ठेकेदारको चरम् लापर्वाही, बाटो पिच गरेको २४ घण्टा मै उप्काईयो ( भिडियो)

इनेप्लिज २०७५ जेठ २९ गते ११:०८ मा प्रकाशित
खरा लेखनाथ महानगरपालीका स्थित वडा नं ९ को शान्तिदर्शन मार्गमा गरिएको बाटो ढलान २४ घण्टा नपुग्दै उप्काएर फाल्नु परेको छ । नमुना टोल उपभोक्त समितिले निर्माण गरेको उक्त बाटो ढलान गरेको एक रातमै उप्काईएको हो । ढलानमा प्रयोग हुने केमिकलको मात्रा नमिलेपछि ढलान टालिएन, बाहिरबाट नै हातले प्वाक–प्वाक निस्कने भयो, उपभोक्ता समितिका मानिसहरुले यस्तो भयो भने पछि ठेकेदार कम्पनी र उपभोक्ता बिचमा मिलेमतो भयो, ढलान उप्काईयो ।
यस्तो घटना हुँदा सम्म पोखरा लेखनाथ महानगरपालीका वडा नं. ९ का अध्यक्ष रामराज लामिछाने बेखर थिए । नगरपालीकाको पाँच लाख ६३ हजार ३८ रुपौया लगानी भएको अध्यक्ष लामिछानेलाई थाहा छ, तर बाटो ढलान भएर पनि २४ घण्टा नबित्दै हातले उप्कने खालको भएको पत्तो छैन । पोखरा एभरेष्ट ट्रेड एण्ड हाउजिङ ले निर्माण कार्यको जिम्मा लिएको बाटोको यो हालत हुँदा पनि सम्बन्धित पक्ष बेखबर हुनु र उपभोक्त समिति र ठेकेदार पक्षबिच मिलेमतोमा काम अगाडी बढ्नुले बाटोको गुणस्तरीताको सवाल मात्र होईन अरु सवालहरु पनि उठ्न थालेका छन् । बाटोको कुल लागत नौ लाख ५५ हजार ३८ रुपौया हो भने उपभोक्ता समितिले तीन लाख ८२ हजार लगानी गरेको छ । बिरामीका कारण वडाध्यक्ष आराममा भएको कुरा थाहा भयो, उनले सदस्यलाई अधिकार दिएको थाहा भएपनि सम्बन्धित सदस्यको सम्पर्क हुन सकेन । टेलिफोनमा भएको कुराकानीमा अध्यक्ष लामिछानेले यो प्रकृया गलत भएको, समस्या भए आफूहरुसंग सहकार्य गर्नु पर्ने बताए । उनले कस्को कमजोरीबाट यो समस्या आएको हो पत्ता लगाएर कारबाही गर्ने पनि प्रतिबद्धा व्यक्त गरे ।
अर्को गजब्बको कुरा के हो भने, स्थानीय उपभोक्ता समिति र ठेकेदार कम्पनी पोखरा एभरेष्ट ट्रेड एण्ड हाउजिङ कम्पनी बीच मिलेमतोमा काम अगाडी बढाईयो । कसैलाई थाहा नदिई काम राता–रात सक्ने र बिग्रिएको ढलान मिलाउने कुरा भयो र सोमबार साँझबाट ढलान उप्काउन थालियो । हातले नै निकाल्न सकिने, यस अर्थमा भनौं बालुवा र गिटी मात्र छ, त्यँहा सजिलै हातले निकाल्न सकिने खालको थियो । यस्तो लापरवार्ही हुँदा समेत उपभोक्त समिति र ठेकेदारबीच गुपचुप बनाउने कोसिस गरियो । उपभोक्त समितिका अध्यक्ष दिर्घ बहादुर जिसीका अनुसार सिमेन्ट, बालुवा, गिटी र केमीकलको अनुपात नमिलेकाले यस्तो भएको जिकिर गरे  । उनले अझ ३०÷४० हजार बढी खर्च गरेर रेडिमेड मिक्चर (आरएमसी) बोलार ढलान गरेको बताए । उनले अरु ठाउँमा यहि कम्पनी र यही तरीकाले गर्दा ठिक भएको भन्दै यो ठाउँमा यस्तो हुनु पक्कै केमिकलकै समस्या भएको दाबी गरे । यसबारे पोखरा एभरेष्ट ट्रेड एण्ड हाउजिङ प्रालिका संचालक नारायण गुरुङले यो  एउटा दुर्घटना भएको बताए । उनले जहाजको उदाहरण दिँदै पाईलटले दुर्घटना गराउँछु भनेर गर्दैन त्यो भवितब्य हुन्छ त्यस्तै हामीमा पनि भएको हो । उनले ६÷७ बर्षको अनुभवमा यस्तो घटना पहिलोपटक भएको बताउँदै किन कसरी भयो भन्ने बारे छानबिन भईरहेको बताए । गुणस्तरमा सम्झौता कहिल्यै गरिएन, यस्तो अवस्थामा केमीकल तथा मसलामा केही खराबी आयो कि अर्थात् सिमेन्ट नै खराब हो की भनेर प्रयोग भएको शिबम् सिमेन्ट सिलबन्दी गरेर राखेको समेत जानकारी दिए । उनले आफूहरुको गल्ती स्वीकार गर्दै उक्त बाटो ग्यारेन्टीका साथ आफ्नै लागतमा निर्माण गर्न लागेको समेत बताए । उनले भने ‘एभरेष्ट संचालन भएको ६÷७ बर्ष भयो यो समयमा केही समस्या भएको थिएन, नयाँबजारमा किन यस्तो भयो यसको छानबिन गछौं र आउँदा दिनमा यस्तो नहुने प्रयत्न गछौं’ । आफूहरुको २ वटा कम्पनी रहेको बताउँदै संचालक गुरुङले त्यस रोडमा प्रयोग भएको केमिकल एभरेष्टको नभएर बुढीबजारमा रहेको सेभेन लेकको रहेको बताए ।

प्रतिक्रिया