वाशिंगटन डिसी
नेपाली कला संस्कृतिको विस्तारको जिम्मा विषेशत: नयां पुस्तामा सार्दै अमेरिकन समाजमा समेत घुलमिल गराउदै लैजाने सन्दर्भमा एएनएसको तेश्रो हेरिटेज नेपाल फेस्टिभल सफल भएको छ । सॉस्कृतिक कार्यक्रमको तयारी र प्रस्तुतिमा युवा पुस्ताले धेरै नै मेहनत गरेको पाइयो ।
ड्रामाको शैलीमा प्रस्तुत गरिएको गीत र नृत्यको श्रृंखला धेरै नै प्रशंसायोग्य थियो र युवा बच्चाहरुको नेतृत्व क्षमता पनि रामै झल्किएको थियो । साथै मनासस, बाल्टिमोर, हर्नडन, सेन्ट्रलभिल स्कुलहरुबाट आएका बालवालिकाले पनि राम्रो प्रदर्शनी दिएका थिए ।
कंग्रेसउमन बार्बारा लगायतका स्थानीय अमेरिकी जनप्रतिनिधिहरुको उपस्थितिले विदेशीहरुलाई नेपाली कला संस्कृति चिनाउने काम भएको थियो । नेपाली प्रतिनिधिमूलक पोशाकहरुको पहिरनमा सजिएका बालबालिकाहरु धेरै राम्रा देखिन्थे।
यस पटकको कार्यक्रमको अर्को विशेषताको रुपमा स्थानीय अमेरिकन बच्चाहरुको अंग्रेजी नृत्य पनि रह्यो । यसरी अमेरिकी बालबालिकाहरुलाई पनि समावेश गर्नाले दुवै संस्कृतिको समिश्रण हुनमा सहयोग पुग्ने देखिन्छ । मेलामा समावेश गरिएका अरु धेरै सेग्मेन्टहरु पनि राम्रा थिए । नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, दूताबास परिवार र विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थितिले एएनएसको विस्तारित सहकार्य झल्किन्थ्यो ।
स्थानीय सेन्ट्रलभिल हाइस्कुलमा गरिएको यो मेलाको प्रवेशद्वारमा नेपाल झल्काउने किसिमको द्वार बनाएर राखिएको थियो भने दिउसै देखि प्रदर्शनी कक्षमा नेपाली उत्पादन, ब्यापार र ब्यवसाय झल्काउने किसिमका स्टलहरु राखिएको थियो । अध्यक्ष प्रभा भट्टराई देउजाको भनाइमा एएनएसको नेपाल चिनाउने अभियानका दुई मुख्य तरीकाहरुमा नेपाली सामानको प्रदर्शनी र सॉस्कृतिक कार्यक्रमहरु हुन । एएनएसले यस पटकदेखि समाजमा लामो समयसम्म लगातार योगदान दिएका व्यक्तित्वहरुलाई सम्मानको काम गरेर सकारात्मक कामको शुरुवात गरेको छ ।
सम्मानित हुनु भएको छ-नेपालमा ७० को दशकमा पिसकोरको सिलसिलामा नेपाल जानु भएकी न्यान्सी क्षेत्री, २२ वर्षदेखि नेपाली टिभी कार्यक्रम संचालन गर्दै आउनु भएका पत्रकार तथा एनआरएन अभियन्ता रामचन्द्र खरेल, समाजसेवी तथा वरिष्ठ नर्स मन्जु संगौला, पुराना समाजसेवी राम मालाकार र तामांग समाजका वरिष्ठ व्यक्तित्व एवं साहित्यकार लेखक डिक बहादुर तामांग ।
यसपटकको प्रदर्शनीमा स्टलहरु निकै कम सहभागी भएको देखिए पनि न्यु योर्कदेखिका नेपाली ब्यवसायी पनि सहभागी भएका थिए । स्थानीय अभिभावकहरुले केही बच्चाहरुलाई मात्र धेरै पटक नृत्य र नाटकमा सहभागी गराइएको र धेरै इच्छुक बालबालिकाहरुलाई निवेदन दिएरै सहभागी हुन अनुरोध गर्दा पनि अवसर नदिइएकोमा आयोजकको आलोचना गरेका थिए ।
सॉस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न अनुमति नदिइएकोमा संचार माध्यमहरुले आश्चर्य ब्यक्त गरेका थिए भने आयोजकहरुले सवै दर्शकहरुलाई सकेसम्म हलमै ल्याउने प्रयास स्वरुप यसो गरिएको बताए ।
स्थानीय समाजमा एक वार्षिक महोत्सवकै रुपमा स्थापित हुन थालेको यो हेरिटेज नेपाल मेलाले जनमानसमा सकारात्मक कामको रुपमा लिएका छन । तर ब्यवस्थापनमा भएका कमीहरुलाई सुधार गर्नु पर्ने तर्फ भने एएनएस नेतृत्वले नसोच्ने हो भने कार्यक्रमको प्रभावकारितामा भने कमी आउदै जाने धेरैको सुझाव छ । जे होस यस पटकको कार्यक्रमको हल पूर्ण रुपले भरिएको पक्ष भने निकै उत्साहजनक थियो ।
https://www.facebook.com/enepalese/videos/1766512413435711/?t=1
प्रतिक्रिया