उर्जामन्त्री पुन र एडिबीका आवासीय प्रतिनिधीबीच भेट, उर्जा क्षेत्रमा सहकार्य गर्नेबारे छलफल

इनेप्लिज २०७५ साउन २५ गते १२:१६ मा प्रकाशित

काठमाडौं, ९ साउन । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन र एसियाली विकास बैंक (एडिबी)का आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री पुनले तनहुँ जलविद्युत परियोजना र भुमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए ।

भेटमा उनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिए । दुधकोशी परियोजनामा टिबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको मन्त्री पुनको भनाई थियो ।

भेटमा एडिबीका आवासीय प्रतिनिधि खामुडखानाले एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगतीको बारेमा जानकारी मन्त्री पुनलाई गराएका थिए ।

भेटमा उनले उर्जा क्षेत्रमा थप सहयोग गर्न एडिबी तयार रहेको धारणा राखेका थिए । ‘मन्त्रालय र हाम्रोबीचमा सम्बन्ध राम्रो छ, उर्जा क्षेत्र हाम्रो पनि प्राथमकितामा भएकाले आगामी दिनमा समेत हाम्रो सहकार्य अझ सुमधुर हुन्छ ।’ आवासीय प्रतिनिधी खामुडखानाले भेटमा भने ।

उनले वाग्मती सिंचाई परियोजनामा एडिबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिंदै बाग्मती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया