रत्ननगर १५ माधवपुरमा धनधान्याञ्चल हुने

शिशिर सिंखडा २०७५ कार्तिक १० गते ११:५७ मा प्रकाशित

रत्ननगर, चितवन, १० कार्तिक ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ हरियाली टोल स्थित श्री आधारभूत विद्यालय माधवपुरमा धनधान्याञ्चल महायज्ञ हुने भएको छ । विद्यालय परिसरमा आज शनिबार पत्रकार सम्मेलनको आयोजना गरी श्रीमद् भागवत महापुराण धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ तथा माधवपुर धार्मिक एवम् शैक्षिक महोत्सव २०७५ को बारेमा जानकारी गराइएको हो ।

विद्यालयमा आगामी शैक्षिक सत्रदेखि मा.वि. तहसम्म स्तरोन्नती गर्न, क्रमागत रुपमा ११ र १२ को प्राविधिक कक्षा संचालन, संचालन भइरहेको आइ.टी. कक्षाको संख्या वृद्धि गर्ने, सम्पूर्ण कक्षा अंग्रेजी माध्यममा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मुल समारोह समितिका संयोजक रमेश लामिछानेले जानकारी दिए । विद्यार्थीहरुलाई आवतजावतमा सहज बनाउन यातायातको साधन खरीद गर्ने, विद्यालयको भौतिक, शैक्षिक र आर्थिक विकास गर्ने समेत महायज्ञको उद्धेश्य रहेको संयोजक लामिछानेले जानकारी दिए । महायज्ञबाट करिव २ करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको समेत उनले जानकारी दिए । यही कार्तिक १४ गतेदेखि २० गतेसम्म हुने महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् ।

वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ६ सम्म अंग्रेजी माध्यममा पढाई हुँदै आएको छ । विद्यालयमा २ सय ७५ जना विद्यार्थी रहेको विद्यालयका प्राचार्य बालकृष्ण ढकालले जानकारी दिए । सो विद्यालयको साढे १२ कठ्ठा जग्गा रहेको छ । धनधान्याञ्चलका अतिरिक्त सो महोत्सवमा हरेक दिन भजन किर्तनका साथै शैक्षिक प्रवचन समेत हुने प्राचार्य ढकालले बताए । सो कार्यक्रममा रत्ननगर वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने, स्थानीय समाजसेवीहरु दिल बहादुर अधिकारी, ओम प्रसाद लामिछाने, शिव प्रसाद तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मुल समारोह समितिका संयोजक रमेश लामिछानेको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया