बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:२०
वासिङटन डिसी 03:35

निलम कार्की ‘निहारिका’मदन पुरस्कार बाट सम्मानित

इनेप्लिज २०७५ असोज २६ गते १०:४१ मा प्रकाशित

काठमाडौँ ,अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्दै आउनु भएकी निलम कार्की निहारिका लाई यस बर्षको मदन पुरस्कार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले गत बिहीबार रातो बंगलास्थित दीक्षित नाट्यशालामा एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

निलम कार्की निहारिकाको कृति ‘योगमाया’ले मदन पुरस्कार प्राप्त गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’ले हाम्रो समाजमा कम देखेका, कम सुनेका, कम लेखेका वा कम बुझेका थुप्रै पात्रहरु साहित्यमार्फत अगाडि बढ्ने विश्वास रहेको बताउनुभयो ।

मदन पुरस्कार लिदै निलम कार्की निहारिकाले आफ्ना गुरु तथा रेडियो नेपालका कार्यक्रम प्रस्तोता दाहाल यज्ञनिधिको अनुपस्थिति खड्किएको बताउँदै भावुक हुनुभएको थियो ।

निहारिकाले दाहाल आफ्ना गुरु यज्ञनिधिले गृहकार्यको रुपमा सुझाएको पाठ इमान्दारीपूर्वक खोज गरेर तयार पारिएको पुस्तक नै ‘योगमाया’ रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले लेखिसकेको अवगत गराउँदा उहाँ अति नै हर्षित हुनुभएको थियो; मेरो दुर्भाग्य जब मदन पुरस्कार घोषणा भयो, मेरा गुरु भने यस दुनियाँमा रहनुभएन ।’

आफू सानो छँदा दाहाल यज्ञनिधिकै रेडियो कार्यक्रम ‘साहित्य संसार’ सुनेर नै साहित्यमा रुचि बढेको र पछि उहाँसँगै सहकार्य गर्न पाउँदा गुरुको रुपमा उहाँलाई पाएको स्रष्टा निहारिकाले बताउनुभयो ।

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो । मदन पुरस्कार गुठीले पुरस्कार दिने वर्षभरि प्रकाशित भएका पुस्तकहरु मध्यबाट छानेर पुरस्कार प्रदान गर्ने गर्दछ ।

पुरस्कारको राशी २ लाख रहेको छ । वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो ।

तस्बिर सौजन्य/समाचार श्रोत : निलम कार्की निहारिका /उज्यालो अनलाइन डटकम

प्रतिक्रिया