सिन्ती झरनाको विकासमा पर्यटन बोर्ड सकारात्मक – प्रबन्धक शाह

इनेप्लिज २०७५ असार १० गते ११:२१ मा प्रकाशित

कालिका, चितवन, ९ असार ।
चितवनको कालिका नगरपालिका वडा नं. ९ र १० को सीमानामा रहेको सिन्ती झरनाको विकासमा नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग गर्न तयार रहेको नेपाल पर्यटन बोर्डका प्रबन्धक खडग विक्रम शाहले बताएका छन् । यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको झरनाको यथेष्ठ विकास गर्न सके आन्तरीक र वाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनले बताए ।

सिन्ती झरनाको आज अवलोकन गर्दै प्रबन्धक शाहले झरनालाई व्यवस्थित रुपमा निर्माण गर्न सकेन सौराहा आएका पर्यटकलाई थप गन्तव्यका रुपमा झरनामा ल्याउन सकिने उनले बताए । नेपाल पर्यटन बोर्डबाट आवश्यक सहयोग गर्ने समेत उनले बताएका थिए । कालिका नगरपालिकाले सो झरनाको विकास र प्रवद्र्धनको लागि आगामी आर्थिक वर्षमा १५ लाख रुपैया बजेट बिनियोजन गर्न लागेको नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । नगरपालिकामा नगर प्रमुख श्रेष्ठ र प्रबन्धक शाहले आज अनौपचारिक छलफल समेत गर्दै यस क्षेत्रको पर्यटकीय सम्भाव्यता अध्ययन र विकास गर्न हातेमालो गरेर अगाडि बढ्ने समेत बताएका थिए ।

यस अगाडि सिंहनाथ गण शक्तिखोरका नेपाली सेनाहरुले श्रमदानबाट सो झरना जाने बाटो दोगरादेखि झरनासम्म सिढी निर्माण समेत गरिसकेका छन् । पूर्व – पश्चिम राजमार्गको रत्ननगरदेखि शक्तिखोर हुँदै सिद्धि जाने बाटोको दोगरासम्म करिब २५ किलोमिटर मोटर बाटो रहेको छ । दोगराबाट करिब ४५ मिनेटको पैदलयात्रामा सो झरना पुग्न सकिन्छ । करिब ३५ मिटर लम्बाई रहेको सो झरनामा अहिले आन्तरीक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । सो झरनालाई व्यवस्थित गर्न सके पर्यटकीय सम्भावना प्रशस्त रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया