आशा लिम्बूको …मुक्त आशाÚ सार्वजनिक

इनेप्लिज २०७५ साउन १८ गते १०:४८ मा प्रकाशित

काठमाडौं । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित कवि आशा लिम्बूको दोस्रो काब्यकृति ‘मुक्त आशा’ बुधबार काठमाडौंमा एक समारोहका बीच सार्वजनिक भयो । वरिष्ठ कवि, मुक्तककार तथा गीतकार रत्न शमशेर थापाले लिम्बूको मुक्तक संग्रह ‘मुक्त आशा’को विमोचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार रत्न शमशेर थापाले भिमदर्शन रोकाबाट सुरु भएको मुक्तक यात्रा आजको अवस्थामा आइपुगेको भन्दै आफ्ना केही चर्चित मुक्तक वाचन गरे । उनले मुक्तक लेखन कठिन भएको भन्दै मुक्तक लेखनमा नियमको प्रयोग आवश्यक रहेको बताए ।

प्रवासमा रहेर लामो समयदेखि नेपाली भाषा साहित्यमा प्रकाशन तथा अनुसन्धानमूलक कार्य गर्दै आएको साहित्यिक संस्था समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा डा. ऋषिराम शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्ने कार्यक्रममा लेखक आशा लिम्बू, डा. लेखप्रसाद निरौला, रामप्रसाद पन्तले बोलेका थिए ।

यस अघि कवि लिम्बूको कविता संग्रह आशाका रंगहरु प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया