्द्रमान राजभण्डारी (नेपालमा जाने बाटो कुन), ओम पोखरेल (गजल र कविता यातनाका डोबहरु), मौसमी ढुङ्गाना (जिन्दगीको तीतो), जय हुँमागाई (मेरो नजरमा देवकोटा), राम दर्नाल (युवा), अनिस दङ्गाल (ढोका, अन्धा), भीम सिग्देल (कविता), मञ्जिल भण्डारी (छन्दयुक्त बाल कविता), भानु ढुङ्गाना (छन्दयुक्त कविता), गोपाल ढकाल (कविता), लीला हुँमागाई (कविता), तीलचन ढुङ्गाना (गजल), खगेन्द्र गौतम (मेरो देश) कविता वाचन गरेर सभालाई काव्यात्मक बनाइ दिएको थियो ।

टोरोन्टोबाट आउनु भएका नेपाली साहित्य समाज, क्यानडाका अध्यक्ष डा. गोबिन्द रावतको प्रमुख आतिथ्यमा सम्पन्न ११० औं देवकोटा जयन्तिको अवसरमा रावतले घरमा छोराछोरीसँग नेपालीमा बोल्ने बानी बसालौं, भाषा रहे हामी रहन्छौं र हाम्रो अस्तित्व रहन्छ भन्दै आफुले पहिलोपटक एउटा भिन्ने प्रकारको गोष्ठीमा सहभागी हुने अवसर पाएकोमा आयोजकलाई धन्यवाद दिदै आफ्ना कविताहरु वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया