डा. चालिसेको ‘स्मृतिका पहाड’ सार्वजनिक

इनेप्लिज २०७५ साउन २३ गते २१:३० मा प्रकाशित

८ अगष्ट, २०१८, काठमाण्डौं    

कवि तथा भाषाविद् डा.विदुर चालिसेको कविता संग्रह ‘स्मृतिका पहाड’ बुधवारका दिन काठमाण्डौंमा बिमोचन भएको छ ।

राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा समकालीन साहित्य प्रतिष्ठान बेलायतको नेपाल शाखाको आयोजनामा सहप्राध्यपक तथा भाषाविद् डा.विदुर चालिसेको चौंथो कविता संग्रह ‘स्मृतिका पहाड’ सार्वजानिक भएको हो।

साहित्यकार श्री ओम श्रेष्ठ रोदन, वरिष्ठ कवि तथा संकृतिविद तुलसी दिवस, पद्म कन्या क्याम्पसका प्राध्यापक डा.कुमार प्रसाद कोईराला, प्राध्यापक रेणुका जोशी, समीक्षक डा. लेखप्रसाद निरौला र लेखक विदुर चालिसेले उक्त कृति सार्वजनिक गरेका थिए ।

समीक्षक तथा प्राध्यापक डा. लेखप्रसाद निरौलाले पछिल्लो समय नेपाली साहित्य क्षेत्रलाई शसक्त रुपले अघि बढाउन यो कविताले महत्वपूर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । कवितामा प्राचिनतमदेखि नविनतमसम्मका कुराहरुलाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको बताए । यस सङ्ग्रहका कविता भित्र परिवर्तन गर्न सक्ने विचार, कवि भूपि शेरचनको जस्तै विम्वात्मक अभिव्यक्ति र महाकवि लक्ष्मिप्रसाद देवकोटको कवितामा जस्तै भाषिक शैली पाएको बताए ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवसले सिद्धान्तलाई जबर्दस्ती कवितामा मिसाउँदैमा कविता राम्रो नहुने कुरा बताउँदै सिद्धान्तलाई भन्दा कवितालाई प्राथमिकता दिनुपर्छ र डा. चालिसेका कवितामा कवितालाई नै प्राथमिकता दिएको बताए । उनका कविताहरु विल्कुलै फरकधारका प्रगतिवादी, नविनतम र मौलिकता जगाउने खालको पाएको बताए ।

लेखक डा.विदुर चालिसे आफू प्रेम, जीवन र प्रकृतिप्रति कविता लेख्न रुचाउने कवि रहेको बताउदै उनलाई उक्त कृतिकै मन परेको ‘सर्कस र साइरन’ कविता वाचन समेत गरेका थिए ।

कार्यक्रममा कवि प्रदीप सापकोटाले स्वागत मन्तब्य दिएका थिए भने डा. फणीन्द्रराज निरौंलाले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कविता संग्रहमा ९६ वटा कविता संगृहित छ भने पुस्तकको मुल्य रु. ३०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया