ड्यालसमा नेपाली भाषाका १२ जना श्रष्टा सम्मानित आचार्यलको ‘न्यास्रो जन्मभूमिको’ को समिक्षा

इनेप्लिज २०७५ साउन २८ गते २१:१६ मा प्रकाशित


ड्यालस (टेक्सस) – आइतबार ड्यालसमा एउटै मञ्चमा एक दर्जन नेपाली भाषाका श्रष्टाहरु सम्मानित भएका छन् ।
नेपाली भाषा साहित्यमा पुस्तक प्रकाशित गरेर योगदान गरेका साहित्यकारहरुलाई श्रष्टा साँझ, नेपाली समाज टेक्सस र हिमालय खबर अनलाइनले संयुक्त रुपमा सम्मानित गरेका हुन् । विगतदेखि हालसम्म नेपाली साहित्यमा कुनै न कुनै कृति प्रकाशित गरेका र हाल ड्यालसको सेरोफेरोमा रहेका नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा विजयराज भट्टराई, विश्वराज अधिकारी, नर्बदादेबी भट्टराई, लीला श्रेष्ठ ‘सजल’, साबित्रीदेवी आचार्य, तुङगनाथ उपाध्याय, पातलो अन्तरे (लीलाधर अधिकारी), महेन्द्र पौडेल, देंजोम साम्पाङ, पुण्डरी अर्याल, बिकु लामा र शीलु घिमिरे रहेका छन् ।

पुरस्कृत श्रष्टाहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । त्रिभुवन विश्वविद्यालय नेपाली भाषा विभागका प्राध्यापक मोहन सिटौलाले सम्मानितहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस अवसरमा श्रष्टा साँझका अभियन्ता प्रभात दीक्षित र बेदनिधी दाहाल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपाने, पुरस्कृत व्यक्तित्वहरु विजयराज भट्टराई, विश्वराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आचार्यको ‘न्यास्रो जन्मभूमिको’ समिक्षाः
सोही कार्यक्रममा स्थानीय नेपाली भाषाका साहित्यकार बैकुण्ठ आचार्यद्वारा रचयित कविता संग्रह ‘न्यास्रो जन्मभूमिको’ को समिक्षा समेत गरिएको छ ।

नेपाली भाषामा कलम चलाउने साहित्यकार, स्थानीय समुदायको बाक्लो उपस्थितीबीच आचार्यको नयाँ कृतिको समिक्षा गरिएको हो । साहित्यकारहरुले आचार्यको नयाँ कृतिले नेपाली भाषा, वाङमयमा नयाँ खुड्किलो थपेको उल्लेख गरे । साहित्यकारहरुले आचार्यको कवितामा जन्मभूमिबाट टाढा हुँदाका भावहरु, जन्मभूमिका वेथिति, विगतका सम्झनाहरु समेटिएका छन् ।

श्रष्टा साँझले प्रकाशन गरेको न्यास्रो जन्मभूमिको केही साता अघि काठमाडौंमा विमोचन गरिएको थियो । ड्यालसमा भने आइतबार कृतिका बारेमा समिक्षात्मक कार्यक्रम राखिएको हो ।

कृतिका बारेमा विश्वराज अधिकारी, राधाकृष्ण काफ्लेले समिक्षा गरेका थिए । त्यस अवसरमा आचार्यले कविता लेखन, कृति प्रकाशनका बारेमा भोगेको अनुभव सुनाएका थिए । सोही अवसरमा दुई साना नानीहरु चाहना खरेल र ओजश्वी अर्यालले कृतिमा प्रकाशित भएका कविताहरुमध्य प्रनिनिधिमुलक कविता वाचन गरेका थिए ।

श्रष्टा साँझले नेपाली भाषा, साहित्य, कला संस्कृतिको जगेर्नाका लागि ड्यालसमा नियमित रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया