शुक्रबार, कार्तिक ३० २०७५
काठमाडौं ११:०५
वासिङटन डिसी 00:20

शे -फोक्सुम्दो

दामोदर पुडासैनी किशोर २०७५ कार्तिक १ गते ११:०४ मा प्रकाशित

मिल्नेभए मैले
सँसारका सबै मान्छेको शरीरमा
रातो रगतको सट्टा
नीलो रगतले भरिदिनेथिएँ
कि,उनीहरूले गर्नथाल्ने थिए
बीरताको सट्टा प्रेमको बखान

कयौं घोडचडी बादशाहहरू
लोलाएका हुन् मेरै आँखाका डिलमा
सँसार नाप्न हिँडेका
कयौं वायुबेगका यात्रुहरू
चम्केकाहुन् मेरा आँखामा आँखा जुधाएपछि

जिन्दगी रेट्दा रेट्दा निस्केका
नुनिलो पसिना र आँसुका दहहरू
बग्दै बग्दै आइपुग्छन् मेरै अन्जुलीसम्म
र ,सँग्लिंदै सग्लिंदै उकालो चढछन्
जून र घाम भेट्ने आशामा

अहिलेसम्म
अभाव नभएको ठाउँमा
उभिन जानेन मान्छेले
आफ्नोभन्दा
अरूकै चिन्ताले पिल्सिएकोछ ,उ
अरूकै ईर्ष्या
अरूकै माया
अरूलाईनै बाँध्न
आफ्नै मुटुको धुरिखाँवोमा
किन हतारिँदै बगिरहेछ मान्छे लहर बोकेर

मसँग
कुनै आबश्यकताका सूचिहरू छैनन्
कुनै अभावका सूचिहरू छैनन्
मन जस्तो बेला बेलामा धमिलिइरहने
कुनै अँध्यारा लहरहरू छैनन्
मीठो सपनाका ईन्द्रेणी रेखाहरू भने
सधैं सग्लिरहन्छन् केन्द्रदेखि किनारसम्म

सपनामा बुनेका
यादका जाली रूमालहरू
खजमजिएको सुन्छु म
मायालुका हत्केलाका रेखाहरूमा

मान्छेभन्दा धेरै
फोहरले दुर्गन्धित बन्दैछन् बस्तीहरू
खनिनसक्दै बाटाहरूलाई
छेक्दैछन् अबरोधका काँडाहरूले
भीडभन्दा अलिपर बसेको म भने
दुर्गन्धी छैन
तिम्रो फूलबुट्टे रूमालजस्तो
न उदास छु
जूनले आत्महत्या गरेको मधुरो साँझजस्तो
अथवा , निमन्त्रणाबेगर गाइरहने
चट्याँगको बेसुरे आवाजजस्तो

ओठ ओठबाट समय झरिरहेको बेला
मैले समयलाईनै रँगाइरहेछु नीलो रँगमा

बतासले उँडाएर ल्याएको मायाको धूलोलाई
दिनेछु मैले जीवनको बेग्लै रँग

तिमीलाई चाहिनेजत्ति
नीलिम प्रेमको चित्र छ मसँग
सँसारका सबै उर्जाहरू ब्युँझाउँनसक्ने
झुलो र चकमकपनि पर्याप्त छ मसँग

तिम्रा आँखाहरूले
फूलबारीभन्दा अझ सुन्दर
केही खोजेका हुन् भने
सोझै, एकपटक मलाई भेटिदिए पुग्छ ।

शे फोक्सुम्दो ताल ,डोल्पा
— २०७५ असौज २१

प्रतिक्रिया