चितवन, २० साउन । वर्ष २०७४ मा चितवन राष्ट्रिय निकुञ्जका २६ गैंडा प्राकृतिक कारणले मरेका छन् ।
गैंडाको तस्करी तथा तस्करले मार्ने प्रक्रिया रोकिएको जस्तो देखिएपनि प्राकृतिक कारणले मृत्यु हुने गैंडाको संख्या भने अस्वभाविक देखिएको छ । २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले माएको गैंडा नै अकालमा मरेको गैंडाको पछिल्लो उदाहरण हो ।
तर त्यसपछिका समयमा तस्करहरुले गैंडा मारेको वा तस्कर गरेको कुनै तथ्य बाहिर आएको छैन । यद्दपी वार्षिक गैंडाको मृत्युदर भने अनपेक्षित रुपमा बढेको देखिएको छ । एकै वर्षमा २६ ओटा गैंडा मर्नुलाई समान्य रुपले हेरिनु हुँदैन ।
चितवन राष्ट्रिय निकुञ्जले यो तथ्यांक अपेक्षा गरेको भन्दा निकै धेरै भएको जनाएको छ ।
यतिका संख्यामा गैंडा मर्नु कारण प्राकृतिक देखिए पनि संख्या अस्वाभाविक भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जनाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैंडा, बच्चा पाउन नसकेरदेखि जुँधेरसम्म मर्ने गरेका छन् । गएको वर्ष साउन २८ र २९ गते आएको बाढीले बगाएर समेत गैंडा मरे । उमेर पुगेर मर्ने गैंडाहरु पनि रहेका छन् । गैंडाको औसत आयु ४० वर्षको हुन्छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको बताए । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैंडा मर्ने गरेका छन् ।
गैंडाको वार्षिक वृद्धिदर पाँच प्रतिशत छ । केही वर्षयता चितवनसहितका निकुञ्जमा चोरी शिकार झन्डै झण्डैं नियन्त्रणमा आए पनि बासस्थान क्षयीकरण मुख्य चुनौती बन्दै गएको छ ।
प्रतिक्रिया