पिएनपिखबर, भक्तपुर। नेपाली गीत संगीतको क्षेत्र दिनदिनै उर्बर बन्दै गएको छ । यस क्षेत्रका साधकहरुको अविरल साधनाले पनि नेपाली सांगीतिक क्षेत्र मलिलो, फाटिलो र उर्बर हुने गरेको हो । बिगत दश वर्षदेखि यस्तै साधनामा तल्लिन छिन् ‘लक्ष्मी पुरी प्रधान’ ।
गीत गाउन भने पछि सानैदेखि हुरुक्क हुने लक्ष्मी पुरी प्रधान आफ्नो गाउबाट एसएलसी पास गरेर पढ्न काठमाडौँ आएकी थिइन्। उनी काठमाडौँमा दिदिको घरमा बस्ने गर्थिन्। त्यसै क्रममा उनको भेट उनको अहिलेको श्रीमानसँग भएको थियो। केहि समय पश्चातको भेटघाट पछि उनीहरुमा माया बस्यो र विवाह बन्धनमा बाधिए।
लक्ष्मी पुरी प्रधानको विवाह अन्तरजातीय हो। उनका श्रीमान नेवार समुदायको भएकाले उनलाई शुरुशुरुमा निकै गार्हो पर्यो। त्यस समुदायमा भिज्न उनलाई धेरै समय लाग्यो। १५ वर्षको कलिलो उमेरमा विवाह भएकाले पनि उनलाई अप्ठेरो भएको उनको बुझाई रहेको छ।
हाल उनी आफ्नो शुरुवातको दिन सम्झंदा झसंग पनि हुने गर्छिन्। उनी गीत गाउन भने सानैबाट रुची राख्थिन्। विवाह भए पछि पनि उनले गीत गाएर एल्बम निकाल्ने शुर गरिन्। तर बिडम्बना उनलाई पारिवारिक साथसहयोग मिलेन। उनलाई सांगीतिक क्षेत्रमा हउसाउने कोहि भएन।
तर उनले हरेश खाईनन्। निरन्तर सांगीतिक क्षेत्रमा लागिरहीन्। लुकेर पहिलो तीज गीत रेकर्ड गराइन र सार्वजनिक गरिन्। घर परिवारलाई थाह पत्तो दिइनन। उनी स्मरण गर्दै भन्छिन् ,’मैले गीत रेकर्ड गराए। तिज गीत भएकोले घर वरीपरि बजेछ। श्रीमानले सुन्नु भएछ। तिज कै दिन थियो म दिनभर व्रत बसेर घर फर्केको थिए। घर पस्नासाथ श्रीमाले गाली गर्नु भयो।’
अझै उनले गीत गाउन छोडेकी छैनन्। यसपालीको तिज गीत पनि उनले सार्वजनिक गरिसकेकी छिन्। पहिलाको तुलनामा अहिले उनलाई केहि हद सम्म पारिवारिक साथसहयोग मिलेको छ। तर अझै पनि उनलाई गीत गाउन भने पुरै स्वतन्त्रता छैन।
प्रतिक्रिया